चिनियाँ चिकित्सा पुनःस्थापना उपचार केन्द्रको उद्घाटन
काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय परम्परागत चिनियाँ औषधि पुनःस्थापना तथा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ । नेपालको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केन्द्र सञ्चालनमा आएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले लम्बरको समस्या भएका एकजना बिरामीले ३० डिग्रीसम्म कम्मर मात्र झुकाउन सक्ने र उपचारपछि ९० डिग्रीसम्म आफ्नो ढाडलाई सिधा समात्न सक्ने भएकाले स्थानीय जनतामा अकुपंक्चर उपचार लोकप्रिय भएको स्मरण गराए ।
विगत २५ वर्षमा नेपाली चिकित्सकसँगै नेपाली जनताको स्वास्थ्य सुधारका लागि मेमोरियल क्यान्सर अस्पतालमा २५० भन्दा बढी चिनियाँ चिकित्सक टोली पठाइएको चेनले बताए। सन् १९९८ को डिसेम्बरमा नेपाललाई हस्तान्तरण गरेदेखि नै चीनको सहयोगमा बनेको अस्पतालमा चिनियाँ मेडिकल टोलीहरू आलोपालो पठाइएको बताए।
अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय राई न्यौपानेले जनशक्ति आपूर्ति, चिकित्सा उपकरण तथा औषधि चन्दा र चिकित्सक तथा प्राविधिकहरुको तालिम लगायतका क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गरे।
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध छ।
ज्यापु दिवसको अवसरमा र्याली
काठमाडौं । ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले आज काठमाडौंमा र्याली निकालेका छन्। इन्द्रचोकबाट बिहान १० बजेदेखि शुरु भएको र्याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुनेछ। ज्यापु समुदायले आफ्नै भेषभूषा र बाजागाजासहित र्यालीमा सहभागी भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
२२ सयले घट्यो सुनको मूल्य
काठमाडौं । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
सत्ता गठबन्धनलाई पराजित गर्दै पत्रकार महासंघ ललितपुरको अध्यक्षमा प्रेस सेन्टरको प्यानल नै विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ। अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो। कार्कीले दुई सय ४३ मत प्राप्त गरी सबैभन्दा बढि मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका रमेशप्रसाद तिमिल्सिनाले ६३ मत मात्रै प्राप्त गरेका छन्। ललितपुर महासंघमा सत्ता पक्षिय गठबन्धनका प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन सहितले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान र कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा विजयी भएका निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसेले जानकारी दिए। राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन्।