राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ ।विभागले आज एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने छ ।सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा सरकारलाई ९ बुँदे मागपत्र पेश
काठमाडौं – नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारीमाथि भइरहेको आक्रमण, असुरक्षा, सेवा सुविधासम्बन्धी व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ९ बुँदे मागपत्र पेश गरेको छ। संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा आज एक टोलीले मुख्यसचिव एकनारायणश अर्यालसँग भेट गर्दै मागपत्र पेश गरेको हो। हालै तनहुँ र रुपन्देही लगायत विभिन्न स्थानमा जनप्रतिनिधिबाट कर्मचारीमाथि भएको कुटपिटको घटनालाई गम्भीर रूपमा लिँदै संगठनले कर्मचारीको कार्यस्थल सुरक्षा र सेवा प्रवाहको प्रभावकारिताका लागि ठोस नीति ल्याउन माग गरेको छ। संगठनका महासचिव डिलाराम खनालद्वारा हस्ताक्षरित पत्रमा निम्न मुख्य मागहरू उठाइएका छन्: प्रमुख मागहरू: * निजामती सेवाको संरचना र अन्तर्सम्बन्ध – संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक स्पष्टता, तहगत प्रणालीको परिभाषा, चक्रिय सरुवा प्रणाली, र संगठन संरचनाको पुनरावलोकन। * चक्रिय र पूर्वानुमानयोग्य सरुवा प्रणाली – तीन तहमा सरुवा र पदस्थापनको निश्चित नीति लागू गर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्ने। * बढुवा प्रणालीमा सुधार – योग्यता, अनुभव र कार्यसम्पादनमा आधारित पारदर्शी बढुवा प्रणाली अवलम्बन गर्ने। * अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सुरक्षाको ग्यारेन्टी – करारमा कार्यरत कर्मचारीहरूको स्थायीत्व सुनिश्चित गर्दै उनीहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गर्ने। * पदावधि, उमेर हद र सेवा सुविधा – मुख्य सचिवको पदावधि २ वर्ष, सचिवको ३ वर्ष, अनिवार्य अवकाश उमेर ६० वर्ष कायम गर्ने। * सेवा सुविधा पुनरावलोकन – तलब, भत्ता, सेवा सुविधामा न्यायोचित समायोजन गरी स्वतः वृद्धि हुने कानुनी व्यवस्था गर्ने। * ट्रेड युनियन अधिकार – संघ, प्रदेश र स्थानीय तहमा एकीकृत आधिकारिक ट्रेड युनियनको स्थापना गर्ने। * राष्ट्रसेवक कर्मचारीलाई उत्पादनसँग जोड्ने – राष्ट्रसेवक कल्याण कोष स्थापना गरी कर्मचारीको सहकारी, उद्योग, र लगानीमा संलग्नता बढाउने। * समसामयिक प्रशासनिक सुधार – सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउन अनलाइन सेवा, टोकन प्रणाली, खरिद प्रक्रियामा अनुगमन, र नागरिक बडापत्र लागू गर्ने। संगठनले यस्ता मागहरू सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। पढ्नुस विस्तृतमा श्रीमान मुख्य सचिवज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदारवार, काठमाडौँ । विषयः ध्यानाकर्षण सम्बन्धमा । मिति २०८१ साल फाल्गुन ०५ गते सोमबारका दिन तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री बल बहादुर गुरुङ्गले सोही वडामा कार्यरत वडा सचिव श्री नविन भुसाललाई कार्यस्थलमै घाँटी अठ्याउँदै कुटपिट गरेका छन । त्यसैगरी, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का वडा अध्यक्ष श्री करम हुसेन खानले शिक्षा शाखा प्रमुख श्री मधुप्रसाद घिमिरेमाथि हातपात गरेका छन । स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू माथि गम्भीर अवस्थामा पुग्ने गरी गुण्डागर्दी शैलीमा कुटपिट गर्नु कानुनी राज्यको ठाडो उपहास हो । सार्वजनिक सेवा प्रवाहलाई ऐन-नियमअनुसार सञ्चालन गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै भएका यस्ता अमानवीय व्यवहारले कर्मचारी सुरक्षामा गम्भीर प्रश्न त उठाएकै छ, र साथै यसप्रकारका घटनाले कर्मचारीको मनोबल घट्न गइ सेवाप्रवाह समेत प्रभावित भएको छ । कर्मचारीहरूलाई कार्यालयमा अनुकुल कार्य वातावरण उपलब्ध गराउन सके मात्र कर्मचारीहरूले तोकिएको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्ने र सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्दछन । यस्ता अपराधिक घट्नाले हामी सम्पूर्ण कर्मचारीहरुलाई कति सुरक्षित वातावरणमा काम गरिरहेका छौँ भन्ने गम्भीर सवाल उत्पन्न भएको छ । यस्ता अपराधिक घटना दोहोरिन नदिन र राष्ट्रसेवक कर्मचारीहरूको कार्यथलो र जिउ ज्यानको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले विगत ८ वर्षदेखि सङ्घीयताको प्रशासनिक कार्यान्वयनको चरणमा कर्मचारी समायोजनबाट उत्पन्न समस्याको पहिचान गरी समाधान गर्न तीन तहको सरकारी सेवालाई निजामती सेवाको परिभाषाभित्र समेटिनु पर्ने, तहगत प्रणालीको अवलम्बन गर्नुपर्ने, अन्तरप्रदेश/अन्तरनिकाय सरुवा चक्रीय तथा पूर्वानुमानयोग्य हुनुपर्ने, एकीकृत ट्रेड यूनियन अधिकारको व्यवस्था गर्नुपर्ने जस्ता विषयहरू जोडदार रूपमा उठाउँदै आएको व्यहोरा स्मरण गराउँदै यी घटनाहरूपश्चात झनै अनिवार्य भएको प्रमाणित गरेको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले संघीय निजामती सेवालाई स्वच्छ, निष्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन र संघीयताको प्रभावकारी कार्यान्वयन गर्न देहायका मागहरू सहित यो ध्यानाकर्षण पत्र पेश गर्दछौं । हाम्रो सङ्गठनले पेश गरेका मागहरूलाई सम्बोधन गरी नेपालको सार्वजनिक प्रशासन सुधार गर्न जोडदार माग गर्दछौं । उक्त मागहरूको अवमूल्यन गरी सम्बोधन नभएमा चरणवद्व आन्दोलन गरी सार्वजनिक प्रशासनमा सुधारमा लाग्न बाध्य हुने समेत जानकारी गराउदछौँ । मागहरू १) सङ्घीय, प्रदेश र स्थानीय तहको निजामती/सरकारी सेवा र यिनीहरू बिचको अन्तर्सम्बन्ध । क) तहगत प्रणाली र परिभाषा: संघ, प्रदेश र स्थानीय सेवालाई सरकारी सेवा/निजामती सेवाको रूपमा परिभाषित गरी तीनै तहमा तहगत प्रणाली कायम गरिनु पर्ने । ख) संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप, प्रशासकीय स्वेच्छाचारिता र ट्रेडयुनियनको हस्तक्षेपबाट मुक्त प्रशासन निर्माण गर्न पुर्वानुमानयोग्य एवं चक्रिय सरुवा प्रणालीको अवलम्बन गरिनुपर्ने । ग) सङ्गठन संरचना र दरबन्दी सर्भेक्षण: संघ प्रदेश र स्थानीय तहमा संविधानको भावना र मर्म अनुरूप भौगोलिक अवस्था र जनसंख्या समेतलाई दृष्टिगत गरी सङ्घीय निजामती सेवा ऐन जारी भएको तीन महिनाभित्र तीनै तहको सङ्गठन संरचना र दरबन्दी सर्भेक्षण गरी उपयुक्त दरबन्दी कायम गर्नुपर्ने । ङ) हाल निजामती सेवामा बहाल रहेको कर्मचारी सङ्घ, प्रदेश वा स्थानीय तहको कुनै पनि तहमा खुल्ला/अन्तरतह/आन्तरिक प्रतिस्पर्धा वा बढुवाद्वारा पदस्थापना भएमा निजको सेवा अविछिन्नता एवं निजको उपदान तथा निवृत्तीभरण सम्बन्धमा निजको हकमा हाल कायम रहेको व्यवस्था नै लागू हुनुपर्ने । यसबाट सङ्घमा कार्यरत अनुभवी तथा दक्ष कर्मचारीहरू खुल्ला तथा अन्तरतह प्रतियोगिताबाट प्रदेश तथा स्थानीय तहमा जाने वातावरण निर्माण हुने । २) पूर्वानुमानयोग्य एवं चक्रिय सरूवा प्रणाली सम्बन्धी व्यवस्था क) सङ्घीय निजामती सेवामा कार्यरत कर्मचारीहरूको सरुवा\पदस्थपन: सङ्घीय निजामती सेवा ऐन जारी भएको तीन महिनाको समयावधिसम्म वा संगठन संरचना र दरबन्दी सर्भेक्षणको काम सम्पन्न नभएसम्मको अवधिका लागि सङ्घीय निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई सेवा समूह सञ्चालन गर्ने मन्त्रालयमा अतिरिक्त दरबन्दी स्वत: कायम हुने गरी पदस्थापन गर्नुपर्ने र संगठन संरचना र दरबन्दी सर्भेक्षणको काम सम्पन्न भएपछि अतिरिक्त दरबन्दीमा पदस्थापन भएका कर्मचारीहरूलाई कम्तीमा दुई कार्यावधिको लागि चक्रिय र पूर्वानुमानयोग्य प्रणाली कायम हुने गरी सरुवा\पदस्थापन गरिनुपर्ने । ख) प्रदेश निजामती सेवाका कर्मचारीहरूको सरुवा\पदस्थापन: सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात प्रदेश तहको संगठन संरचना र दरबन्दी सर्भेक्षण गरी उपयुक्त दरबन्दी कायम गर्न लाग्ने तीन महिनाको समयावधिसम्म प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त दरबन्दी स्वत: कायम हुने गरी पदस्थापन गर्नुपर्ने र सङ्गठन संरचना र दरबन्दी सर्भेक्षणको काम सम्पन्न भएपछि कम्तिमा दुई सेवा अवधिको लागि चकृय पुर्वानुमानयोग्य हुने गरी पदस्थापन\सरुवा गर्नुपर्ने । ग) स्थानीय निजामती सेवाका कर्मचारीहरूको सरुवा\पदस्थापन: स्थानीय तहको संगठन संरचना र दरबन्दी सर्भेक्षण कायम गर्न लाग्ने समयावधि तीन महिनासम्मको लागि स्थानीय निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त दरबन्दी स्वत: कायम हुने गरी पदस्थापन गर्नुपर्ने र स्थानीय तहको संगठन संरचना र दरबन्दी सर्भेक्षणको काम सम्पन्न भएपछि कम्तिमा दुई सेवा अवधिको लागि चक्रिय एवं पुर्वानुमानयोग्य प्रणाली अनुरूप पदस्थापन\सरुवा गर्नपर्ने । घ) अन्तरप्रदेश सरुवा: कर्मचारी समायोजन ऐन, २०७५ वमोजिम प्रदेश र स्थानीयतहमा समायोजन भएका, समायोजन ऐन बमोजिम नियुक्त भएका र प्रदेश निजामती सेवा ऐन बमोजिम प्रदेश र स्थानीय तहमा नियुक्त कर्मचारीहरूलाई एक तहमा एकपटकका लागि अन्तरप्रदेश सरुवा गर्न सङ्घीय निजामती सेवा ऐनमा व्यवस्था गरिनुपर्ने । ङ) सङ्घ, प्रदेश र स्थानीय तहमा पदस्थापन भएका प्रमुख सचिव/सचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको विशेष परिस्थिति बाहेक कम्तिमा एक वर्ष अनिवार्य सम्बन्धित निकायमा काम गर्नुपर्ने व्यवस्था गरिनुपर्ने । ३) योग्यता, अनुभव र कार्यसम्पादनमा आधारित बढुवा प्रणाली: क) सार्वजनिक प्रशासनलाई उत्प्रेरणा प्रदान गर्न योग्यता, अनुभव र कार्यसम्पादनमा आधारित पुर्वानुमानयोग्य बढुवा प्रणालीको अवलम्वन गर्न सङ्घीय निजामती सेवा ऐनमै व्यवस्था गरिनुपर्ने । ख) सहकारितामा आधारित सङ्घीयताको भावना र मर्म अनुरूप स्थानीय निजामती प्रशासनलाई सार्वजनिक प्रशासनको आधारशिलाको रुपमा विकास गर्न स्थानीय निजामती सेवाबाट प्रदेश निजामती सेवा र प्रदेश निजामती सेवाबाट सङ्घीय निजामती सेवामा आउन सक्ने गरी अन्तरप्रतियोगिता तथा अन्तरतह बढुवा प्रणालीको व्यवस्था गरिनुपर्ने । ग) पाँच वर्ष वा सोभन्दा बढी एउटै पदमा कार्यरत कर्मचारीहरूलाई एक तह बढुवा र १० वर्ष वा सोभन्दा बढी एउटै पदमा कार्यरत कर्मचारीहरूलाई दुई तह बढुवा हुने गरी पुर्वानुमानयोग्य वढुवा प्रणालीको व्यवस्था गरिनुपर्ने । ४) अस्थायी, करार तथा ज्यालादारी कर्मचारी सम्बन्धी व्यवस्था: क) सङ्घ, प्रदेश र स्थानीय तीनै तहका कर्मचारीहरू माथि सेवा करारको नाममा ठेकदारी प्रथा मार्फत भइरहेको श्रम शोषणको अन्त्य गरिनुपर्ने । ख) अस्थायी, करार र ज्यालदारी कर्मचारीहरूको सेवाको सुरक्षा सङ्घीय निजामती सेवा ऐनमै व्यवस्था गर्न पहल गर्नुपर्ने । ग) करारमा कार्यरत सबै कर्मचारीहरूलाई स्थायी कर्मचारीहरूले पाए सरहको सेवा सुविधा सहित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आवद्ध गरिनुपर्ने । घ) समयावधि तोकिएका परियोजनाहरू बाहेक निजामती सेवाका अन्य कुनै पनि पदमा करारमा कर्मचारीहरू भर्ना नगर्ने र समयावधि तोकिएका यस्ता परियोजनाहरूमा आवधिक रूपमा कर्मचारीहरू भर्ना गर्दा लोकसेवाको अस्थायी सुचीलाई प्राथमिकता दिने व्यवस्था गरिनुपर्ने । ङ) लामो समयसम्म वा आफ्नो उर्जावान समय सरकारी सेवामा बितायका करारमा कार्यरत कर्मचारीहरुलाई प्रक्रिया पुर्याइ स्थायी गर्ने र उक्त प्रक्रियामा सहभागी नहुने वा स्थायी हुननसक्ने कर्मचारीलाई उपदान दिई अवकास दिने । च) नियमित कार्यालय समय बाहेक अत्यावस्यक सेवा प्रवाहमा खटिने, जोखिमपूर्ण काम एवं जोखिमपूर्ण भूगोलमा खटिने कर्मचारीहरुलाई कार्य प्रकृतिको आधारमा कार्यसम्पादन भत्ताको व्यवस्था गर्न पहल गरिनुपर्ने । ५) पदावधि, उमेरहद र सेवा सुविधा सम्बन्धी व्यवस्था । क) नेपाल सरकारको मुख्य सचिवको पदावधि दुई वर्ष र सचिवको पदावधि तीन वर्ष कायम गरिनुपर्ने । ख) सङ्घ, प्रदेश र स्थानीय तहको सरकारी सेवामा सेवा प्रवेश उमेर हद ४० वर्ष र अनिवार्य अवकासको उमेर हद ६० वर्ष कायम कायम गरिनुपर्ने । ग) प्रदेश तथा स्थानीय तहमा समायोजन हुँदा तह वृद्धि भई समायोजन भएका कर्मचारीहरूले आवकाश पश्चात प्राप्त हुने सेवा सुविधा वृद्धि भएको तह वमोजिम नै पाउनुपर्ने । साथै, प्रदेश तथा स्थानीय स्तरवृद्धि भई गएको तर सो समायोजन भएको तहमा थप तह वृद्धि नलिएको कर्मचारीक हकमा निजामती सेवा ऐनले १५ वर्ष सेवा अवधि भएको कर्मचारीहरूलाई स्वतः एक तह वृद्धिको सेवा सुविधा कायम हुनुपर्ने । ६) सेवा सुविधा पुनरावलोकन सम्बन्धी व्यवस्था क) उच्चस्तरीय तलब सुविधा निर्धारण आयोग (लिलामणि पौडेलको नेतृत्वमा गठन) को प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कर्मचारीहरूको तलब, भत्ता लगायत सुविधाको पद सोपानिक मर्यादाक्रम अनुसार समसामयिक समायोजन गर्ने । ख) राज्यको आर्थिक क्षमता र अवस्थाको आधारमा सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारी कर्मचारीको तलब सुविधा न्यायोचित समायोजन गरी तलब तथा अन्य सेवा सुविधा ऐन द्वारा स्वत: वृद्धि हुने व्यवस्था गर्न पहल गर्नुपर्ने । ७) ट्रेडयुनियन अधिकार र अन्तर्सम्बन्ध सम्बन्धी व्यवस्था क) संघ, प्रदेश र जिल्ला तीन तहको आधिकारिक ट्रेडयुनियन र राष्ट्रियस्तरका ट्रेडयुनियन विच वैचारिक प्रतिस्प्रधामा आधारित पुर्ण समानुपातिक निर्वाचन प्रणालीको माध्यमवाट एकीकृत आधिकारिक ट्रेडयुनियनको व्यवस्था सङ्घीय निजामती सेवा ऐनमा गरीने छ। ख) जहाँ सरकार तहा ट्रेडयुनियनको अवधारणा बमोजिम संघ, प्रदेश, जिल्ला र पालिका चार तहको ट्रेडयुनियन अधिकार संगठनको नीति हुने छ सोही बमोजिम सङ्घीय निजामती सेवा ऐनमा व्यवस्था गर्न पहल गरीने छ। ८) तीन तहको राष्ट्र सेवाक कर्मचारीलाई राष्ट्रिय अर्थतन्त्रको साझेदार बनाउने सम्बन्धी व्यवस्था क) स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहित गर्न देहायका विषयहरूलाई सङ्घीय निजामती सेवा ऐनमै व्यवस्था गर्नुपर्ने । अ) सरकारी कर्मचारीहरूलाई उत्पादनसँग जोड्ने अभियान सञ्चालन गर्न तीनै तहका सरकारी कर्मचारी र राज्यको संयुक्त योगदानमा "राष्ट्रसेवक कल्याण कोष" को स्थापना गर्नुपर्ने । आ) उक्त “राष्ट्रसेवक कल्याण कोष” मार्फत राष्ट्रसेवक शिक्षण अस्पताल सञ्चालन र विस्तार गर्ने, राष्ट्र सेवक बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, कपडा उद्योग, जुत्ता उद्योग, कागज उद्योग जस्ता उत्पादनमुलक उद्योग स्थापना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने । इ) स्वदेशी उत्पादन बढाई आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न निजामती तथा सरकारी कर्मचारीहरूले वस्तुको उत्पादन, प्रशोधन र वितरणको क्षेत्रमा सामुहिक रूपमा लगानी गर्ने गरी सहकारी संस्था, पब्लिक कम्पनी वा साझेदार प्राइभेट कम्पनी स्थापना गर्न सेयर सदस्य, संस्थापक वा सञ्चालक हुन पाउने व्यवस्था गर्न पाउनु पर्ने । ९) समसामयिक विषयवस्तु सम्न्धमा हाल पदपूर्तिको चरणमा रहेको कुल स्वीकृत दरबन्दी २३५७ भएको रा.प. तृतीय श्रेणी, शाखा अधिकृत पदको सम्बन्धित मन्त्रालय/ आयोग र अन्य निकायबाट प्राप्त भएका माग आकृति फारम अनुसार ४२६ शाखा अधिकृतको पद रिक्त देखिएकोमा, विज्ञापन हुँदा ८४ पदहरूलाई रिक्त देखाई विज्ञापन भएको देखिएको छ । यस सम्बन्धमा हाल कायम दरबन्दी र हाल कार्यरत कर्मचारी साथै हाल रिक्त र यस आर्थिक वर्षमा रिक्त हुने पदहरु समेत गणना गरी कुल रिक्त दरबन्दी कायम गरी सम्मानित अदालतको आदेशानुसार अबिलम्व पदपुर्ती सम्बन्धी प्रक्रिया अगाडी बढाउनु पर्ने । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने । समायोजन पश्चात राष्ट्र सेवाक कर्मचारीहरूलाई हँदै आएका अपमान, ज्यादति, कुटपीट, कालोमोसो दल्ने जस्ता आपराधिक गतिविधि गर्नेहरू माथि तत्काल कानुनी कार्वाही गरी सार्वजनिक गर्नुपर्ने । सार्वजिनक सेवाको चुस्तता र पारदर्शिता कायम गर्न, अनलाइन सेवा विस्तार गर्ने, टोकन प्रणाली लागू गर्ने, अनलाइन पेमेन्टको व्यवस्था गर्ने, निर्णयको तह घटाउने, निर्णयको समयसीम अनिवार्य रूपमा तोक्ने, सेवा माग फारमहरूलाई सरलीकृत गर्ने, सार्वजनिक निर्माण एवं खरिदमा गुणस्तर नियन्त्रण संयन्त्रको विकास गर्ने र सार्वजनिक काम कार्वाहीमा सार्वजिनक लेखा परीक्षणलाई अनिवार्य गर्ने व्यवस्था गरिनुपर्ने । सार्वजनिक खरिदमा खरिदकर्ता र बिक्रेता दुवैले खरिद बिक्री भएको सामानको स्पेशिफिकेशन सहित अनलाइनमा प्रविष्ट गर्ने र सरकारी कार्यालयले खरिद गरेको वस्तुको बिक्रेताले सो वस्तु बिक्री गरेको वार्षिक विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने । क्षतिपूर्ति सहितको नागरिक बडा पत्र अनिवार्य गर्ने । .......................... (डिलाराम खनाल) महासचिव
गत वर्षभन्दा यो वर्ष किन बढ्यो नेपालको भ्रष्टाचार ?
काठमाडौं । विश्वव्यापी रूपमा भ्रष्टाचारको अवस्था मूल्यांकन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले नेपालमा भ्रष्टाचार कायमै रहेको रिपोर्ट सार्वजनिक गरेको छ । टिआईले जारी गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) स्कोर अघिल्लो वर्षको भन्दा एक अंकले खस्किएर ३४ कायम भएको हो । यो सूचकांकमा १० अंकले अति स्वच्छ र शून्यले अति भ्रष्ट मुलुक जनाउँछ । टिआई नेपालले मंगलबार सिपिआई जारी गर्दै भनेको छ, ‘नेपालको यसपटकको सिपिआई स्कोर घटेको छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध प्रभावकारी रूपले कामकारबाही अघि बढाउन अत्यन्त जरुरी भएको औँल्याउँछ ।’ सिपिआई सर्वेक्षणमा विश्वका दुईतिहाइ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन् । सर्वेक्षण गरिएका १८० मुलुकको औसत सिपिआई स्कोर ४३ मानिएको छ । त्यसभन्दा मुनिको अंक प्राप्त गर्ने देशमा बढी भ्रष्टाचार भएको मानिन्छ । ‘भ्रष्टाचार सूचकांकमा नेपालको अंक ग्लोबल एभरेज (विश्व औसत)भन्दा कम छ,’ टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले भने, ‘ग्लोबल एभरेजमुनि दुई–तीन अंक तल–माथि हुनुले तात्विक फरक पार्दैन । कम्तीमा ३८ अंकभन्दा माथि गएको अवस्थामा मात्र सुधार भयो भन्ने अवस्था रहन्थ्यो ।’ सिपिआई अंकका आधारमा विश्वका १८० देशमा नेपाल १०७औँ स्थानमा छ । अघिल्लो वर्ष सन् २०२३ मा नेपाल १०८औँ स्थानमा थियो । यसले स्थानमा नेपालको एक अंक सुधार भएको देखाउँछ । तर, यो स्थान अन्य देशमा भ्रष्टाचार कस्तो छ भन्ने विषयले निर्भर रहने हो । नेपालकै विगत र अहिलेको भ्रष्टाचारको अवस्था दर्शाउने भनेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) ले नै हो । टिआईले विभिन्न देशको सिपिआई तयार गर्दा १३ वटासम्म अन्तर्राष्ट्रिय सर्वेक्षणका तथ्यांकलाई आधार मान्ने गरेको छ । नेपालको सूचकांक भने तीमध्येका ६ वटा विख्यात अन्तर्राष्ट्रिय संस्थाका सर्वेक्षणको आधारमा निकालिएको छ । त्यसमा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र मेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भिडिइएम) छन् । यी संस्थाले विभिन्न क्षेत्र समेटेर गरेको सर्वेक्षणको अंकको आधार लिएर समग्रतामा सूचकांक निकालिएको हो । ‘यस वर्ष विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वर्ल्ड इकोनोमिक फोरम र ग्लोबल इन्साइटको सर्वेक्षणका तथ्यांकले मूलतः निर्यात, सेवा, कर, ठेक्का व्यवसाय, आयातजस्ता सरकार र व्यावसायिक क्षेत्रसम्बन्धी कार्यका साथै न्यायिक निर्णयमा भ्रष्टाचार बढेको देखिन्छ,’ टिआई नेपालले भनेको छ । २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) प्रतिवेदनले नेपालमा व्यापार, ठेक्कापट्टादेखि सार्वजनिक सेवा र न्यायिक निर्णयमा भ्रष्टाचार व्याप्त रहेको औँल्याएको छ । सर्वेक्षणबाट यी क्षेत्रमा साबिकको तुलनामा भ्रष्टाचार बढेकोसमेत देखिएको छ । वर्ल्ड इकोनोमिक फोरमले आयात, निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्वेक्षण गरेको थियो । यसमा नेपालले अघिल्लो वर्ष पाएकोभन्दा आठ कम अर्थात् ३० अंक प्राप्त गरेको छ । यो अंक विगत आठ वर्षयताको सबैभन्दा न्यून हो । ग्लोबल इन्साइटले गरेको व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयात–निर्यातमा घुस र भ्रष्टाचारसम्बन्धी सर्वेक्षणको अंक पनि घटेको छ । यो शीर्षकमा नेपालले विगत नौ वर्षयताकै न्यून अंक अर्थात् ३२ पाएको छ ।
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी, ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीन वटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।
सिंचाईका इञ्जिनियरसँग १६ करोड सम्पत्ति भेटिएपछि भ्रष्टाचार मुद्दा
काठमाडौं । जलस्राेत तथा सिँचाइ विभाग वा अन्तर्गतका विभिन्न कार्यालयहरूमा काम गरेका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले त्यसबराबरको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गरेको हो। ३० असार ०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार ०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो। उनीसँग कुल १६ करोड १३ लाख पाँच हजार ५२८ रुपैयाँबराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ। आयोगले सम्पत्ति जफतका लागि उनकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ।