१६ हजार स्थायी शिक्षक पदपूर्तिकाे बाटाे खुल्याे

शिक्षक सेवा आयोगले शनिबार १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको छ । निर्वाचन आयोगले नतिजा प्रकाशन बाहेक अन्य सबै प्रक्रिया पुरा गर्न अनुमति दिएपछि अस्थायी शिक्षकको व्यवस्थापन गर्न आयोगले स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको हो । आयोगले विज्ञापन गरेसंगै ०४९ अघिदेखि अस्थायी रुपमा कार्यरत शिक्षकको अब व्यवस्थापन हुने भएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार छ: शिक्षा विभागका अनुसार ०४९ भन्दा अघिदेखि ०७२ असोज २ सम्म नियुक्तिपत्र लिएर कार्यरत २६ हजार १ सय ५१ जना अस्थायी शिक्षक छन् । आयोगले शनिबार १६ हजार ३ सय २६ पदका लागिमात्रै विज्ञापन गरेको छ । प्राविमा ८, निमाविमा १० र माविमा १२ जिल्ला र ०६१ देखि ०७२ सम्म रिक्त रहेको दरबन्दीको ५१ प्रतिशत खुलातर्फको विज्ञापन गर्न बाकी रहेको आयोगका सहसचिव लक्ष्मीराम पौडेलले बताए ।
२६ हजार अस्थायी मध्ये ५० प्रतिशतले अवकास लिन सक्ने अनुमान शिक्षा मन्त्रालयले गरेको छ । अवकास लिने १३ हजार शिक्षकका लागि ६ अर्ब रुपैया आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
०६१ देखि ०७२ सम्मको ५१ प्रतिशत खुलातर्फको प्रावि, निमावि र मावि सबै गरी ७ हजार ५ सय हाराहारीको दरबन्दीमा प्रतिस्पर्धा गर्न मिल्छ । ‘खुलाको प्रावितर्फको विज्ञापन चाडै गर्छौ,’ आयोगका सहसचिव लक्ष्मीराम पौडेलले भने ।
शिक्षा ऐन आठौं संशोधन असार १५ मा प्रमाणिकरण भएको एक बर्षभित्र अस्थायी शिक्षक व्यवस्थापन गर्न विज्ञापन गर्नुपर्ने व्यवस्था छ । अस्थायी शिक्षक भन्नाले कुनै तहको स्वीकृत दरबन्दीमा स्थायी नियुक्ति नलिएको शिक्षक हो ।
- निर्वाचन आयोगद्वारा नतिजा प्रकाशनबाहेक अन्तिम प्रक्रिया पुर्याउन अनुमति
- प्रावि १३ हजार ६४, निमाविमा २ हजार ५ सय ५९ र माविको ७ सय ३ जनाका लागि विज्ञापन
- सुविधा लिएर अवकास लिन चाहने अस्थायी शिक्षकले ०७४ वैशाख २४ अगाडि शिक्षा कार्यालयमा निवेदन दिनु पर्ने
- ०६१ देखि ०७२ सम्म रिक्त दरबन्दीको ५१ प्रतिशत खुलातर्फको करिब साढे सात हजारको विज्ञापन हुन बाँकी
ऐनमा अस्थायी शिक्षकलाई तीन समूहमा विभाजन गरिएको छ । ०४९ पुस २० भन्दा अघि अस्थायी नियुक्ति पाएका, ०४९ पुस २१ देखि ०६१ साउन २१ सम्म नियुक्ति पाएका, ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म नियुक्ति पाएका अस्थायी शिक्षकले खुल्ला प्रतिस्पर्धामा सहभागी हुन पाउछन् । तीनै समूहमा परेका अस्थायी शिक्षकहरु ०७३ असार १५ सम्म नियमित कार्यरत रहनु पर्ने हुन्छ । तीन समूहमध्ये ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म रिक्त रहेको शिक्षक पदको ४९ प्रतिशत अहिले कार्यरत अस्थायी र ५१ प्रतिशतले खुल्ला रुपमा प्रतिष्पर्धा गराइने ऐनमा व्यवस्था गरेको छ ।
पौडेलका अनुसार प्राविमा १३ हजार ६४ पदका लागि विज्ञापन गरिएको छ । त्यसमध्ये ४९ भन्दा अघिको रिक्त ९ सय ३४, ०४९ देखि ६१ सम्मको ८ हजार ४ सय ८५ र ०६१ देखि ७२ सम्मको ३ हजार ६ सय ४५ रिक्त पदका लागि विज्ञापन गरिएको हो । निमाविमा २ हजार ५ सय ५९ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा ०४९ भन्दा अघिको ६ सय ३३, ०४९ देखि ६१ सम्मको १ हजार ७ सय र ०६१ देखि ७२ सम्म २ सय २६ पदका लागि विज्ञापन गरिएको छ । पौडेलका अनुसार माविमा ७ सय ३ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा ०४९ अघिको १ सय २०, ०४९ देखि ०६१ सम्मको २ सय १३ र ०६१ देखि ०७२ सम्मको ३ सय ७० पद छन् ।
०४९ अघि जति जना कार्यरत छन्, त्यतिनै जनाको दरबन्दीको व्यवस्था गरेर विज्ञापन गरिएको छ । उनीहरुले परीक्षामा न्यूनतम ४० अक ल्याउनु पर्ने हुन्छ ।
ऐनमा अस्थायी शिक्षकलाई दुई विकल्पको व्यवस्था गरिएको छ । गोल्डेन हयान्डसेक (आकर्षक सुविधासहित बिदाइ) अथवा परीक्षा रोज्नु पर्ने हुन्छ । परीक्षा रोज्नेले गोल्डेन हयाण्डसेक लिन पाउँदैनन् । विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीस वर्ष मानिएको छ । पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई काम गरेको प्रत्येक वर्षको आधा महिनाको तलब बराबरको रकम, दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई प्रत्येक वर्षको एक महिनाको तलब, पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकमसहित बिदाइ गर्ने ऐनमा व्यवस्था गरिएको छ ।
परीक्षा रोज्ने अस्थायी शिक्षकले छनौट हुन नसकेमा नतिजा प्रकाशित भएको मितिबाट स्वत: अवकास भएको मानिने व्यवस्था छ । सुविधा लिएर अवकास लिन चाहने शिक्षकले विज्ञापनको दरखास्त दिने ०७४ वैशाख २४ अगाडि नै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।