शिक्षामा राज्यले लगानी बढाउनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड

काठमाडौं। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए।
उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्ने बताउँदै शिक्षालयमा शिक्षालयहरूमा योग,ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए । उनले भने, “शिक्षा बाँच्नका लागि होइन, जीवनका लागि हो भन्ने मान्यता विकास गर्न आवश्यक छ ।”
कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई सम्मान गरिएको थियो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका नेपाल, तनहुँको महेश विद्याश्रम, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाललाई सम्मान गरिएको थियो ।
यसैगरी, रु १० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार ‘जुपिटर मिडिया’का सुनिल आचार्य र रेडियो कान्तिपुरका पार्वता चौधरीलाई प्रदान गरिएको थियोभने शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए। सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।