एनपीएल विजेताहरुलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको छ । यो खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपीएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
ऐतिहासिक सफलता : इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल ग्लोबल क्वालिफायरमा
काठमाडौं — नेपाली महिला क्रिकेट टिमले ऐतिहासिक सफलता हात पारेको छ । सोमबार युएईविरुद्धको सुपर थ्री खेलमा कप्तान इन्दु बर्माको अविजित कप्तानी इनिङ्सको मद्दतले नेपालले पाँच विकेटको शानदार जित निकाल्दै पहिलो पटक आईसीसी महिला टी२० विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल बाँकी राख्दै ५ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान इन्दु बर्माले चौथो क्रममा ब्याटिङ गर्दै २८ बलमा २ चौका सहित अविजित ३० रन बनाइन् र निर्णायक रन प्रहार गर्दै खेल जिताइन्। इतिहास रच्दै ग्लोबल क्वालिफायरमा नेपालको यो जित महिला क्रिकेट इतिहासमै सबैभन्दा ठूलो सफलता हो। पहिलो पटक महिला टी२० विश्वकपको ग्लोबल चरणमा स्थान बनाउन सफल भएको नेपालले एसिया छनोटबाट थाइल्याण्डसँगै छनोट हुँदै नयाँ अध्याय सुरु गरेको हो। पोष्ट म्याचमा कप्तान इन्दु बर्माले भनिन्, ‘यो हाम्रो महिला क्रिकेटका लागि ऐतिहासिक क्षण हो। सबै खेलाडी र टोली सदस्यहरूको मेहनतको प्रतिफल हो।’ इन्दु बर्माको निर्णायक प्रदर्शन २७ वर्षीया इन्दु बर्माले युएई विरुद्धको खेलमा मात्र होइन, प्रतियोगिताका अन्य महत्वपूर्ण खेलहरूमा समेत कप्तानी इनिङ्स खेलेकी थिइन्। समूह चरणको बहराइन विरुद्धको ‘मस्ट विन’ खेलमा पनि उनले २४ रनको अविजित पारी खेलेर टिमलाई जित दिलाएकी थिइन्। बहराइन विरुद्ध वर्षा प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो। अन्तिम १८ बलमा ३२ रन आवश्यक पर्दा इन्दुले लगातार चौका र छक्का प्रहार गर्दै नेपाललाई जितसम्म पुर्याएकी थिइन्। साझेदारीले बनायो जितको आधार युएई विरुद्ध इन्दुले उपकप्तान पूजा महतोसँग २४ रन र पूर्व कप्तान रुबिना क्षेत्रीसँग ३७ रनको महत्वपूर्ण साझेदारी गरिन्। जब रुबिना आउट भइन्, नेपाललाई जितका लागि अन्तिम १३ बलमा १६ रन आवश्यक थियो। इन्दुले रुवि पोदारसँग साझेदारी गर्दै अन्तिम ओभरसम्म इनिङ्स सम्हालिन् र जित सुनिश्चित गरिन्। सम्पूर्ण प्रतियोगितामा इन्दुको दबदबा इन्दु बर्मा प्रतियोगिताका चारै खेलमा नटआउट रहिन्। उनको सतर्कता, संयमता र आक्रामकता मिसिएको ब्याटिङले नेपालको जित सुनिश्चित गर्यो। पहिलो खेल हङकङ विरुद्ध वर्षाका कारण रद्द हुँदा अंक बाँडिएको थियो। अब नेपालले सुपर थ्री को अन्तिम खेल थाइल्याण्डसँग खेल्दैछ। सो खेल जिते नेपाल एसिया छनोटको विजेता बन्नेछ।
क्यानसँगको सम्झौता तोड्ने सन्दीप लामिछानेको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौताबाट आफू अलग हुने घोषणा गरेका छन्। आइसिसी विश्वकप लिग–२ का लागि युके जानुअघि सामाजिक सञ्जालमार्फत सन्दीपले यो जानकारी दिएका हुन्। उनले क्यानप्रति कृतज्ञता व्यक्त गर्दै यो निर्णय देश वा क्रिकेटप्रति विमुख हुने होइन पनि भनेका छन्। ‘ए’ ग्रेडमा रहेका सन्दीप पछिल्लो समय क्यानसँग असन्तुष्ट देखिएका थिए। माघमा अनुशासन उल्लङ्घन गरेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक दिएपछि उनी घरेलु क्रिकेट प्रतियोगितामा उनी देखिएनन् । जय ट्रफीको खेलमा अम्पायर निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका सन्दीपले त्यसपछि क्यानको कारबाहीको सामना गर्नुपरेको थियो।
गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज विहान रंगशालाको अनुगमन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिनुभयो । ‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’ ‘मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको थिएँ, त्यसको डिपिआर बनेर अहिले इआईए पनि भसकेको राष्ट्रिय खेलकुद परिषद्बाट जानकारी पाएको छु’– उहाँले भन्नुभयो– ‘यसलाई अघि बढाउन सरकारले बजेट व्यवस्था लगायतका काममा सहजीकरण गर्न आवश्यक छ ।’ आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।