२०१७ मा कस्तो छ तपाईंको ग्रहदशा, थाहा पाउनुस् वर्ष राशीफल (राशीफलमा विश्वास गर्नेहरुका लागि)

२०१७ मा कस्तो छ तपाईंको ग्रहदशा, थाहा पाउनुस् वर्ष राशीफल (राशीफलमा विश्वास गर्नेहरुका लागि)

समग्रमा व्यक्तिको व्यक्तिगत जीवन र व्यवसायिक परिस्थितिमा राम्रो सफलता हासिल हुने वर्ष छ, सन् २०१७ । कतिपय राम्रा र आनन्ददायी क्षणहरूको आगमन हुने सङ्केत छ । व्यक्तिगत र पारिवारिक मेलमिलापको वातावरण रहने छ । लामो समयदेखि दाम्पत्यजीवनमा रहेका, जीवनसाथी वा पार्टनरसिपको चाहना राख्ने वा साझेदारी काम गरिरहेकाहरूले खासगरी वर्षको पूर्वार्द्धमा भाग्योन्नति गर्ने अवसर पाउने छन् । हडबड र शीघ्रता गर्नेहरूले मईदेखि अगस्टसम्म आर्थिक नोक्सानी र चोटपटक व्यहोर्नुपर्ने हुन्छ । पेसा वा रोजगारीको उन्नतिका लागि प्रयासरत व्यक्तिहरूले मिहिनेत र परिश्रममा विश्वास गर्नु जाति हुन्छ । यसवर्ष वृद्धवृद्धाले रोग, शोक र अपमान सहनुपर्ने परिस्थिति छैन । बाल स्वास्थ्यमा पनि कुनै ठूलो जोखिमको सम्भावना छैन । तर यौनव्यभिचारमा वृद्धि हुनेछ । कला, मनोरञ्जन र भोगविलास सम्बद्ध व्यवसायीले कमजोरीको अनुभूति गर्नेछन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिका जातकका लागि नयाँ वर्ष सन् २०१७ ले मानसम्मान र इज्जतप्रतिष्ठा प्रदान गर्ने सङ्केत छ । सामान्यतया सबै क्षेत्रबाट मिश्रित परिणाम प्राप्त हुनेछन् । सुरुमा बुद्धि क्षेत्रमा र वर्षको उत्तरार्द्धमा चौथो भावमा पुग्ने राहु ग्रहका कारण पारिवारिक जीवनका अप्ठ्यारा स्थिति र उल्झन यथावत् रहने छन् । वर्षको सुरुमा राशिपति मङ्गल र केतुको युति हुने भएकाले घरगृहस्थी सञ्चालनमा केही समस्याहरू देखिन सक्छन् र बन्दव्यापार र व्यापारिक क्रियाकलापमा विवाद र समस्याको सङ्केत छ । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आन्द्रा, कलेजो र मिर्गौला यस वर्षका लागि कमजोर अङ्ग हुनेछन् । तर अगस्टपछिको समय एकाएक तपाईंको पक्षमा आउने छ । परिवारमा खुसीको वातावरण सञ्चरण हुनेछ, कारोबारमा गतिशीलता आउने छ । नयाँ उद्योगधन्दा र प्रतिष्ठानतर्फ ध्यान केन्द्रित हुनेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले प्रारम्भका केही समय सामान्य विघ्न र बाधा व्यहोर्नुपर्छ, तर दिन बित्दै जाँदा परिस्थितिमा सुधार हुँदै जान्छ । समग्रमा यो वर्षको सुरुमा केही उल्झन, तनाव र अप्ठ्यारा भोग्दै अन्त्यमा सबै पक्षमा सुधारात्मक र सकारात्मक स्थिति रहने छ । प्रेमसम्बन्ध, पेशा वा व्यवसाय, नोकरी, शिक्षादीक्षा, घरपरिवार आदि सबै पक्षमा वर्षको उत्तरार्द्धमा शुभफल प्राप्त हुने सङ्केत छ । राशिपति अष्टम भावमा रहेकाले वर्षको सुरुमा श्री हनुमान चालिसाको १०० आवृत्ति पाठ गरे वा गराएमा समग्र वर्षलाई उत्तम फलदायी बनाउन सकिने छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिको लागि नयाँ वर्षले मिश्रित परिणामहरू प्रदान गर्ने योजना बनाएको छ, तीमध्ये कुनै लाभकारी हुन्छन् भने कुनै हानिप्रद । पारिवारिक दायित्व र जिम्मेबारी पूर्ण गर्ने सिलसिलामा केही कठिनाइ आइलाग्न सक्छन्, तर अत्तालिई हाल्नुपर्ने परिस्थिति छैन, प्रयास गर्दा परिस्थितिलाई सम्हाल्न सकिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्द व्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, यद्यपि गरिआएको कारोबारबाट लाभ नै हुनेछ । तर अनावश्यक खर्चमा पनि नियन्त्रण गर्नु पर्छ । वित्तीय कारोबार र सेयर मार्केट आफ्ना पक्षमा रहने छैन । घरायसी सम्बन्ध विस्तारका लागि समय निकाल्नु राम्रो हुन्छ, प्रेम र स्नेहको वातावरण बनाउनुपर्दछ । यो वर्ष प्रेम र भावनाको कदर गर्नुपर्ने वर्ष हो । पति वा पत्नीका साथमा धेरै समय खर्चनु राम्रो हुन्छ, नत्र आपसी समन्वयको अभावमा अनपेक्षित दुर्घटना हुने सङ्केत छ । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा गरेका काममा अवरोध आउने सम्भावना छ भने फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्बर दिसम्बरमा शनिको अढैयाको प्रकोप र अगस्ट महिनापछि बृहस्पति छैठौं हुने भएकाले पनि विवाद, झैझगडा र मुद्दामामिला जस्ता केही नकारात्मकता देखा पर्न सक्छ । समग्रमा वृष राशिका जातकले समुज्वल भविष्यका निमित्त वर्षको पूर्वार्द्धमा खट्नु नै परिणामदायक देखिन्छ । वर्षको उत्तरार्द्धमा रुद्रीपूजाका साथमा लैनो गाई दान गरेमा समग्र वर्षलाई उत्तम बनाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका जातकका लागि नयाँ वर्ष २०१७ पूर्णरूपले आफ्नो पक्षमा रहने छ । सँगीसाथी, सहयोगी र पतिरपत्नीको सहयोग र प्रेरणाले व्यापार–व्यवसाय र दैनन्दिनीको क्षेत्रमा सघाउ पुुग्नेछ । यस प्रेरणाले कुनै कठिन र अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्कन वा ती परिस्थितिको सामना गर्न मद्दत पुग्नेछ । दाम्पत्य जीवन, रतिराग, प्रेम–प्रणयसम्बन्ध आदिमा भरपूर आनन्द प्राप्त हुनेछ । जसले नयाँ व्यवसाय वा नोकरी थालेको छ, तिनलाई वर्षको पूर्वार्द्धमा केही कठिनाइ हुनसक्छ, तर वर्षको उत्तरार्द्ध भने अनुकूल नै हुनेछ । यो वर्ष रिस, राग, आवेश, उत्तेजना र कामुकतामा नियन्त्रण राख्नुपर्ने वर्ष हो, अन्यथा बेकारको झन्झटमा फस्न सक्नुहुन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो । दोस्रो भावमा जाने राहुले अगस्टपछि धनधान्यमा अपचलन हुने र झैझगडा र विवाद निम्त्याउने भएकाले सचेत हुनुपर्छ । आमरूपमा शनिको शुभ परिणाम नै हुनेछ, तर अप्रिल ५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले दुर्घटना र चोटपटकको सम्भाव्यता तथा फरवरीदेखि अप्रिलसम्म र नवम्बर दिसम्बरमा सातौं भावको शनिश्चरले दाम्पत्यकलहको सम्भावना औंल्याउँदै छ, सचेत रहनु होला । समग्रमा नयाँ वर्ष २०१७ तपाईंका लागि खुसी, उमङ्ग र हर्ष लिएर आएको छ, तर मात्तिनु र पात्तिनु हुन्न, नत्र यो वर्ष सङ्कटको वर्ष पनि बन्नसक्छ । वर्षको सुरुमैं दुर्गा भवानीको उपासनामा जोड दिएमा यो वर्ष अत्यन्त सकारात्मक वर्ष हुनेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट भनिन्छ जीवनको अर्को नाम संघर्ष हो, कर्कट राशिका जातकका लागि यो वर्ष यिनै पङ्क्तिले बताएका कुरा लागु हुनेछन् । वर्षको केही समय कठिनाइको सामना गर्नुपर्छ भने अर्कोतर्फ कुनै पल यति महत्त्वपूर्ण बन्नेछन्, जुन सधैं–सधैं स्मरणयोग्य हुनेछन् । सम्बन्धमा सुमधुरता कायम हुनेछ, तर समग्र पारिवारिक स्थिति भने सन्तोषजनक रहँदैन । त्यसैले यसवर्ष जीवनसाथीलगायत घरपरिवारका अन्य सदस्यहरूसित यथाशक्य तालमेल बनाउनु आवश्यक छ । स्वास्थ्यमा केही उतारचढाव देखा पर्नेछ, नियमित व्यायाम र सन्तुलित आहारप्रति सजग हुनुपर्छ । कुनै किसिमको ऋण लिनु वा दिनु राम्रो हुँदैन । आयमा कमी आउने सम्भावना छ, अतः जतिसक्दो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । उता बन्द–व्यापारमा लागेकाहरूले राम्रो मुनाफा कमाउने छन्, तर कुनै अवैध वा गैरकानुनी मानिने वस्तुप्रतिको आकर्षणले धोका दिनसक्छ । यो वर्ष आफ्ना प्रियतमसँग बितेको समय पछिसम्म यादगार रहन सक्छ, त्यसैले उसका भावना बुझ्ने प्रयास गर्नु राम्रो हुन्छ । भ्रमण, पर्यटन र घुमघाममा समय र धन खर्च हुने सङ्केत छ । सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा मनमा भ्रम, चिन्ता र त्रासले निवास गर्नसक्छ । रिस, आवेग र तनावले दुर्घटना निम्त्याउने सम्भावना पनि छ, सचेत रहनु पर्छ । अतः यस अवधिमा रुद्रीपूजाका साथमा महामृत्युञ्जय मन्त्रको नियमित जापबाट शान्ति प्राप्त हुन्छ । केही छिटपुट विषयलाई नलिने हो भने समग्रमा यो वर्ष तपाईंका निमित्त राम्रो र असल वर्ष साबित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह भनिन्छ प्रयास गर्नेले कहिल्यै हार मान्नु पर्दैन । सिंह राशिका जातकका लागि सन् २०१७ थोरै कठिनाइ र झन्झट लिएर उपस्थित भएको देखिए पनि लगनशीलता, मिहिनेत र परिश्रमका बलमा तिनले जीवनका विविध आयाममा सफलता प्राप्त गर्न सक्नेछन् । दाम्पत्य सम्बन्धमा सुधार हुनेछ र निजी जीवनको भरपूर आनन्द प्राप्त हुनेछ । अलिबढी अन्तर्मुखी र व्यक्तिवादी हुने भय भएकाले घरपरिवारका सबै सदस्यसित मेलमिलाप र सामञ्जस्य स्थापना गरी व्यवहार गर्नु राम्रो हुन्छ । स्वास्थ्यप्रति ध्यान दिनुपर्छ । आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्द व्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेशा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने कुनै विशेष व्यक्तिप्रति प्रेम जागृत हुनसक्छ तथा विवाहित हुनुहुन्छ भने दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । दाजुभाइ र माइतीपक्षबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । वर्षको सुरुमा रहेको शनिश्चरको अढैयाले मातापिता र अभिभावकवर्गको स्वास्थ्यप्रति सचेत रहने सङ्केत गर्दछ । वर्षको प्रारम्भमा दुर्गा सप्तशतीको पाठ र सूर्योपासना गरी समग्र वर्षमा सुझबुझ र मिहिनेतको बलले आफ्नो पक्षमा ल्याउन सकिने वर्षको सुरुवात भएको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या नयाँ वर्ष २०१७ केही विशेष उपहारहरूका साथमा कन्या राशिका जातकहरूलाई स्वागत गर्दैछ । जीवनका विविध आयाम र भिन्नभिन्न क्षेत्रबाट खुसी र प्रसन्नताका लक्षणहरू प्राप्त हुनेछन् । पारिवारिक सम्बन्ध र मित्रताको भरपूर आनन्द प्राप्त हुनेछ । निजी जीवनमा खुसीको वर्षा हुनेछ र जीवनसाथीले भरपूर सहयोग प्रदान गर्नेछन् । सामान्यतया स्वास्थ्यस्थिति सकारात्मक नै रहने छ, तर चिल्लो चापिल्लो, मिठाइ र माछामासु जस्ता गरिष्ठ आहार र मदिरापानबाट जोगिनु राम्रो हुन्छ । नत्र रोगव्याधिले सताउन सक्छ । सुरुमा खर्च भावमा राहु र झैझगडाका घरमा केतु बसेको हुँदा आकस्मिक खर्चको मात्रा बढ्न सक्छ, त्यस्तै कहिलेकाँही आफ्नै मुखका कारण बन्न लागेको काम बिग्रिने सम्भावना पनि छ । आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर वृद्धि भइ रहने छ । पेशा, व्यवसाय र बन्दव्यापार गर्नेका लागि पनि लाभप्रद समय छ । कार्यक्षेत्रमा साख यथावत रहने छ, हाकिमले कामधन्दा र प्रयासको प्रशंसा गर्नेछन् र यश, सम्मान र जस पाउनुका साथै पुरस्कार समेत प्राप्त हुनेछ। प्रेमसम्बन्धका साथै दाम्पत्य सुखको भरपूर आनन्द प्राप्त हुनेछ । वर्षको पूर्वार्द्धमा अविवाहितको विवाह, बेरोजारको रोजगारी, बेकामेले काम पाउने ग्यारेन्टी दिन सकिन्छ, तर फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्बर दिसम्बरमा शनिको अढैयाको प्रकोप हुने भएकाले बढी आशावादी हुनु राम्रो हुँदैन । शनिको अढैया र बक्रता रहेको अवसरमा शनिमृत्युञ्जय स्तोत्रको नियमित पाठ गर्नाले समग्रमा वर्षका नकारात्मक पक्षमा नियन्त्रण गर्न सकिने छ ।

तुला ः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला नयाँ वर्षले मिश्रित प्रभाव पार्ने सङ्केत छ । वर्षको सुरुमा केही नकारात्मक र तनावग्रस्त परिस्थितिको सिर्जना हुनसक्छ, तर उत्तरार्द्धमा भने प्रतिष्ठा अभिवृद्धि गर्ने समय छ । सुरुमा प्रेमी वा जीवनसाथीसितको सम्बन्धमा तथा अन्य परिवारजनसित तिक्तता आउन सक्ने र विवादसमेत हुनसक्ने परिस्थिति छ । क्रोध र अहङ्कारलाई त्यागेको बेस हुनेछ । यस अवधिमा आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्छ । अगस्टसम्म पाँचौं भावमा रहने केतुले किसिम–किसिमका मानसिक समस्या उत्पन्न हुनसक्छ । वर्षको सुरुमा र मईदेखि नोभेम्बरसम्म अन्तिम साढेसातीको समय भएकाले सफलता प्राप्तिमा ढिलाइ हुनसक्छ, तर दूरदराज वा वैदेशिक प्रयोजनका रोजगारी वा बन्द–व्यापारबाट लाभ मिल्नेछ । बृहस्पति सुरुमा बाह्रौं घरमा रहेकाले आर्थिक सङ्कटको सङ्केत गर्दैछ, तर जनवरी र फेब्रबरीमा तथा अगस्टपछि वर्षान्तसम्म आफ्नै राशिमा बृहस्पति आउनाले हाँकेका, ताकेका र इच्छाएका परिणाम प्राप्त हुनेछन्, त्यसैले वर्षको उत्तरार्द्धमा बेरोजगारले रोजगारी, अविवाहितले दाम्पत्यसुख, वृद्धवृद्धाले तीर्थाटनको लाभ र बेकामेले काम पाउने सङ्केत छ । बन्द–व्यापारमा लागेका व्यक्तिले अगस्टभन्दा पहिले निकै तनाव झेल्नुपर्छ । तर त्यसपछि वर्षको सुरुमा देखिएका कमीकमजोरी र घाटालाई पूर्ति गरी उन्नति गर्ने अनुकूलता मिल्नेछ । समग्रमा तुला राशिका जातकले सुरुमा कुलदेवता र पितृदेवताको पूजाआजामा जोड दिएमा वर्षको सुरुमा देखापर्ने अनिष्टको निवारण गर्न सकिनेछ । त्यसै पनि वर्षको सुरुवात आफ्नो पक्षमा नरहे पनि वर्षको अन्तिम चरणले खुसी, उमङ्ग र उत्साह सिर्जना गर्ने सङ्केत देखिंदैछ ।

वृश्चिक ः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक नयाँ वर्ष सन् २०१७ महत्त्वाकांक्षा पूर्ण गर्ने अवसरका रूपमा आएको छ । स्वतन्त्र व्यवसाय गर्ने एवं सानो परिवारमा बस्ने वृश्चिक राशिका जातकले यो वर्ष राम्रै उपलब्धी हासिल गर्नु हुनेछ । तर ठूलो साझेदारीमा कारोबार गर्न र संयुक्त परिवारका दायित्व निर्वाह गर्न भने यो वर्ष कष्टकर समय हुने सङ्केत छ । त्यसैले ठूलो साझेदारीमा काम गर्दै हुनुहुन्छ वा संयुक्त परिवारमा बस्नुहुन्छ भने यो वर्ष निकै सावधान हुनुपर्छ । सन्ततिपक्षका समस्यामा केही समय खट्नुपर्ने छ । नोकरी र बन्द–व्यापारमा लागेकाहरूले वर्षको प्रारम्भमा गरेको प्रयासबाट राम्रो लाभ लिन सक्नुहुन्छ । अगस्टपछि बृहस्पति बाह्रौंमा जाने भएकाले परिस्थिति प्रतिकूल बन्नसक्छ । शनिको साढेसातीको मध्य र अन्तिम चरणमा रहनु भएकाले मुखलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, झैझगडा र मुद्दामामिलामा सरिक हुने स्थिति आउन सक्छ । आफ्नै राशिमा अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा प्राकृतिक प्रकोप, चोटपटक र हतियारको भय हुनेछ । पुराना रिनसापटी चुक्ता गर्न वर्षको उत्तरार्द्धमा झन् गाह्रो हुने भएकाले सुरुको ७ महिनाभित्रै प्रयास गरेको जाति हुन्छ । प्रेम र प्रणयप्रसङ्गमा शुभ सङ्केत छ, प्रियतमसित नै लामो समय व्यतीत हुनेछ, तर आपसी समन्वयको कमी रहने छ । शारीरिक सुख र स्वास्थ्यस्थितिमा सुधार आउने छ, वर्षको अन्त्यमा धार्मिक, सामाजिक र माङ्गलिक काममा धन खर्च हुने सम्भावना छ । वृश्चिक राशिका जातकले शनि बक्री रहेको अवधिमा मङ्गल ग्रहको उपासनामा जोड दिंदा र वर्षभरि शनिको उपासना गर्नु बुद्धिमानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने जातकका लागि व्यापक रूपमा नयाँ वर्ष २०१७ अनुकूल हुने सङ्केत छ, तर धैर्यता, संयमता र अनुशासनको पालना गर्नु अनिवार्य छ । जीवनसाथीसित कहिलेकाँही वादविवाद र झैझगडाको परिस्थिति आउने छ, त्यसैले सामञ्जस्य स्थापनाका लागि परिस्थिति विपक्षमा रहेको अनुभूति हुनासाथ धैर्य र हिम्मतका साथमा अघि बढ्नु राम्रो हुनेछ । त्यसो त घरपरिवारमा अभिभावक वर्ग एवं मातापिताको सहयोग प्राप्त हुनेछ । बरु सन्ततिपक्षमा केही समस्या देखिनसक्छन्, पठनपाठन र सुस्वास्थ्यका लागि धनलगानी गर्नुपर्छ । अल्छीपन र आलस्यले डेरा जमाउन सक्छ, बन्दव्यापार र नोकरीका क्षेत्रमा उत्साह र स्फूर्तिको कमीले काम बिग्रने सम्भावना छ । व्यापारीहरूले अगस्टभन्दा पहिले धननिवेश गर्नु त्यत्ति राम्रो हुँदैन, तर त्यसपछि राज्यस्थानमा बृहस्पति जाने भएकाले पूँजी निवेश र लगानीको राम्रो वातावरण प्राप्त हुनेछ । उता शनिश्चर यस वर्षदेखि निरन्तर अढाइ वर्ष तपाईंको राशिमा उपस्थित रहने छ, त्यसैले बढी महत्त्वाकाङ्क्षा देखाउनु राम्रो हुँदैन । कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नति प्रगतिमा बाधा पुग्नसक्छ । घरायसी जीवन र प्रेम तथा प्रणय प्रसङ्गमा धैर्यता र संयमताको खाँचो छ, फकाउने फुल्याउने काममा धेरै अल्मलिनु पर्ने सङ्केत छ । जोखिमयुक्त र गैरकानुनी कामभन्दा टाढा बसेको नै जाति हुन्छ, नत्र ठूलो षड्यन्त्रमा समेत फँस्न सक्नुहुन्छ । समग्र वर्षलाई राम्रो बनाउन वर्षको सुरुमैं बृद्धबृद्धा वा अनाथलाई मिष्ठान्न भोजन गराएमा सकारात्मकता प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिका जातकका लागि नववर्ष २०१७ को सम्पूर्ण समय मिश्रित परिणाम प्राप्त हुने समय हो । राशिपति शनिश्चरले वर्षको अधिकतम समय राज्यस्थानमा र केही समय बाह्रौं भावमा विचरण गर्नेछ । फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्बर दिसम्बरमा बाह्रौं शनिश्चर हुने भएकाले स्वास्थ्यसम्बद्ध केही समस्या देखिन सक्छन्, साथै बन्दव्यापार र कारोबारमा आर्थिक कठिनाइ हुनसक्छ, तर अत्तालिनु पर्दैन । करकुटुम्ब र साथीसँगीसित विवाद र मनमुटावको सङ्केत छ, सचेत रहनु होला । घरवरिपरिको पर्यावरण र खाद्यान्नको सरसफाइ एवं ताजगीप्रति सचेत हुनु राम्रो हुन्छ, यो वर्ष पाचनप्रणाली र सङ्क्रमणका कारण रोगग्रस्त हुने सम्भावना छ । नवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । भाग्यभाव र कर्मक्षेत्रमा बृहस्पति रहने भएकाले कार्यरत कर्मचारीको पदोन्नति र तलब सुविधामा बृद्धि हुने सम्भावना छ । बन्दव्यापारमा राम्रै छ, तर धोखाधडी र जालसाजीबाट जोगिनु पर्छ । आर्थिक हैसियत राम्रै हुनेछ, तर ऋणसापटी र लेनदेनमा सतर्क रहनु राम्रो हुन्छ । पूँजी निवेश र लगानीका लागि वातावरण राम्रो छ, तर नयाँ मानिस, नयाँ ठाउँ र नयाँ कम्पनीमा कारोबार नगर्नु राम्रो हुन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा आर्थिक, मानसिक र व्यवहारिक समस्यामा समय बित्नसक्छ । समग्रमा मकर राशिका व्यक्तिहरूले यो वर्ष सचेत र संयम भई काम गर्दा राम्रो लाभ प्राप्त गर्न सक्नेछन् । यसै वर्षबाट शनिको साढेसाती प्रारम्भ हुने भएकाले आफ्नो कुण्डलीको शनिको प्रभावका आधारमा ज्योतिषीसित परामर्श लिई उपचार गर्नु राम्रो हुन्छ, साथै शनि बाह्रौं भावमा रहँदा र बक्रताको समयमा महामृत्युञ्जय मन्त्रको नियमित जाप र हवनादि गराउनु पनि शुभ हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ सन् २०१७ मा कुम्भ राशिका जातकले व्यक्तिगत स्वास्थ्यस्थिति र पारिवारिक जीवनका केही समस्याबाहेक समग्रमा राम्रै परिणाम प्राप्त गर्ने सम्भावना देखिन्छ । जीवनसाथी र परिवारजनमा असन्तुष्टि र खटपट यथावत रहने छ । समस्या समाधानका लागि अत्यन्त सावधान हुनुपर्छ, किनभने व्यक्तिगत समस्यालाई बल्झाउन घरपरिवारकै र नजिकैका मानिसहरू सक्रिय देखिएका हुन्छन् । बोलीवचनमा संयमता अपनाउनु होला । अप्रिल ०५ देखि अगस्ट २३ सम्म शनि बक्री रहनाले उक्त अवधिमा पारिवारिक र व्यवहारिक समस्यामा समय बित्नसक्छ, कामको चाप र तनाव बढ्ने छ, तर चिन्तित हुनु र असंयमित हुनु लाभप्रद हुँदैन, उल्टै मानसिक सन्तुलन गुम्ने डर हुन्छ, टाउको दुख्ने समस्या बल्झिन सक्छ । उता पाचनप्रणालीमा पनि राम्रो सङ्केत छैन । वर्षको सुरुमा आठौं बृहस्पति रहेकाले पितामाताको स्वास्थ्यप्रति सचेत हुनुपर्छ । तर आफूमुनिका नातेदार र छोराछोरीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । यसबाहेक बन्दव्यापार र नोकरी गर्नेका लागि यो वर्ष केही राम्रा परिणाम प्राप्त हुनेछन् । कार्यक्षेत्रमा प्रशंसा पाइने छ । फेब्रवरीदेखि अप्रिलसम्म र नोभेम्वर दिसम्बरमा शनिले राज्यस्थानमा उपस्थिति जनाउनाले व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । अगस्टपछि बृहस्पति भाग्यभावमा आउने र राशिको मालिक शनिश्चरको वर्षभरि शुभफल पाइने भएकाले अत्तालिने परिस्थिति छैन, धैर्य, संयम र नियन्त्रित भई व्यवहार गर्न सकेमा सबै पक्षमा राम्रो प्रतिफल पाउन सकिन्छ । तपाईंले वर्षको प्रारम्भमा नै रुद्रीपूजाका साथमा कुलदेवता, मगन्ते र भिखारीलाई प्रसन्न तुल्याउनु जाति हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
मीन राशिका जातकका लागि नयाँ वर्ष २०१७ को सुरुको सात महिना अत्यन्त शुभ सङ्केत लिएर उपस्थित भएको छ । जीवनका विविध आयाममा महत्त्वपूर्ण उपलब्धी र सुखसम्मृद्धि प्राप्त हुनेछ । जनवरी र फरबरीमा आठौं घरमा राशिपति बृहस्पतिको प्रवेश हुने भएकाले केही कठिनाइ र झन्झट आइलाग्न सक्छन्, तर समग्रमा समय असल नै रहने छ । गृहस्थी जीवनमा नयाँ वर्षमा सामान्य संवेदनशीलता अपनाए हुन्छ । वर्षको पूर्वार्द्धको अधिकांश समय बृहस्पति सातौं भावमा हुने भएकाले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा सुमधुरता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रका कामबाट लाभ मिल्ने सम्भावना छ । स्वास्थ्य सबल नै छ, तर यौन, गुप्ताङ्ग वा पाचनशक्तिका समस्याले दुःख दिने सम्भावना भने देखिन्छ । आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग गर्नेछन् । नयाँ ठाउँमा लगानी वा पूँजी निवेशको सम्भावना देखिन्छ । यो वर्ष तपाईंको लगनशीलता, मिहिनेत र परिश्रमको परीक्षणको समय हो । नोकरी र बन्दव्यापारमा लागेकाहरूका लागि अझ धेरै राम्रो छ । पदोन्नति र आर्थिक लाभ हुनेछ । समग्रमा नयाँ वर्षले तपाईंको परिश्रमको सम्पूर्ण शुभ परिणाम प्रदान गर्ने सङ्केत छ, तर अगस्टपछिको समयले तपाईंलाई सचेत हुन र संयमता अपनाउन आग्रह गर्दैछ । अगस्टपछि खानपानमा नियन्त्रण गर्नुका साथै कुलदेवता र इष्टदेवताको आराधनामा जोड दिंदै बृद्धाश्रम, अनाथाश्रम वा मन्दिरमा भएका दीनहीन समुदायका व्यक्तिको सेवासुश्रुषामा लाग्नु राम्रो हुन्छ ।

साभारः सार्वजनिक न्यूजबाट

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

लोकप्रिय