ट्राफिक प्रहरीको काम सह्रानीयः गृहमन्त्री
ट्राफिक सचेतना विशेष अभियान – २०८१ को उद्घाटन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ को उद्घाटन गरेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गरिएको हो ।
कार्यक्रममा गृहमन्त्री लामिछानेले ट्राफिक व्यवस्थापनमा सम्पूर्ण सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सरकारले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ऐन, नियमलाई समयानुकूल परिमार्जित, परिवर्तन तथा नयाँ कायम गर्नका लागि सक्रियताका साथ लागेको जानकारी दिए ।
दुर्घटना न्यूनीकण गरी नागरिकको ज्यान बचाउनु राज्यको प्राथमिकता रहेको भन्दै उनले बाटो परिक्षण नगरिकन लाईसेन्स दिने परिपाटीले धेरै सवारी दुर्घटनाहरू भएको बताए ।
यसलाई नियन्त्रण गर्न लाईसेन्स परीक्षाको विद्यमान प्रक्रियामा सुधार गर्नुपर्ने गृहमन्त्री लामिछानेले बताए ।
उनले सरकारका कामहरूमध्ये ट्राफिक व्यवस्थापन पनि एक महत्वपूर्ण काम रहेको चर्चा गर्दै हाल सम्मको काम सह्रानीय रहेको र आगामी दिनमा समेत ट्राफिक नियमलाई थप कडाईका साथ पालन गर्नगराउन निर्देशन दिए ।
ट्राफिक प्रहरीलाई छल्नलाई होइन आफू सुरक्षित हुनका लागि गम्भिर तथा सचेत भएर सार्वसाधारणले ट्रफिक नियम तथा लेन अनुशासनको पालना गर्नुपर्नेमा उनले जोड दिए । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले ट्राफिक प्रहरीको बोली, वचन तथा व्यवहार नरम तर कारबाही कडा हुनुपर्ने बताए ।
यो विशेष अभियान अन्तर्गत एक हप्तासम्म यात्रुमैत्री विशेष अभियान, पैदल यात्रीसँग १ मिनेट कार्यक्रम, मोटरसाइकल चालकसँग २ मिनेट कार्यक्रम, जिरो ट्राफिक भायोलेशन, किप क्लियर, यात्रुबाहक सवारी साधन परीक्षण, प्रहरी बैंण्ड डिस्प्ले र ट्राफिक एफएममा ट्राफिक सचेतना विशेष सम्वाद कार्यक्रम संचालन गरिने बताइएको छ ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सह सचिव नारायण प्रसाद भट्टराई, काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विभिन्न विभागका महानिर्देशकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, विभिन्न यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र विद्यार्थी तथा संचारकर्मीहरू एवम् आमनत्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम अगाडि सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।