कांग्रेस महासमिति बैठक सुरु हुँदै
गगन थापाको सांगठनिक प्रतिवेदनमा सहमति जुटेन
काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो एक बजे उदघाटन गर्ने कार्यक्रम छ ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ ।
बैठकमा आधिकारिक प्रतिनिधिको संख्या २ हजार १०५ भए पनि सहभागीको संख्या २ हजार ५ सय बढी पुग्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना बैठकमा सहभागी हुने छन् । ७७ जिल्लाका पार्टी सभापतिहरु बैठकमा सहभागी हुनेछन् ।
महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका तीन जिल्लाका सदस्य टुंगो लगाउन निर्वाचन समिति प्रयासरत रहेको विश्वकर्माले जानकारी दिए ।
महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । त्यसैले पार्टीका व्यवसायिक व्यक्तिहरुबाट चन्दा संकलन पनि गरिएको कांग्रेसले जनाएको छ ।
महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नुपर्ने छ । उदघाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैंले गर्नुपर्ने छ । अन्य दिनमा भने बिहानको नास्ता र खाना पार्टीले खुवाउने छ ।
महासमिति बैठकस्थलबाट आवाससम्म पुग्नका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।
महामन्त्री थापाको प्रतिवेदनमा अझै जुटेन सहमति
महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको सांगठनिक प्रतिवेदनमा भने अझै सहमति जुट्न सकेको छैन ।
महान्त्री थापाले तयार गरेको प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनअघि नै गठबन्धन नगर्ने संकल्प गर्नु पर्ने उल्लेख छ । उक्त प्रस्तावलाई हटाउनु पर्ने कांग्रेसको संस्थापन पक्षको माग छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएपछि प्रतिवेदनको टुंगो नलागेको हो ।
सभापति देउवाले असहमति जनाएपछि महामन्त्री थापाले शनिबार साँझ र आइतबार छलफल गरेका थिए तर सहमति हुन सकेन ।
महामन्त्री थापा आज फेरि सभापति देउवा निवास बूढानीलकण्ठमा छलफलका लागि पुगेका छन् ।
सभापति देउवाले उक्त प्रस्ताव हटाउन चाहेका छन् भने महामन्त्री थापाले नहटाउने अडानमा हुँदा प्रतिवेदनमा सहमति जुट्न नसकेको हो ।
सभापति रबि निलम्बन पछि बसेको रास्वपा सचिवालय बैठकले गर्यो यी तीन निर्णय
काठमाडौँ । सभापति रबि लामिछानेलाई संसद सचिवालयले निलम्बन गरेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ । यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।
संसद सचिवालयमा टासियो रवि निलम्बनमा परेको सूचना
काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रविलामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न लगाएका छन्। सभामुखको निर्णयपछि संसद सचिवालयले सूचना टाँस गरेको छ। सूचनासँगै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरे।
लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज पोखरा जिल्ला अदालतमा मुद्धा दर्ता गर्न लागिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने ९० दिन देखि हिरासतमा रहेका छन् । गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक (एमडी) लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ परेका छन्।
संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै
काठमाडौं । शुक्रबार (आज)संघीय संसद्का ४ वटा समितिको बैठक बस्दैछ । सबै समितिको बैठक, सिंहदरबारस्थित कार्यालयमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ, जुन बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ, जसका लागि बिहान ११ः०० बजे बैठक बोलाइएको छ । उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न १२ः३० बजे बोलाइएको छ । जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिका सदस्यहरूले विभिन्न स्थानमा गरेका स्थलगत अनुगमन प्रतिवेदन माथि र समितिको आगामी कार्यक्रम सम्बन्धमामा छलफल गर्नका लागि बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।