प्रचण्डका ३ वटा कार्यभार : जसकालागि टुट्यो गठबन्धन, बन्यो गठबन्धन
सरकार गठन भएदेखि संसद या सार्वजनिक अवसरमा प्रधानमन्त्रीले बारम्बार एउटा कुरा दोहोर्याए - म सन्तुष्ट छैन।
उनी सन्तुष्ट नहुनुको कारण थियो
- सरकारले जुन गतिमा प्रभावकारि कार्य गर्नुपर्ने हो त्यो गर्न सकेन।
- मन्त्रीहरुलाई जे जसरी कार्य सम्पादन गर्न भनियो, त्यो अनुरुप काम भएन।
- जनताले जे अपेक्षा राखेका थिए, ती सोही अनुरुप पुरा गर्न सकिएनन्।
- केही गर्ने हुटहुटी भएन, काम पन्छ्याउने या ‘यस्तै त हो, चलिरहन्छ’ भन्ने प्रवृत्तिले निरन्तरता पायो।
गत साता मात्रै सरकारको अर्धवार्षिक समीक्षा क्रममा प्रचण्डले मन्त्रीहरुसँग भने– हाम्रो प्रगति समिक्षा हेर्दा मभित्र बेचैनी पैदा भएको छ। मलाई लाग्छ यही बेचैनी तपाईहरुभित्र पनि छ होला, किन्तु परन्तु कारण जे दिएपनि हामी जुन स्पिरिटमा अघि बढनु पर्ने थियो, जसरी मैले निर्देशन दिएको थिए, जसरी मैले चाहेको थिए र सोही अनुरुप जसरी दिनरात सहजिकरण गरेर समस्याका गाँठा फुकाउन खोजेको थिएँ, त्यो भएन। कार्यसम्पादन पटक्कै भएन।
सरकारको एक वर्ष पुरा भएपछि प्रचण्डले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै अधिकांश समय सिंहदरबार केन्द्रीत भए। उनले पुष महिनाभरि सबै जसो मन्त्रालयसँग सघन छलफल चलाए। मन्त्रालय र मातहतका निकायका समस्याहरु सुने, प्रगति हुन नसक्नुका कारण पत्ता लगाउँदै अघि बढन उत्प्रेरित गरे। विकास आयोजनादेखि अन्य कतिपय कार्यक्रमहरुसँग सम्बन्धित निकायसँग समेत उनले यो बीचमा छलफल गरे। त्यही अनुरुप मन्त्रालयहरु कार्ययोजना बनाए। तर माघ महिना बितिसक्दा सरकारका निकायका प्रयासहरु दोब्बर गतिमा अघि बढेनन्, बरु पुरानै यथास्थितिको ढर्रा भन्दा अघि बढ्न सकेन। प्रचण्डले पछिल्लो अर्थ वार्षिक समिक्षाका क्रममा यसबारेमा पनि थोरबहुत कुरा गरे। तर अन्ततः उनले यथास्थितिमा रमाएर कुर्सीमा टाँसीराख्नुभन्दा यथास्थितिको निरन्तरतामा क्रमभंगता गर्न खोजे।
संघर्षमयी जीवनका कैयन उतारचढाव झेल्दै राजनीतिक जीवनको पाको अनुभव बटुलेका प्रचण्डका सामु यतिखेर तीनवटा मुख्य एजेण्डा रणनीतिक कार्यभारका रुपमा रहेका छन्। यी तीनवटा कार्यभार वर्तमान गठबन्धनबाट सम्भव नदेखिएपछि उनले क्रमभंगता अनिवार्य ठाने।
प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यभार
प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यभार थियो - कतिपय आन्तरिक र बाह्य कारणले धराशायी भएको अर्थतन्त्रलाई पुनः ठाडो बनाएर आम जनतामा आसाको सञ्चार गर्नु। राजनीतिक र आर्थिक क्षेत्रमा आशावादीता जगाउन सकिएन भने यसले सामाजिक नैराश्यता जन्माउँछ र यसले समाजलाई अग्रगमन होइन, पश्गमनतर्फ धकेल्छ भन्ने राम्रो हेक्का बोकेर प्रचण्डले यो कार्यकाललाई नमूनायोग्य बनाउन सुरुदेखि नै कोशिस गरे । उनले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मार्गचित्रका रुपमा अघि सारे । यो बीचमा जनतामा आसा जगाउने किसिमले सामाजिक न्यायका क्षेत्रमा कैयन ऐतिहासिक काम भए । सुशासनका पक्षमा इतिहासमा नै पहिलोपटक ठूलाठूला काण्डहरुको पर्दाफास भयो।
विकास निर्माणका लागि कैयन नीतिगत, कानुनी तथा अन्य सुधारका कामहरु गरिए। तुलनात्मकरुपमा पूँजिगत खर्च, राजस्व संकलन, पर्यटक आगमन, विदेशी मुद्रा सञ्चिति लगायतका क्षेत्रमा उल्लेख्य सुधार भयो । तर सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गचित्रमा प्रचण्डले गठबन्धन दलबाट सोचेजस्तो सहयोग भने पाउन सकेनन्। अमुक मन्त्रीले के गरे भन्दा पनि समग्रमा उनको मन्त्रीमण्डलका सदस्यहरुले मार्गचित्र अनुरुपको स्पिरिट पक्रिन सकेनन्। फलस्वरुप भदौमा नै नीतिगत तहमा सहमति भएको सहकारी समस्याको समाधान हुन सकेन , लघुवित्त पीडितहरुसँगको सम्झौता पालना हुन सकेन, घाइते अपांगहरुले उपचार पाउन सकेनन् । कतिपय विकास आयोजनाहरुको श्रोतको सुनिश्चितता हुन सकेन।
अघिल्लो महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रीहरुसहित भएको एउटा छलफलमा अधिकांश मन्त्रीहरुले अर्थमन्त्रालयका कारण समस्या परेको गुनासो गरे। अहिले पनि सिंहदरबारभित्र अर्थमन्त्रालय बाधक मन्त्रालयका रुपमा चित्रण हुने गरेको छ नै। तर यो विषयमा समेत प्रधानमन्त्री र अर्थमन्त्रीका बीच एउटा ‘साइलेन्ट टसल’ कायमै रहिरह्यो। अन्य कतिपय मन्त्रालयहरुमा समेत कतिपय कारणले प्रधानमन्त्री तहबाट दिइएका निर्देशन सोही स्पिरिटमा कार्यान्वयन भएनन्। स्वः तदारुकता देखिएन। जनताले केही नयाँ त गर्न खोजेका छन् तर परिणाम दिन सकेका छैनन भनेर टिप्पणी गर्ने अवसर पाइ नै रहे।
समग्रमा भन्दा प्रचण्डको एउटा मुख्य कार्यभारमा अहिलेको गठबन्धनबाट सकारात्मक आसाजनक सहयोग पाउने अवस्था देखिएको थिएन। प्रचण्डले बारम्बार प्रत्यक्ष अप्रत्यक्षरुपमा जनाउ दिइ नै रहे, तर निर्वाचनपछि जसरी कांग्रेसले प्रचण्डलाई कमजोर सम्झे, यसपाली पनि के नै पो गर्न सक्छ र भन्ने मानसिकता मन्त्री र कांग्रेस नेतृत्वमा रही नै रह्यो।
प्रचण्डका सामु दोश्रो मुख्य कार्यभार
प्रचण्डका सामु दोश्रो मुख्य कार्यभार भनेको संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्याउने थियो। यसका लागि प्रचण्डले भरमग्दूर कोशीस पनि गरे। नेपाली कांग्रेसले प्रकटमा आफू संक्रमणकालिन न्यायका विषयमा सकारात्मक रहेको भन्दै एमालेको असहमतिलाई प्रधानता दिँदै आयो। एमालेले संक्रमणकालिन न्यायलाई राजनीतिक लाभहानीका विषय बनाउँदै आएपनि कांग्रेसले सहमति जनाएकै थियो। तर निर्णायक अवस्थामा जतिखेर एमालेले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सहमति जनायो, कांग्रेसले नियोजित तवरले भाँजो हाल्न खोज्यो। संसदीय समितिबाट पारित हुनुपर्ने मिति सारियो। प्रचण्डका सामु जीवन मरणको नैतिक प्रश्नका रुपमा रहेको संक्रमणकालिन न्यायमा कांग्रेसले अन्तिम समयमा गरेको व्यवहारले गठबन्धनमा नै नैतिक मात्रै होइन राजनीतिक संकट पर्नु स्वभाविकै थियो।
प्रचण्डको तेश्रो मुख्य कार्यभार
प्रचण्डका सामु तेश्रो मुख्य कार्यभार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा रहेको छ। हजारौं योद्दाहरुको बलिदानको जगमा प्राप्त उपलब्धिको रक्षा प्रचण्ड र प्रचण्ड नेतृत्वको राजनीतिको मुख्य राजनीतिक कार्यभार हो। पछिल्लो दिनमा एकातिर राजावादीहरुको सक्रियता, व्यवस्थाविरोधी तत्वहरुको चलखेल र षडयन्त्र बढदै जानु र त्यसको प्रतिकार गर्नुको साटो नेपाली कांग्रेसभित्र व्यवस्थाविरोधी जनमतलाई संस्थागतरुपमा नै स्थान दिइएपछि प्रचण्ड झस्किनु स्वभाविकै थियो। यसमा पनि थप आशंका सहयात्री माओवादीको राजनीतिक विरासतका बारेमा कांग्रेसले निर्माण गरेको धारणाले निम्त्याउनु स्वभाविकै थियो। राजतन्त्रको समूल अन्त्य गर्दै संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको मुख्य मियो बनेको जनयुद्दलाई नेपाली कांग्रेसको महासमिति बैठकमा ध्वंसात्मक र विकासविरोधी क्रियाकलापका रुपमा कांग्रेसले औपचारिकरुपमा नै दस्तावेजिकरण गरेपछि कांग्रेससँगको सहकार्य अघि बढन् सक्ने अवस्था थिएन। किनभने प्रचण्डका लागि सत्ता या सरकार भन्दा पनि इतिहासका उपलब्धिको रक्षा प्रधान कार्यभार बन्नु अनिवार्य नै थियो।
यी यावत कारणले गर्दा सत्तारुढ गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धनको आधारका रुपमा प्रचण्डले तीनवटा कार्यभार नै अघि सारेका छन् । पहिलो वामपन्थी एकता, दोश्रो सामाजिक न्याय, सुशासन र समृद्धिको मार्गचित्र अनुरुप सरकारलाई प्रभावकारी बनाउने र तेश्रो संक्रमणकालिन न्यायलाई पूर्णता दिने। नयाँ गठबन्धनका सहयात्री दलहरुका बारेमा इतिहासमा बुनिएका र कायमै रहेका कतिपय आशंकाबीच नयाँ गठबन्धनबाट समेत प्रचण्डको समान अपेक्षा रहनेछ नै।
माओवादी र एमाले बैठकबारे प्रचण्डको टिप्पणीः लोकतान्त्रिक अभ्यास र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै समयमा चलेका पार्टी र एमाले बैठकबारे तुलना गर्नुभएको छ । प्रस्तुत छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठक समापनमा माओवादी केन्द्र र एमालेका एकै दिन सुरु भएर एकै दिन सकिएका दुई बैठकप्रति गर्नुभएको तुलनात्मक टिप्पणीः बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् । म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो । मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको छ । एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोशिस गरियो । यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपंथी नेता कार्यकर्ताहरुले हिसाबल गर्नुभएकै होला । तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ । यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ । एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामति लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी वुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ । यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्टरुपमा देखा पर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्तावेज प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जाने छ ।
यी हुन् एनपीएलमा दुई छोरालाई विजेता र उपविजेता बनाउने आमाबुवा
वीरगञ्ज । वीरगञ्ज (पर्सा), पुस ७ गते । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो । त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो । बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।” शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो । “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।” सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।” सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो । शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो । बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।” आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ । नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो । आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो । विश्वकप जितेको हेर्ने बुबाको धोको मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ । आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”
डिग्रे मेलामा एक लाखले गरे दर्शन
रुकुमपश्चिम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा यो वर्ष एकादशी देखि शुक्रबारसम्म १ लाख हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ । डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । तर यय पटक भने तिथि घटबढका कारण ४ दिन विशेष मेला लागेको हो । मेलामा पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिएको छ । हरेक वर्ष मेलाको अन्तिम दिन सगाल नाच देखाउँने गरिन्छ । मेला सकिएपनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ ।
सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान
काठमाडौं । काठमाडौँ, कात्तिक १३ गते । यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । उहाँका अनुसार तिहारमा सयपत्री फूल नपुग भएमा त्यसलाई मखमली र गोदावरी लगायतको फूलबाट पूर्ति गरिनेछ । उहाँले भन्नुभयो, “यो वर्ष असोजमा आएको बाढीका कारण उत्पादनमा केही कमी छ । तर मखमली नपुग भएमा सयपत्री, र सयपत्री नपुग भएमा मखली र गोदावरी फूलबाट त्यसलाई पूर्ति गरिने अवस्था छ । त्यही कारण यसपाली फूलको मूल्य केही महँगो पर्ने देखिन्छ ।” असोज ११ र १२ गतेको अविरल वर्षाका कारण यो वर्ष सयपत्री बालीमा धेरै क्षति पुर्याएको हुँदा आन्तरिक आपूर्तिमा कमी आएको छ । यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उहाँका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन । हाल सात प्रदेशका विभिन्न जिल्लाहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । सयपत्री मालाको ८० रुपियाँ एसोसिएसनका अनुसार यो वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८० रुपियाँ पुगेको छ । गत वर्ष सयपत्री मालाको मूल्य ६५ रुपियाँ थियो । यो वर्ष सयपत्री माला आन्तरिक उत्पादन २५ लाख भएको छ भने १५ लाख माला आयात गरिएको छ । गत वर्ष आन्तरिक उत्पादन १५ लाख ५० हजार र १९ लाख ५० हजार आयात भएको थियो । अघिल्लो २२ करोड ७५ लाख बराबर कारोबार भएकोमा यो तिहारसम्म ३२ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ । मखमली मालाको ४५ रुपियाँ यो वर्ष मखमली मालाको औसत प्रति थोक मूल्य ४५ रुपियाँ पुगेको छ । गत वर्ष मखमली मालाको मूल्य ४३ रुपियाँ रहेको थियो । मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार भएको छ भने एक लाख ५० हजार निर्यात हुने अवस्थामा छ । गत वर्ष मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार रहेकोमा एक लाख माला निर्यात भएको थियो । यसैगरी, गत वर्ष एक करोड ८१ लाख कारोबार भएकोमा यो वर्ष दुई करोड १३ लाख बराबरमा कारोबार हुने देखिएको छ । गोदावरी मालाको एक हजार गत वर्ष जस्तै यो वर्ष गोदावरी मालाको प्रति थोक मूल्य एक हजार रुपियाँ छ । गत वर्ष र यो वर्ष गोदावरी मालाको माग उस्तै छ अर्थात् २० हजार रहेको छ । करिब दुई करोड बराबरको कारोबार हुने पूर्वानुमान गरिएको छ । मिक्स माला तीन सय ५० रुपियाँ यो वर्ष मिक्स मालाको मूल्य तीन सय ५० रुपियाँ छ । गत वर्ष यो मालाको मूल्य तीनसय रुपियाँ रहेको थियो । गत वर्षजस्तै यो वर्ष पनि मिक्स मालाको माग ३० हजार छ । गत वर्ष ९० लाख बराबरको कारोबार भएकोमा यो वर्ष एक करोड पाँच लाख बराबरको कारोबार हुने बताइएको छ ।