होली पर्वको शुभकामना

होली पर्वको शुभकामना

रंगको पर्व होलीमा रङ्गाई आफ्नो गाला
अपरिचितलाई रंग दले मानिन्‍न निको चाला

पानी छ्यापी आपसमा हानिन्छ पनि लोला
हाँसी खुशी पर्व मानौं दुई दिनको यो चोला

राजेन्द्र पोखरेल

सबै खेलमा नियम हुन्छन् पालना सधैं गरौं
फोहर पानी नफाली अरुलाई सभ्य मानिस बनौं

घर परिवार साथी भाई मिली खेलौं होली
सद्भभाव बाड्दै देशैभरि मनाइन्छ आज भोलि

मादक पदार्थ सेवन गरी मान्‍नुहुन्‍न पर्व
हाम्रै मौलिक पर्व हो गरौं यसमा गर्व

नगरी झगडा मनाऔं पर्व राखौं यही भावना
फागु पर्वको अवसरमा सबैलाई छ शुभकामना

राजेन्द्र पोखरेल
सिरानचोक-५ गोरखा
हाल टोखा न.पा. काठमाण्डौ

कविता : कमरेडसँग कमरेड !

हत्तेरिका कमरेड ! अप्ठेरो नमान्नू न अलिअलि कस्तो कस्तो लागिहाल्छ नि नयाँ नयाँमा यस्तै हो कमरेड हल्का अन इजी हुन्छ हुन्छ ! अलिअलि अप्ठेरो त तपाईलाई पहिलो पटक बन्दूक बोक्दा भयो होला त्योभन्दा बढी भयो होला बन्दूक बुझाएको बेला तपाईले खुरुखुरु बुझाएकै त हो कमरेड अलिअलि लाज लाजजस्तो भैहाल्छ नि त्यसरी रातो पिरो नहुनू न कमरेड एकतामा अप्ठेरो पर्छ क्या कमरेड ! एता हेर्नुस त कमरेड ! जस्तै नि कमरेड ! पहिलो पटक घुष खाँदा पहिलो पटक कमिशन बुझ्दा पहिलो पटक घडेरी जोड्दा या पहिलो पटक शेयर हाल्दा मनमा चिसो त पस्यो होला नि कमरेड ? पहिलो पटक ठमेल छिर्दा पनि मुख हेर्न लाज भयो होला नि कमरेड हाम्लाई पनि चिसो पस्या थ्यो उहिलै अलिअलि त पसिहाल्छ नि त्यस्तो त भैहाल्छ नि कमरेड ! पहिलो पटक प्रचण्ड पथ छोड्दा हल्का सिरिङ्ग भयो होला नि कमरेड ? यो पटक पनि माओवाद त छुटिसक्यो यो पटक पनि भयो होला त्यस्तो ? अलिअलि हुन दिनु पर्छ क्या कमरेड मन त हो भैहाल्छ नि हल्का त मेरो कुरा बुझ्नु भयो नि कमरेड ? अव सिध्दान्तले भात पाक्दैन कमरेड न आदेशले भात पाक्छ हिजोजस्तो घर परिवार छन इस्टमित्र छन हल्का जोडजाम गर्नु परो नि कमरेड अनि त्यो जोडजाम गर्न सिध्दान्त पक्रेर कहाँ होला र कमरेड ! यी हामीलाई हेर्नुस न कम्निष्ट पनि भएकै छौं जनताले पत्याएकै छन् नपत्याए तपाई र मेरो आकार हेर्नुस विदेशीले पनि पत्याएकै छन् राष्ट्रवादी पनि एक लम्वरको भैया छ यो पनि सवैले पत्याएकै छन् स्कूल अस्पताल सव चलाएकै छौं आइएनजिओमा रजगज गरेकै छौं सम्पत्ति पनि जोडेका छौं राजनीति पनि गरेका छौं गर्ने त यस्तो हो नि कमरेड १ अव हामीसँगै हिड्ने भएपछि हामीजस्तै हुनु परो नि कमरेड खान सिक्नु परो लाउन सिक्नु परो लुकाउँन फकाउँन सवै सिक्नु परो ह्वास्ल्याङ्गे तरिकाले कहाँ हुन्छ कमरेड हिजोको तुजुक झिकेर कहाँ हुन्छ ? अव त मौकामा ज्ञानी बन्ने हस भन्नेर हजुर भन्ने कम्निस्टमा पनि हुन्छ नि मानमनितो त्यो जम्मै सिक्नु परो नि कमरेड ह्या कमरेड पनि ! कताको लेनिन खै भनिराख्या भन्या लेनिन त मरिसके नि मरेको मान्छे फेरि आउँछ त ? तपाई भौतिकवादी हैन कमरेड ? अव त हामी नै आफै मार्क्स आफै लेनिन आफै माओ क्या कमरेड ! मेरो कुरा ध्यान पुर्वक सुनेर मुन्टो हल्लाएर मुसुक्क हाँसेकोमा धन्यवाद छ कमरेड ! बलराम तिमिल्सना ‘विप्लव’

कविता: हुनेले त घरमै खसी मार हाने होलान !

हुनेले त घरमै खसी मार हाने होलान नहुनेका बच्चाले खै चिची भने होलान ! कसैकोमा खसी ,बोका ,राँगा केके ढले दुरदराज झुपडिले फुट्यो कर्म ठाने होलान ! बिष्टकोमा भाग उठाउदै हिड्ने दलित दाइले खर्चिलो पर्वमा खै कसरी घर धाने होलान ? यज्ञराज ढुगाना तराइको आधा भुभाग दशै मुखमै डुब्छ सधै डुबेका ती बस्तिहरुले क्यारि दशै माने होलान ? व्यवहार धान्नै परदेशिन बाध्य लाखौ मान्छेहरु चाडबाडमा खुसी लिइ कैले घर जाने होलान ? एकाथरी हर्ष उल्लास खुसी साथै मनाउलान अर्का थरी दशै ऋणले वर्षै भरी रुने होलान !! हुनेले त घरमै खसी मार हाने होलान नहुनेका बच्चाले खै चिची भने होलान !!😑😑 यज्ञराज ढूँगाना हाल: मलेसिया

कविता: नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

सागर बोहरा नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु । नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु । नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु नखोज्नु है मलाई वरपिपलको छहारीमा म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु । नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनिसकेछु नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु । महेंन्द्रनगर, नेपाल, कञ्चनपुर

‘हो म फेरीएकी छु, फर्कीएकी छु, आफ्नै पारामा’

‘हो म फेरीएकी छु ,फर्कीएकी छु, आफ्नै स्वभावमा, आफ्नै रुपमा । ’ खडेरीको लेपहरुले विलाएका यी ओठहरु, फेरी मन्द मुस्कुराउन थालेछन् । निरासाका बेगहरुले थुनिएका यी नयनहरु, फेरी आफनै प्रकाश छर्न थालेछन् । जर्रजर्र परेर गुट्मुटीएका यी केशहरु, फेरी बताससंग भलाकुसारी गर्न थालेछन् । थकित भई दुनियाँसंग एक्लिएका यी पाइलाहरु एकाएक स्वतन्त्रताको लागि चल्न थालेछन् । कठोर हृदयमा पनि अब प्रेमको अंकुर पलाउनु थालेछन् । यस्तै यस्तै अनेक परिवर्तनले म आफैँलाई ‘आफुँ’ महसुस गर्दैछु । ‘हो म फेरीएकी छु, फर्कीएकी छु । आफ्नै पारामा । ’

लोकप्रिय