इजरायलको क्रूरता रोक्न विश्व समुदायलाई आह्वान

इजरायलको क्रूरता रोक्न विश्व समुदायलाई आह्वान

काठमाडौं । नेपालका विभिन्न राजनीतिक पार्टी र नागरिक अधिकारकर्मीहरूले लेबनानी जनताविरुद्ध इजरायलले गरेको क्रूर र बर्बर युद्ध तत्काल बन्द गर्न माग गरेका छन् । बुधबार राजनीतिक पार्टीका नेता र अधिकारकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो प्यालेस्टिनी तथा लेबनानी जनताको भूअखण्डता र सार्वभौम अधिकारको सम्मान गर्दै उनीहरूको न्यायपूर्ण आवाजप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।

यसरी ऐक्यबद्धता जनाउनेहरूमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी मसाल,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् भने नागरिक अधिकारकर्मीहरुमा डा. महेश मास्के,डा. गणेश गुरुङ,शरद वन्त, डा. सञ्जीव उप्रेती, श्याम श्रेष्ठ लगायत छन् ।उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इजरायलको बर्बरतापूर्ण हिंसाविरुद्ध प्यालेस्टिनी तथा लेबनानी जनताका पक्षमा देशको मत अभिव्यक्त गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

nullnull

उनीहरूले जीवनमाथि खेलबाड हुनेगरी मृत्युको धराप जस्तो भएको इजरायल, गाजा र लेबनानमा नेपालीहरूलाई नजान आह्वान गर्दै युद्ध चलिरहुन्जेल श्रमको सिलसिलामा इजरायल र लेबनान गएका नेपालीको जीवनरक्षाको लागि नेपाल फर्काउने कदम चाल्न तथा तुरुन्तै पठाउन लागेको नेपाली श्रमिकलाई निश्चित समय रोक्न सरकारलाई अपिल गरेका छन् ।

विपिन जोशीलाई यथाशीघ्र नेपाल फर्काउनका लागि कूटनीतिक/ राजनीतिक सम्बन्धका सबै उपाय अपनाउन समेत उनीहरूले सरकारलाई आग्रह गरेका छन् । ‘राष्ट्रसंघीय शान्तिसेनामाथि इजरायलले थालेको आक्रमण तुरुन्त रोक्न हामी आग्रह गर्दछौ । साथै, न्याय र शान्तिको पक्षमा उठेको विश्वव्यापी आवाज, अन्तर्राष्ट्रिय नियम मर्यादाको उल्लंघन गर्ने, युद्ध अपराध गर्ने, तथा गाजा क्षेत्रमा चरम मानवीय सङ्कट सिर्जना गर्ने इजरायलको अन्धयहुदीवादी सरकारलाई सशक्त कारबाही गर्न विश्व समुदायलाई आह्वान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । 

डडेल्धुरामा बस दुर्घटनाः सुत्केरी र नाबालकसहित चारको मृत्यु

डडेल्धुरा । बुधबार मध्यरातमा डडेलधुराको अमरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा दुई दिनकी सुत्केरी २१ वर्षीया कमला बोरोरा र उनका नाबालक छोरासहित ४ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति १२ बजेर ३० मिनेटमा खस्रेखानमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ३ की कमला र उनका दुई दिनका नाबालक छोराको मृत्यु भएको हो। बैतडी जिल्लाको पुर्चौडी नगरापालिका ३ का चार जनाको मृत्यु भएकाले मृतक सबै एउटै परिवारको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका ३ कै ४५ वर्षीया जैमती बोहोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ। दुर्घटनास्थलबाट उपचारको लागि डडेलधुरा अस्पतालमा पुर्याउँदा चिकित्सकले चार जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक बमको भनाइ छ। उनका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको हो। जैमती, सहदेव र कमलाको सम्बन्ध भने खुलिसकेको छैन। एउटै थर र गाउँ मिलेकाले सबै एउटै परिवारको हुनसक्ने अनुमान प्रहरीले गरेको हो। प्रहरी निरीक्षक बमका अनुसार १२ घाइतेमध्ये दुई जनालाई डडेलधुरा अस्पतालबाट धनगढी रेफर गरिएको छ। पुर्चौडी ३ कै २४ वर्षीय वीरेन्द्र बोहरा र २१ वर्षीय मुकुन्द बोहरालाई उपचारका लागि धनगढी पठाइएको हो। उनीहरुको आँखा, मुख र कम्मरमा गम्भीर चोट लागेको छ। अन्य १० जना घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइराखेको छ। दुर्घटना लगत्तै उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित भएको थियो।

नेपालबाट झण्डै चार महिनापछि बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णरुपमा बहिर्गमन भएको हो ।  एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेश र कोशी प्रदेशबाट पनि अब बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो । यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्णरुपमा र बागमती र मधेशमा आंशिकरुपमा मनसुन बाहिरिएको थियो । आज भने मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो । यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन शुरू भएकोमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वर्ष मनसुन नेपालमा चार महिनासम्म सक्रिय भएर बाहिरिएको छ ।

दसैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम पूर्णिमासम्म

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय स्थानमा विजयादशमीको दिनमात्र टीका लगाउने चलन भए पनि कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने गरिन्छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

भारतबाट फर्कनेको लर्कोः जमुनाहा नाकाबाट मात्रै दुई लाख भित्रिए

नेपालगञ्ज । नेपालगन्ज, असोज २५ गते । दसैँ र तिहार मनाउन यहाँस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् ।  इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी अनुसार असोज १ गतेदेखि हालसम्म चाडपर्व मनाउन जमुनाहा नाका भएर दुई लाख ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।  इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारी र अध्ययनका लागि भारतका विभिन्न ठुलठुला सहरमा गएका नेपालीहरू चाडपर्व मनाउन हुलका हुल स्वदेश फर्किएको बताउनुभयो ।  उहाँले गत भदौदेखि नै चाडपर्व मनाउन नेपालीहरू देश फर्किने क्रम सुरु भए पनि असोज १ गतेबाट ठुलो सङ्ख्यामा फर्किएको जनाउँदै यो नाकाबाट दुई लाख ५५ हजार १५६ जना नेपाली स्वदेश फर्किएको बताउनुभयो ।  रिक्सा, ई रिक्सा, बस, हाइस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा नेपाल प्रहरीले सचेतना अभियान चलाउनुका साथै सहायता कक्ष पनि सञ्चालन गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताउनुभयो ।  उहाँले चाडपर्व मनाउन स्वदेश फर्किनेलाई सहज रूपमा नाका पार गर्ने वातावरण बनाइएको जनाउँदै त्यसका लागि सीमापारि भारतीय सुरक्षा नाकामा तैनाथ सुरक्षाकर्मीसँग पनि समन्वय गरिएको बताउनुभयो ।  अन्य दिनमा राति १० बजे भारतले बन्द गर्नेे नेपाल–भारत नाका हाल दसैँ मनाउन आउनेलाई ध्यानमा राखेर राति ११ बजेसम्म पनि खुला राखेको इन्चार्ज बुढाथोकीले बताउनुभयो ।  अहिले चाडपर्वका लागि स्वदेश फर्किरहेका नेपालीहरूको फर्किने क्रम दसैँ र सोपछि पनि जारी रहने इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । सो कार्यालयका अनुसार चाडपर्व सकिएपछि फेरि भारत फर्किनेको लर्को नाकामा सुरु हुने छ । 

लोकप्रिय