अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । 

मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो । 

साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।  

मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई  पनि सम्मान गरिएको थियो । 

नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।

दसैँका खसी बोका बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु  गरेको छ। कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको एकहजार २३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट गरी क्रमशः ६६० र एकहजार २२० रुपैयाँ तोकिएको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको जनाएको छ । यस्तै अन्य खसीबोका र च्याङ्ग्रा ल्याउने क्रम जारी रहेको कार्यलयको भनाइ छ । दशैँको समयमा कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। 

नेपालले कार्बन ब्यापारबाट प्राप्त गर्दै छ एक अर्ब ६० करोड

काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दै छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैंकसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैंकले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी/जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । 'यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ', प्रवक्ता ढुङ्गानाले भने । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको  राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भने, 'नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।' ‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भन्नुभयो, हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’  नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।  कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।  काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो ।  वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको वताउनुभयो । साथै उहाँले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गर्नुभयो । यसैगरि, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाउनुभयो ।

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल

ताप्लेजुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताउनुभएको छ।  ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।  उहाँले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गर्नुभयो। उहाँले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताउनुभएको छ । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताउनुभयो ।  उहाँले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राख्नुभयो । उहाँले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताउनुभयो ।  उहाँले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताउनुभयो । उहाँले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताउनुभयो ।  उहाँले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।  उहाँले पाथीभरा केबकार  आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो ।  उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं।' 'हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं ।  समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ । तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए । होटल बनाएको भए यति धेरै झमेला आउने थिएन । सम्भावना भएको ठाउँमा पर्यटन र स्थानीय विकासको लागि हो ।  फाइदा मात्रै भन्दा पनि पर्यटन विकासलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । स्वदेशी लगानीलाई निरुत्साहित गर्न खोज्नु गलत हो । सकेसम्म सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन चाहन्छौ ।’

लोकप्रिय