भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबिच भगिनी सम्बन्ध कायम

भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबिच भगिनी सम्बन्ध कायम

चितवन। भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बिच भगिनी सम्बन्ध कायम भएको छ। बुधवार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गरे।

सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ। दुई पक्षबिचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ।

सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सुभ्ली, भरतपुर र उत्तर ढाकाबिच पनि हस्ताक्षर भएको थियो। यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटरी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो।

सो अवसरमा दुई देश बिचको सम्बन्धलाई नयाँ उचाइमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बिचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो। दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो। सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठुला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गरे।

भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत् सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरेकी थिइन्। उनले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विशेष आभार प्रकट गरिन्। सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बिचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ्ग छिङ्ग सिटी र भरतपुर महानगरबिच सुमधुर सम्बन्धको सुरुवात भएको बताइन्।

भरतपुरमा केही महत्त्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटेल तथा कृषिजन्य उद्योगहरू स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ्ग छिङ्ग सिटी र व्यवसायकी घरानालाई आग्रह पनि गरिन्। चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उनले बताइन्। साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिइन्।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई।साकार लामा, सूचना तथा वैदेशिक समन्वय शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो।

एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्।  गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो।  बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।  यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

बागमतीसहित यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने जनाएको छ। देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

लोकप्रिय