डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । 

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसीआईएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । 

जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाल इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।” रासस

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध छ।

ज्यापु दिवसको अवसरमा र्‍याली

काठमाडौं । ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले आज काठमाडौंमा र्‍याली निकालेका छन्। इन्द्रचोकबाट बिहान १० बजेदेखि शुरु भएको र्‍याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुनेछ।  ज्यापु समुदायले आफ्नै भेषभूषा र बाजागाजासहित र्‍यालीमा सहभागी भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

सत्ता गठबन्धनलाई पराजित गर्दै पत्रकार महासंघ ललितपुरको अध्यक्षमा प्रेस सेन्टरको प्यानल नै विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ। अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो।   कार्कीले दुई सय ४३ मत प्राप्त गरी सबैभन्दा बढि मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत मात्रै प्राप्त गरेका छन्।  ललितपुर महासंघमा सत्ता पक्षिय गठबन्धनका प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन सहितले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।  उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान र कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्।  त्यसैगरी सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा विजयी भएका निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसेले जानकारी दिए।  राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन्। 

लोकप्रिय