रामेछाप घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

रामेछाप घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।


उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउन गराउनुभएको छ ।


‘प्राकृतिक प्रकोपका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘उद्दार कार्यमा आवश्यक सहयोग र सहकार्यमा जुटेका हाम्रा पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवादसहित जनसेवामा निरन्तर जुट्न निर्देशित गर्दछु।’

सुनकोशी–मरिण डाइभर्सनको काममा ढिलाइ

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको आयोजनाको काममा ढिलाई भैरहेको छ ।गत असोज ११ र १२ गते सुनकोशी नदीमा आएको बाढीका क्षति पुर्याएको बाँधस्थलको काममा ढिलाई भएको हो । सिन्धुली र रामेछाप जिल्लाको सीमा क्षेत्र सुनकोशी नदीमा निर्माण भइरहेको सो आयोजनाको मुख्य बाँधस्थलमा बाढीले पु¥याएको क्षतिको विवरण संकलन गरी बाँध निर्माणको बाँकी कार्यलाई अगाडि बढाउने काम शुरु गरिएको बताईएको छ । राष्ट्रिय गौरवको रुपान्तरणकारी मानिएको सो आयोजनाको बाँध निर्माणको ठेक्का लिएको भारतीय निर्माण कम्पनी पटेल र नेपाली जेभी पार्टनर रमण कन्ट्रक्सन कम्पनीले काम संचालन गरिरहकै अवस्थामा बाढीले क्षति पुर्‍याएको बताइएको छ । बाढीले विभिन्न उपकरणहरु लगायत निर्माण भएको कफर ड्याममा समेत क्षति पुर्‍याएको र क्षतिको पुर्ण विवरण संकलन भइरहेको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र वरालले जानकारी दिनुभयो । बरालका अनुसार आयोजनाको बाँध निर्माण कार्य भने सुनकोशी नदीमा पानीको बहाव कम भएपछि शुरु गरिने छ । सो आयोजनाको १३ दशमलव ३ किलोमिटर दुरीको सुरुङ निर्माणको कार्य सम्पन्न भइसकेको छ । सो आयोजनाको आर्थिक वर्ष २०८२÷८३ सम्म सम्पुर्ण निर्माणका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च : एकपछि अर्को नयाँ रेकर्ड कायम

काठमाडौं ।एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ५०० बढेर एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । यो उच्च मूल्यलाई आज तोडेर छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।   आज चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा यसदिन चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

सल्यानमा मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

सल्यान ।  सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङ्गमा भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । २४ वर्षीय चालक मानबहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो । कपुरकोट गाउँपालिका-६ स्थित दुबेदेबाट देबबहादुर बस्नेतको खेतबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक सोमबार बेलुकी सडकमा रहेको रुखलाई बचाउन खोज्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीका अनुसार दुर्घटनामा स्थानीय वर्ष १४ का बालक गोबर्द्धन खडका, वर्ष १२ का डिल्ली भन्ने अनिल भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने बालिका १३ वर्षकी सृजना बस्नेतको उपचारका लागि लैजाँदै गर्दा सोमबार बेलुकी नै बाटैमा मृत्यु भएको थियो भने चालक भण्डारीको सोमबार राति मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी १३ वर्षीया कखुमा बस्नेत, ३५ वर्षकी नन्दा बस्नेत, ३५ वर्षीय देबबहादुर बस्नेतको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । त्यस्तै सूचना अधिकारी खत्रीका अनुसार सञ्जीव बस्नेत, खडका, हिक्मत पुन र गाडीका सहचालक रौनक भण्डारी उपचारपछि घर फर्किएका छन् ।

लेखा समिति सभापतिकी पत्नीको सहकारी कालोसूचीमा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले श्रीमती अञ्जला कोइरालालाई अघि सारेर गरेको सहकारी कारोबारमा उन्मुक्ति लिन खोजेका छन् । तथ्यहरूले पोखरेल दम्पतीलाई जवाफदेही बनाउने स्पष्ट भए पनि सरकारले अनुसन्धानमा ढिलाइ गरिरहेको छ । मोरङमा सञ्चालित उमागौरी कृषि सहकारीले आफ्ना ऋणीका लालपुर्जा धितो राखेर रूपन्देहीको आरएसडीसी लघुवित्तबाट ४ करोड २५ लाख ऋण लिएको थियो । थप ३ करोड ऋण लिन अञ्जलासमेतको उपस्थितिमा ०७७ पुस २९ को सञ्चालक समिति बैठकले निर्णय गरेको थियो । त्यसको १३ महिनापछि ०७८ माघ ५ मा अञ्जलाले सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिएपछि उनले सहकारीको सम्पूर्ण दायित्वबाट उन्मुक्ति लिन खोजेकी छन् । जबकि उनी सञ्चालक सदस्य रहेकै बेला लघुवित्तबाट लिइएको ऋण सहकारीले तिरेको छैन । यसका लागि रूपन्देहीको आरएसडीसी लघुवित्तले कर्जा उठाउन अञ्जलासहित सञ्चालक समितिका सबै सदस्यलाई कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ । यद्यपि संसद्का लेखा समिति सभापति ऋषिकेश पोखरेलले यो विषयमा आफू र श्रीमतीलाई अनावश्यक रूपमा जोडिएको दाबी गर्दै आइरहेका छन् ।

लोकप्रिय