हट्यो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

हट्यो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।

विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दुई पाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।

महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौं कुर्नुपर्ने बाध्यता थियो ।” उनले भने,“सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।”

दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुई पाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो । “शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो ।” वडाध्यक्ष धनाडीले भने–“अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।”

महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसङ्ख्या छ । “महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।” दोधारा चाँदनीवासी आकृति कसेराले भने–“अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन,महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ ।” उनले यसअघि महेन्द्रनगरबाट सर–सामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताए ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए । “अहिले पुलबाट अस्थायी रुपमा दोधाराचाँदनी आवतजावत भइरहेको छ ।” उनले भने,“पुलको पहुँच मार्ग र पोखरी निमार्ण गर्न बाकी छ ।” उनका अनुसार पुल निमार्णको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । आठ सय मिटरको लम्बाइ र २३ दशमलव आठ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने छ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।

सार्वजनिक संस्थान निजीकरण गर्दै ओली सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । कम्तिमा आठ संस्थान निजीकरण गर्न खोजिएको छ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज (सोमबार) बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएकी छन् । आइतबार बसेको बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गरेको हो ।बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छिन् । एआईजी श्याम ज्ञवालीले २५ भदौमा अवकाश पाएपछि रिक्त दरबन्दीमा उनी बढुवा सिफारिस भएकी हुन् ।

यी भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। त्यसैगरी, आज राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा एक लाख २२ हजार १७१ विद्यार्थी सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। परीक्षामा दुईजनाको नतिजा रद्द गर्नुका साथै तीनजनाको परीक्षा स्थगित भएको थियो। सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

लोकप्रिय