स्तनको आकार बृद्धि गर्न सकिन्छ ?

स्तनको आकार बृद्धि गर्न सकिन्छ ?

काठमाडौं, डा. राजेन्द्र भद्रा । म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला  ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ?

 स्तनको विकास

स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ ।

पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ ।

चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ ।

पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई ।

स्तनको आकार र आयतनको महत्व

तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो ।

अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन ।

केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु ।

स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत

हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन ।

समाधान के होला त ?

यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ ।

तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ ।

यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ ।  साप्ताहिकबाट

यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ ।  यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन  (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

लोकप्रिय