कारबाहीमा परेका प्रदेश सांसद भन्छन्– एमालेमा मेरो डिएनए मिलेन

कारबाहीमा परेका प्रदेश सांसद भन्छन्– एमालेमा मेरो डिएनए मिलेन

नेपालगञ्ज । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टीले जग्गा दानमा लिनु गलत भएको अभिव्यक्ति दिने लुम्बिनीका प्रदेश सांसद तथा पूर्वमन्त्री दुर्गाप्रसाद चौधरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको छ । सामाजिक सञ्जाललगायतमा पार्टीविरोधी अभिव्यक्ति दिएको तथा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको मानहानि गरेको भन्दै चौधरीलाई एमाले बाँकेले मंगलबार निलम्बन गरेको हो । 

एमाले बाँकेले विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको मूल्यमान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गरेकाले चौधरीलाई निलम्बन गरेको जनाएको छ । पार्टीविरोधी गतिविधिका विषयमा उनलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताए ।

‘उहाँले कात्तिक ५ देखि नै निरन्तर रूपमा पार्टी हितविपरीत नेतृत्वलाई खुइल्याउने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने गर्दै आउनुभएको छ, त्यसैले कारबाही गरेका हौं,’ उनले भने, ‘सचेत गराउने उद्देश्यले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नआएपछि निलम्बनको प्रक्रियामा गएका हौं ।’ उनले निलम्बनको जानकारी केन्द्र र प्रदेश कमिटीलाई पनि पठाइएको बताए ।

चौधरी बाँके–१ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य र लुम्बिनी प्रदेशका पूर्ववन तथा वातावरण मन्त्रीसमेत हुन् । उनी एमालेको लुम्बिनी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन् । चौधरीले बुधबारसम्म निलम्बन पत्र नपाएको तर सामाजिक सञ्जालबाट थाहा पाएको बताए । ‘मलाई पार्टीबाट कारबाही गरिएको कुनै पत्र वा जानकारी आइसकेको छैन तर हिजोदेखि नै सामाजिक सञ्जालमा हल्ला गरेको देखिरहेको छु,’ उनले भने, ‘मैले कारबाही भोग्नुपर्ने कुनै गलत काम गरेको छैन ।’

बाँकेका चौधरी थारू समुदायमा भिजेका पूर्वमाओवादी नेता हुन् । नेकपा टुक्रिएपछि उनी एमालेमै बसेका थिए । पार्टीले निलम्बन गरेको सार्वजनिक भएपछि उनले बुधबार बाँकेको कोहलपुरमा पत्रकार सम्मेलन गर्दै एमालेसँग अहिले पनि आफ्नो ‘डीएनए’ नमिलेको प्रतिक्रिया दिए । ‘एमालेभित्र मेरो डीएनए मिल्न सकेको छैन,’ उनले भने, ‘तिनै डीएनए नमिलाउने एमालेभित्रका केही तत्त्वले स्वीकार गर्न नसक्दा कारबाहीको अफवाह फैलाएका छन् ।’ जिल्लामा आफूले पार्टी संगठन र जनताका लागि गरेका काम एमालेकै केही सांसद र नेतालाई नपचेको पनि उनले आरोप लगाएका छन् ।

पार्टीमा चित्त नबुझेको विषय सार्वजनिक रूपमा राख्दै आएका उनले कारबाही नै गरेको अवस्थामा पदको लोभ गरेर नबस्ने पनि स्पष्ट पारेका छन् । आफैंले पत्र प्राप्त नगर्दासम्म कुनै प्रक्रिया नथाल्ने पनि उनले बताए । ‘माथिल्लो तहबाट कुन किसिमको प्रतिक्रिया आउँछ, म त्यो पर्खिरहेको छु । म भिख मागेर पदको लोभमा पर्ने मान्छे होइन,’ उनले भने, ‘उपल्लो कमिटीको निर्णयपछि आवश्यकता अनुसार थप कदम मैले पनि चाल्नेछु ।’ एमाले प्रदेश सचिव आचार्यले भने जिल्लाको निर्णय र कारबाहीको प्रक्रियाको विषय प्रदेश कमिटीमा आएपछि मात्र त्यसमाथि छलफल हुने बताए ।

संसद र न्यायलयमा जे चलिहेको छ , जनतासँग हामीले गरेको कबुल विपरित छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँको सपना पूरा गर्ने तर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको औल्याउनुभएको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकारले गरेका गतिविधि,  संसदीय अभ्यास र न्यायलयका गतिविधि  जनतासँग गरेको कबुल विपरित भैरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौं त?” उहाँले गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । “अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि — के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौं?” अध्यक्ष प्रचण्डको प्रश्न थियो । गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “गिरिजाबाबुले जनताको पक्षमा गरेका कामको स्मरण गर्दै गर्दा आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ,” उहाँले भन्नुभयो । उहाँले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै भन्नुभयो, “म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भैरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ ।” कार्यक्रममा उहाँले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताउनुभएको हो । “सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ — यो सबै गम्भीर समीक्षा आवश्यक छ,” अध्यक्ष प्रचण्डले भन्नुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उहाँको अग्रणी भूमिकाको चर्चा गर्नुभएको थियो ।

ओलीले लेखकलाई पनि रविजस्तै फसाउँदैछन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रले गृहमन्त्री रमेश लेखक फसेको आरोप लगाएका छन्। नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै साहले ओलीले रवि लामिछानेलाई जस्तै लेखकलाई पनि फसाउने खेल रचेको दाबी गरे। उनले ओली नेतृत्वको सरकारले काँखमा राखेर छुरा हान्ने शैलीमा काम गरिरहेको आरोप लगाउँदै, नेपाली कांग्रेस–एमाले गठबन्धनलाई अपवित्र र मुलुकलाई अस्थिर बनाउने गठजोड भने। साहले वर्तमान सरकारले तराई–मधेसमाथि बजेटमार्फत विभेद गर्दै नेपालगञ्जसहित पश्चिम तराईको विकासप्रति बेवास्ता गरेको आरोपसमेत लगाए। उनले ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरे।

दलित समुदायप्रति गठबन्धन सरकार असंवेदनशील : अध्यक्ष प्रचण्ड

काठमाडौं ।नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९औं वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक सन्देश जारी गर्दै दलित समुदायप्रति हालको सरकार असंवेदनशील रहेको पुष्टि भएको बताएका छन् । उनले संविधानमा समावेश दलित अधिकारहरू कार्यान्वयनमा ढिलाइ भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै वर्तमान सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटमा दलित मुद्दा उपेक्षित भएको स्पष्ट संकेत दिएको बताए। "संविधानले कल्पना गरेअनुसार दलित समुदायको समग्र अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको थियो," सन्देशमा उल्लेख छ, "तर, यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी हो।" प्रचण्डले वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थलाई स्मरण गराउँदै, यो विभेद अन्त्य गर्न सशस्त्र जनयुद्ध र जनआन्दोलन आवश्यक परेको उल्लेख गरे। उनले संविधानमा दलित समुदायका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको बताए। "जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहन्छ," प्रचण्डले भने। सन्देशको अन्त्यमा उनले राज्यसत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका दलित समुदायलाई विशेषाधिकारसहित क्षतिपूर्ति दिनुपर्ने माग पुनः दोहोर्याउँदै, आफ्नो पार्टीको प्रतिबद्धता र संघर्ष निरन्तर रहने प्रतिवद्धता जनाएका छन्। सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी समुदायप्रति उनले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन्।

माओवादीको काठमाडौं उपत्यका केन्द्रीत अभियान आजदेखि

  काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौं उपत्यका केन्द्रीत अभियानको आज उद्घाटन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यान्न १ बजे चन्द्रगिरी थानकोटमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।  पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताएको थियो ।  काठमाडौं केन्द्रीत अभियानमा नेवा र तामाङ समूदायमा केन्द्रीत हुने वागमती प्रदेश समितिले जनाएको छ ।   

लोकप्रिय