प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहितका अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन्।

प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा.डंगोलले प्रधानमन्त्रीको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गरेका थिए।डा.डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन्।यस्तै,कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए। 

नेपाल र कतारबिच कुटनीतिक सम्बन्ध गासिएपछि पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका छन्। 

“कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,”प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने,“प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो।”

यस्तै,प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई अनुरोध गरेका थिए। 

प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्राउने भूमिकामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा त्यो काम गर्न भनेका थिए। 

भेटमा सहभागी एनआरएनए संस्थापक डंगोल,शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा सहयात्री बन्न तयार सधै रहेको र सम्मेलन लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

एमालेमा फरम मत राख्ने नेताविरुद्ध कारवाहीको सन्देश के हो ?

काठमाडौं । पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । आफू पार्टी विधिविपरीत गएको महसुस नगरेका कारण उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कीर्तिपुर–२ मैत्रीनगरमा गत असोज २५ मा पार्टी मुख्यालय भवन शिलान्यास गरेका थिए । त्यसमा रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीले आफैं केन्द्रीय कार्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा दानबाट निर्माण गर्नु गलत हुने भन्दै स्पष्टीकरण दिएका थिए । रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् । निलम्बित स्थायी कमिटी सदस्य पाण्डेले दानबाट पार्टी कार्यालय बनाउनु गलत भएको आफ्नो धारणा कायम रहेको बताइन् । शिलान्यास भइसकेको काम अलपत्र पार्न नहुने पूर्ववत् पार्टी निर्णयलाई सम्झाएकाले कारबाही भोगेको बताइन् । कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता अभ्यास हुनुपर्ने मान्यता भए पनि पछिल्लो समय एमाले अध्यक्ष ओलीको प्राधिकारमा चल्दै आएकाले प्रश्न उठाउनेमाथि कारबाही हुने गरेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले बताए । ‘एमालेमा ओलीको निर्णयमाथि प्रश्न उठाउन सक्ने अवस्था छैन । प्रश्न उठायो भने कारबाही भोग्नुपर्ने अवस्था छ,’ उनले भने ।

काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहनेछ । विभागले बिहीबार बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्ने भएकाले स्वास्थ्य, यातायात, नागरिक उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

आज क्रिसमस डे मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।  पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ ।  नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।  दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।  

लोकप्रिय