६३ वर्ष पुगे प्रधानमन्त्री प्रचण्ड, भन्छन्– जनताका लागि खाएका कसम अझै बाँकी छन् (फोटो फिचर)
काठमाडौं, मंसिर २६ । यतिखेर प्रचण्ड देशको कार्यकारी प्रमुख छन् । प्रधानमन्त्रीका रुपमा उनले इतिहासको जटिल कालखण्डको नेतृत्व गरिरहेका छन् । संविधान कार्यान्वयनको जटिल कार्यभार उनका सामु छ । एकातिर जनताका अपेक्षा र चाहना, अर्कोतर्फ संविधानको पूर्ण कार्यान्वयनमार्फत शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारीको पहाड छिचोल्नुपर्ने बाध्यता । तर प्रचण्ड हारेका देखिँदैनन् । प्रतिपक्षको चौतर्फी हमलाको कुशल प्रतिरक्षा गर्दै उनी अगाडि बढेका छन् ।
गत वर्ष हामीले प्रचण्डसँग जीवनका ६१ वर्ष पुरा भएको सन्दर्भममा कुराकानी गरेका थियौं । सोही आधारमा तयार पारिएको गत वर्षको सामग्री आजका लागि समेत सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो जीवनका ६२ वर्ष पुरा गरेका छन् । बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा उनी जन्मेका थिए । राजनीतिकरुपमा २०२८ सालदेखि संगठित जीवन शुरु गरेका प्रचण्ड २०५२ सालदेखि नेपाली राजनीतिको केन्द्रमा रही आएका छन् । जनयुद्धकालिन अवस्था र शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्ड राजनीतिक शक्ति केन्द्रको केन्द्रमा देखिएका हुन ।
राजनीतिमा जस्तोसुकै बोल्ड निर्णय गर्नसक्ने क्षमता रहेको नेताका रुपमा रहेका प्रचण्डले अझै सक्रिय राजनीतिक जीवन बाँच्ने बताएका छन् । एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै प्रचण्डले भने, “जनताका लागि मैले कसम खाएका कतिपय कुरा पुरा भएका छैनन् । म अझै १०, १२ वर्ष सक्रिय राजनीतिमैं हुन्छु ।” नयाँ जनवादी राज्यसत्ताको सपना देखेका प्रचण्डले कार्यदिशा फेरिएपनि जनताको व्यवस्थाकै पक्षमा आफू निरन्तर लाग्ने समेत बताए । “कतिपय अवस्थामा शक्ति सन्तुलनको स्थिति हेरेर अगाडि या पछाडि जाने भन्ने हुन्छ तर मूल क्रान्तिकारी चरित्र र स्पिरिट त्याग्ने कुरा सपनामा पनि सोच्दिन । मैले जनताबाटै पाएँ, जनताकै बीच हुर्किएँ, जनताका लागि बाँकी जीवन समर्पित गर्छु ।” उनले बताए ।
पार्टीभित्रका विचलन, फूटले तत्कालमा तनाव दिने भएपनि यसले विचलित भने नबनाएको उनले बताए । “विचलन र फूटले निराशा पैदा गर्छ तर जीवनको पछाडिका कालखण्ड सम्झिँदा फेरी उर्जा पलाएर आउँछ । अझै गर्नु धेरै छ, थाकेर, हैरान भएर हुँदैन, नयाँ उर्जा बोकेर, सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।” उनी भन्छन् ।
आफ्नो राजनीतिक जीवनकालमा ४४ वर्ष सक्रिय राजनीति र २५ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले पहिलोपटक नेपालमा सशस्त्र संघर्षको कार्यदिशा अन्तर्गत “जनयुद्ध” शुरु गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो बेग्लै विचारधारा निर्माण गर्ने प्रयासस्वरुप प्रचण्डले ‘प्रचण्डपथ’ अगाडि सारेका थिए । यद्यपी प्रचण्डपथ संस्थागत हुन भने सकेन ।
पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्म पढाई गरे । उनको नाम कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखिएको थियो ।
प्रचण्डले २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरे । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्डले नारायणी विद्यामन्दिर मा।वि।शिवनगर (२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा (२०३३(०३५ सालमा अध्यापन गरेका थिए ।
विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । उहाँ २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित प्रचण्ड, २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भएका थिए । उनी २०४० मा युवा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।
यसपछि उनी पूर्णरुपमा राजनीतिमै सक्रिय भए । विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । एकता केन्द्रमा भने जनयुद्ध शुरु गर्ने विषयमा विवाद देखा पर्यो । प्रचण्ड महामन्त्री रहेको पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरे । २०५७ सालमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष भए । यो कालखण्ड प्रचण्डका लागि राजनीतिक जीवनको महत्वपूर्ण अवस्था थियो । प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।
प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, संस्कृति, कला र सौर्न्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू(खण्ड १ र २ ) तथा ‘प्रचण्डका छानिएका सैन्य रचनाहरू’लगायतका पुस्तक प्रकाशित छन् ।
नेपाल प्रवेश गरेको भारतीय जेविसी नियन्त्रणमा
दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसिबी नेपालतर्फ आएको छ । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले पक्राउ गरेका छन् । दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन । तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताउनुभयो । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ । गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो । नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताउनुभयो । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो । "हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौं", स्थानीय सुन्दर धामीले भन्नुभयो, "तर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।" २०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उहाँले बताउनुभयो । दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ । पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताउनुभयो । स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् । जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताउनुभयो ।
राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार
काठमाडौं । पहिचान पुरस्कार कोषले ०८०/८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने भएको छ। मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट ‘ओ पेङ्दोर्जे’लाई नगद चार लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्रसहित पुरस्कार दिने घोषणा गरेको हो। ओ पेङ्दोर्जे कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि रगत–पसिना साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भुइँमान्छेहरूले खेपेको शोषणबारे बताएको छ। उनका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्। विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन्। विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए। संस्थाले जनाएअनुसार, ०८१ चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका– ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिनेछ। तीन सालअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। चैत २४ गते एकदिने ‘काव्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरिएको छ।
सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
काठमाडौं । सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै गएको गलत सूचना प्रवाह, सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यममा देखिने पक्षधरता र सञ्चार साक्षरतालगायत सञ्चारसम्बद्ध एक दर्जनभन्दा बढी विषयमा कार्यपत्र तथा अनुसन्धान पत्रहरुमाथि छलफल हुनेछन् । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख विषयवस्तु प्रस्तुत गर्दै प्राध्यापक पी खरेलले प्रविधिले पत्रकार र सञ्चारमाध्यमलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि घटना क्रमको स्वच्छ तथ्य सङ्कलनमा आधारित समाचार सम्प्रेषण अझै पनि चुनौतीपूर्ण रहेको बताए । 'प्राप्त सूचनाको सत्यता परीक्षण र पुनःपरीक्षण हुनुपर्ने विचार बुद्धकै पालमा आएको हो तर अहिले पनि पुनःपरीक्षण नगरिएका समाचार सञ्चारमाध्यममा उल्लेख्य मात्रामा भेटिन्छन्,' उनले भने । यसबाहेक प्राकृतिक प्रकोप वा दुर्घटनाको समाचार सम्प्रेषणमा अपनाउनुपर्ने सचेतताको अभाव टडकारो देखिएको उनको भनाइ थियो । डिजिटल प्रविधिका कारण परम्परागत आमसञ्चारमाध्यमले आफूलाई अद्यावधिक गर्नुपर्ने उनले उल्लेख गरे । त्रिवि केन्द्रीय पत्रकारिता विभाग प्रमुख कुन्दन अर्यालले पाठक दर्शक र स्रोताहरु विगतको तुलनामा अत्यन्त सक्रिय रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सम्पादन गरिएका सञ्चार सामग्रीको आवश्यकता अझै टडकारो ढङ्गले महसुस हुन थालेको धारणा राखे । सम्मेलनको उद्देश्य नियमित पठनपाठनलगायत सञ्चारसम्बन्धी प्राज्ञिक गतिविधि, पाठक, दर्शक र स्रोतालाई एक अर्कासँग नजिक ल्याउनु रहेको पनि उनले बताए । सम्मेलनमा नेपाल र दक्षिण एसियाली मुलुकहरु भारत बङ्गलादेश र श्रीलङ्काका सञ्चारविद् सहभागी छन् ।
त्रिविका उपकुलपतिलाई एमालेनिकट विद्यार्थीहरुको अवरोध
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् । बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए ।