कर्णालीको मुख्यमन्त्रीमा गठबन्धनका यामलाल कँडेलले दाबी पेश गर्दै
काठमाडौँ । कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद मंगलबार सकिँदै छ । सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् ।
तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए।
पहिले नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेको छ। एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।
४० सदस्यीय प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् ।
त्यसैगरी नेपाली काँग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १र१ जना सांसद रहेका छन् ।
सरकारले राष्ट्रियसभालाई बिजनेस दिएन : अध्यक्ष दाहाल
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्। यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिए। उनले भने, “कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन। बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।” आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गरे। फरक प्रसङ्गमा उनले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताए। सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।
भीम रावलमाथि गरिएको कारबाहीको सुदूरपश्चिममा बिरोध
काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गरिसकेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टी हितविपरीतका गतिविधिमा सक्रिय भएको भन्दै रावललाई संगठित सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । रावललाई एमालेले पार्टीबाट निष्कासन गरेपछि उनको गृहप्रदेश सुदूरपश्चिममा त्यसको चर्को विरोध भएको छ । धेरैले एमालेले रावललाई नभई सुदूरपश्चिमलाई नै अन्याय गरेको सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन् । यस्तै, रावललाई पार्टीले हटाएपछि उनीनिकट नेताहरूको भविष्यबारे पनि चासो बढेको छ । एमाले केन्द्रीय सदस्य झपट रावल भीम रावललाई गरिएको कारबाहीले पार्टीमा लोकतन्त्र कमजोर भएको बताउँछन् । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा एमाले नेता कृष्णराज सुवेदी पनि रावललाई गरिएको कारबाही पूर्ण रूपमा गलत भएको बताउँछन् । सुवेदीले एमाले अध्यक्ष ओलीले गरेको अन्यायका विरुद्ध आवाज बुलन्द गर्ने बताए ।
अखिल क्रान्तिकारीको निर्वाचनमा २४०५ मतदाता
काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन निर्वाचित केन्द्रित भएको छ । यसपटक विद्यार्थीहरुले नीति र नेतृत्व दुबैमा मतदान गर्दैछन् । पुस १३ गते नीति निर्णय लिन देशव्यापी मतदान हुँदैछ भने पुस १७ गते नेतृत्व चयनका लागि प्रादेशिक तहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि मतदाता नामावली सार्वजनिक भएको छ । जसमा कूल २४०५ मतदाता रहेका छन् । पहिलो चरणमा पुस १३ गते ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो ।
सभापति रबि निलम्बन पछि बसेको रास्वपा सचिवालय बैठकले गर्यो यी तीन निर्णय
काठमाडौँ । सभापति रबि लामिछानेलाई संसद सचिवालयले निलम्बन गरेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ । यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।