१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला सम्पन्न (घोषणापत्र सहित)
हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।
चलचित्र पत्रकारिताका क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल भएको यो भेलामा भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी,रबिन्द्र सिंह बानियाँ,दयाराम दाहाल,दिनेश डिसी आदि चलचित्रकर्मी तथा देशभरका १५० भन्दा बढी चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सहभागी वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।राष्ट्रिय भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । उनले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री जम्कट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालिन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहल सहित बजेट विनियोजन गरेको बताए। तर, विविध कारणले हुन नसकेको उनको भनाई छ । अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ । चलचित्र ऐन बनाउन सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको समेत मुख्यमन्त्रीले बताए ।
आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले उक्त विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको उनको भनाई छ । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वयन परिषदको बैठकमा पेश गरिएको र पत्रकारहरुको सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन् ।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम संचालन गरी सहयोग गरिने बताए ।
विधागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हाते पुस्तकसहित एप्रिसेशन कार्यशाला सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत रजिष्ट्रार सापकोटाले बताए ।
भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए ।
भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए । त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्नेमा उनको जोड थियो ।
चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको छ । चलचित्र पत्रकार संघको यो भेलाले चलचित्र क्षेत्रको विकासका लागि एक महत्वपूर्ण कदम चालेको छ ।
अध्यक्ष बलाीमले चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाले हेटौंडा उपमहानगरपालिका–२, हेटौंडा, मकवानपुर घोषणा पत्र-२०८० जारी गरेको जनाएका छन् ।
यस्तो छ घोषणापत्र-२०८०
१. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धीत सरोकारवाला निकायसँग माग गर्दछ ।
२. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।
३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ ।
४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।
५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।
६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।
७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।
८.नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।
९. कला, संस्कृती र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ ।
१०. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।
११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।
१२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।
१३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन राखिने
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ। गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल आज सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँसँगै घाइते हुनुभएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको भएपनि उहाँलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने अस्पतालले जानकारी गराएको छ।
सुनको मूल्य २७ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलनासम्बन्धी रिटमा पेसी आजका लागि तोकिएको छ। सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले कपटपूर्ण तरिकाले भूमि अध्यादेश जारी गरेको भन्दै गत माघ २८ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए । अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ गते जारी भएको परमादेशको कार्यान्वयनमा अवरोध सिर्जना गरेको जिकिर गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर पेश गरेका छन् । संवैधानिक इजलासको परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो । अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री अधिकारीलाई विपक्षी बनाएका छन् ।
नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु
नयाँ दिल्ली । शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो । नयाँ दिल्ली रेलवे स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमपूर्ण समाचारका कारण भागदौड मच्चिएको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरे ।