बालेनप्रति भट्टराईको टिप्पणीः उनी नेपालका लागि खतरनाक हुनसक्छन्

बालेनप्रति भट्टराईको टिप्पणीः उनी नेपालका लागि खतरनाक हुनसक्छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ । 

‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’ प्रमुख सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा भट्टराईले भने, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो  देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’

यद्यपि देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उनको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताए ।  

एमाले र कांग्रेसको शक्ति घट्ने विश्लेषण
भट्टराईले ०८४ पछि  एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने पनि विश्लेषण गरे । उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले नै दिने उनको जिकिर थियो ।  तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भने, ‘यो स्पेस अहिले खाली नै छ । ‘अन्नोन’ कुनै पात्र आउन पनि सक्छ ।’

प्रचण्ड धेरै पर पुगिसके

उनले आगामी दिनमा माओवादीसँग एकता हुन कठिन रहेको समेत बताए। ‘प्रचण्ड धेरै पर पुगिसक्नु भयो’, उनको भनाइ थियो, ‘मुद्दामा मिलेर जान सकिएला ।’

यस्तै भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताए । तर, त्यस्ता आयोगमा भ्रष्ट प्रवृत्तिकै मान्छे आएमा समस्याको समाधान नहुने उनको भनाइ थियो । 

यस्तै भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गरे । 

ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको प्रचण्डद्वारा खण्डन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

आज सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ। बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।

दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्दै विप्लव

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्न थाल्नुभएको छ । उहाँले प्रदेश राजधानी देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया गरिरहनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी दाङले कार्यक्रमको आयोजना गरेको हो ।

रास्वपाले भोलिदेखि काठमाडौंकेन्द्रित प्रदर्शन गर्ने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।  पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिनुभयो  । उहाँका अनुसार पोखराको आन्दोलन आज अन्तिम हो ।’  

लोकप्रिय