विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन् : देउवा
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन्।
आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनीले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शिखर सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा व्यक्त गरे ।
‘नेपाल अझै पनि कम विकसित मुलुकमा पर्छ । हामीले विकासका ठूला चुनौतीहरूको सामना गरिरहेका छौँ । हाम्रो देशमा विकासको प्रचुर सम्भावना छ, तर हामीसँग विकासका फाइदाहरू प्राप्त गर्न पर्याप्त पुँजी र उपयुक्त प्रविधिको अभाव छ’, सभापति देउवाले भने, ‘यस सन्दर्भमा यो उच्चस्तरीय कार्यक्रमको आयोजनाले विशेष महत्त्व राख्दछ ।’
काँग्रेसले नेपालमा आर्थिक सुधारको थालनी गरेको र सन् १९९० मा काँग्रेसकै सरकारले अर्थतन्त्रलाई उदारीकरण, निजी क्षेत्रलाई आमन्त्रण र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना गरेको उनले उल्लेख गरे ।
‘त्यो छोटो अवधिमा हाम्रो सरकारले नीतिहरू पुनसंरचना गर्यो, पुराना कानुनहरू परिमार्जन गर्यो र नयाँ कानुन ल्यायो, सार्वजनिक खर्चलाई तर्कसङ्गत बनायो र उदार कर प्रणालीको थालनी गर्यो’, उनले भने ।
सभापति देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको जानकारी दिए ।
विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीद्वारा सुरक्षित रहेको अवगत गराउँदै उनले नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको थाहा पाएको उल्लेख गरे ।
‘लचिलो श्रम कानुन, युवा र ऊर्जावान् जनसङ्ख्याको पर्याप्त हिस्सा भएको जनसाङ्ख्यिक लाभांश, बिजुलीको भरपर्दो आपूर्ति, स्थानीय कच्चा पदार्थको उपलब्धताले पनि यस क्षेत्रका अन्य उच्च ज्याला दिने देशहरूको तुलनामा उत्पादन लागत कम बनाउन योगदान पुर्याउँछ’, सभापति देउवाले भने, ‘हामीले सार्वजनिक–निजी साझेदारीअन्तर्गतका ठूला परियोजना र अन्य साना तथा मझौला आकारका लगानीका आयोजनाका लागि उद्योग विभागअन्तर्गतको लगानी बोर्ड समावेश गर्ने एकद्वार प्रणाली स्थापना गरेका छौँ ।’
उनले नेपालले कम्पनी दर्ताका लागि समय र ऊर्जा बचत गर्न र तुलनात्मक रूपमा छोटो अवधिमा सञ्चालनमा राख्न प्रक्रियालाई सुव्यवस्थित गरेको जानकारी गराए । उनले सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध रहेको स्पष्ट पारे ।
‘प्रधानमन्त्रीका रूपमा मेरो कार्यकालमा हामीले महत्त्वपूर्ण सुधार लागू गर्यौँ । विदेशी लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, जलविद्युतको सम्भाव्यता, उद्योग र कृषिको पुनरुत्थान गर्ने उद्देश्य राखेको थिएँ’, उनले भने, ‘सुधारको काम पूरा हुन नसकेकाले वर्तमान सरकारले सुधारका पहलहरूलाई निरन्तरता दिँदै निजी क्षेत्रका लागि थप अनुकूल वातावरण सिर्जना गर्ने विश्वास लिएको छु ।’
मानिसको आम्दानीमा वृद्धिसँगै आन्तरिक बजार विस्तार हुँदै गएको र भौगोलिक निकटता र छिमेकी तथा अन्य साझेदारहरूबाट प्राप्त हुने सहुलियतपूर्ण व्यापारिक सुविधाका कारण बाह्य बजार पहुँचयोग्य रहेको उनको भनाइ छ ।
‘हाम्रा दुई छिमेकी भारत र चीनले नेपालका लागि ठूलो बजार अवसर प्रदान गर्छन् । हामीसँग संयुक्त राज्य अमेरिका र युरोपेली युनियनसँग पनि सहायक व्यापारिक सम्बन्ध छ’, उनले भने ।
उनले आफू पूर्वप्रधानमन्त्री एवं सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी काँग्रेसका सभापतिको हैसियतमा लोकतान्त्रिक ढाँचाअन्तर्गत आर्थिक विकासलाई अगाडि बढाउन बजार र निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उदार आर्थिक नीतिलाई पछ्याउने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले सामाजिक न्याय र नेपाली समाजका सबै खण्डको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो जिम्मेवारी नगुमाई लगानी र व्यवसायका लागि अनुकूल वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।
‘हामी लगानीका लागि तीव्र प्रतिस्पर्धाका युगमा बाँचिरहेका छौँ । यसको अर्थ हामीले प्रोत्साहन र लगानी संरक्षण गर्न थप आकर्षक र प्रतिस्पर्धी हुन आवश्यक छ । पैसा त्यहाँ जान्छ जहाँ राम्रो व्यवहार गरिन्छ’, उनले भने, ‘आन्तरिक र बाह्य आर्थिक वातावरणमा आएको परिवर्तनको प्रकाशमा हाम्रो लगानी व्यवस्थालाई समायोजन गर्न सुसङ्गत र व्यावहारिक रूपमा सुधारको प्रयास जारी राख्छौँ ।’
उनले नेपालले विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण नीति नअपनाउने स्पष्ट पार्दै उनीहरूलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिने र विदेशी लगानीकर्तालाई अतिथिको रूपमा स्वागत गर्ने उल्लेख गरे । नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको भन्दै सभापति देउवाले यसका लागि प्रमाणित गर्ने भरपर्दो उदाहरण रहेको जानकारी गराए ।
नेपालमा काम गर्ने केही बहुराष्ट्रिय कम्पनीले वर्षौँदेखि राम्रो लाभांश फिर्ता गर्न सक्षम भएको उनको भनाइ छ । ‘कृपया नेपाल आउनुहोस् र हाम्रो अर्थतन्त्रमा लगानी गर्नुहोस् जुन तपाईँ र हाम्रा जनताका लागि फाइदाजनक हुनेछ । हामी तपाईँलाई पूर्ण सुरक्षा प्रदान गर्नेछौँ र सुरुदेखि अन्त्यसम्म हाम्रो निरन्तर सहयोगको आश्वासन दिन्छौँ’, उनले भने, ‘विकास र समृद्धिका लागि हाम्रो साझेदारीको कदर गर्नेछौँ । नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने प्रयासमा सहयोग गर्न तपाईँको योगदान उच्च मूल्यवान् हुनेछ । समय सार हो । नेपालमा अपार सम्भावना छ । मलाई विश्वास छ कि हाम्रो साझा प्रयासले हामी फरक पार्न सक्छौँ ।’
माओवादी केन्द्र केन्द्रीय समिति बैठकः आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल
काठमाडौं । हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा आजदेखि राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने छ । हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आज ११ बजेदेखि सुरु हुने दोस्रो दिनको बैठकमा छलफल सुरु हुने महासचिव देब गुरुङले जानकारी दिनुभयो । बोल्न चाहने जति बैठकमा सहभागीहरुले बोल्न पाउने छन् र सबैका लागि तीन मिनेटको समय तोकिएको छ । हिजो अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले सरकारमा रहँदा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान लगायतका विषयमा लिएका सकारात्मक पहल एवं सरकारबाट बाहिरिदै गर्दा गम्भीर आत्मसमीक्षासहित उत्पीडित वर्ग समुदायलाई गरिएको अपिलको परिणाम आज पार्टीप्रति जनतामा नयाँ आशा पलाएको संश्लेषण सुनाउनुभएको थियो । जनतामा पलाएको यो आशा पार्टीका लागि चुनौती र एउटा अवसर बनेर अगाडि आएको उल्लेख गर्दै उहाँले बैठकले रुपान्तरण र पुनर्निर्माणको ठोस योजनासहित कार्यान्वयनको नयाँ सङ्कल्प लिन जरुरी रहेको बताउनुभएको थियो । उहाँले यो विशेष परिस्थितिमा पार्टी एकतालाई सुदृढ गर्नु, जनताका बीचमा गएर अभियानात्मकरुपले जनपरिचालनलाई नयाँ उचाईमा उठाउनु, संगठनलाई यथास्थितिबाट झिकेर अगाडि बढाउनु तथा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानलाई निरन्तर अगाडि बढाउनु आजको आवश्यकता भएको उल्लेख गर्दै अन्ततः आगामी महाधिवेशनमा पार्टीले गर्ने नयाँ वैचारिक संश्लेषणले नै सबै कुराको निधो गर्ने स्पष्ट गर्नुभएको थियो ।
माओवादी केन्द्र केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ । बैठक दिउँसो १ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । त्यसको तयारीका लागि अहिले स्थायी समिति बैठक बसिरहेको छ । आज दिउँसो सुरु हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको समेत सहभागिता रहनेछ ।
युवा नेता न्यौपानेको प्रश्नः कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले विभिन्न सञ्चारमाध्यमले नुवाकोटको शेरादरबारमा तथ्यहिनरुपमा पार्टी अध्यक्ष प्रचण्डलाई जोडेमा आपत्ति जनाउँदै धमिलो पानीमा माछा मार्ने षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा बुँदागतरुपमा नै चिरफार गर्दै भन्नुभएको छ– ‘विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ?’ प्रस्तुत छ न्यौपानले गर्नुभएको शेरादरबारको चिरफारः १. विभिन्न सञ्चार माध्यम र खासगरी लोकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जोडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खोजेको ? २. कुनै तथ्य र प्रमाणविना कथा बनाएर मरिसकेको मान्छे (सीता दाहाल) ले पैसा दिएको भनेर आरोपित गर्नु कतैबाट पनि मिल्ने कुरा होइन । ३. गडबडी बरु कहाँबाट भएको देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ रोपनी छाडेर बाँकी १८१ रोपनी जग्गा ट्रष्ट गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हो । ४. स्वकीय सचिव भएकोबेला (२०६७÷०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिको दुरुपयोग गरि उक्त कम्पनीमा छिरेको भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति होइन भन्ने विषय पनि तलको लेनदेनको प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैरकानुनी रुपमा जग्गा र कम्पनी हत्याएका हुन् भने उनलाई कारवाहीको दायरामा ल्याउन पर्दैन कसले भन्छ ? ५. त्यसयता क. तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेको । ख. जग्गामा हदबन्दी लागेपछि १८१ रोपनी जग्गा गौरीशंकर कृषि फार्म (कम्पनी) मा लगेको । ग. २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएको । घ. २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेको । ङ. २०५५ सालमा सजनी प्रधान, सोहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेको । च. २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेको । छ. २०८० सालमा उक्त कम्पनीको सबै सेर विकेश श्रेष्ठ र उनका छोरा मनोबल श्रेष्ठको नाममा आएको वा उनीहरुले किनेको देखिन्छ । फेरि माओवादी, फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेको ? न कानुनी न त व्यावहारिक ढंगले कतै नभएको र नभेटिएको विषय फर्जी आरोप भएन र ?
संसद छलेर अध्यादेश ल्याउन खोजेकोमा माओवादी केन्द्रको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि पोखेका हुन् । ‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ । म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ । अहिले पुस १९ गते भइसक्यो सर्वथा बेठिक कुरा भइराखेको छ’, उनले भने, ‘सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ । त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ । सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ ।’ बैठकमा ३० जना स्थायी कमिटी सदस्य राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरूले समसामयिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राख्नुभएको छ । सापकोटाले भने, ‘समाजवादी बिचारधारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड छ ।’ बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताए । स्थायी कमिटी बैठक शनिबार पनि निरन्तरता दिइने प्रवक्ता सापकोटाको भनाइ छ । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।