डेढ लाख बालबालिकालाई खोप लगाइने

डेढ लाख बालबालिकालाई खोप लगाइने

सुर्खेत। कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार फागुन १३ देखि चैत ७ सम्म सो खोप लगाइने छ । आठ जिल्लाका झन्डै दुई हजार खोप केन्द्रबाट खोप लगाइने छ । १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मीले खोप लगाउने छन् । युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीका अनुसार रुकुमपश्चिम र जाजरकोटमा भूकम्पपछि पुसमा दादुरा रुबेलाको खोप लगाइसकिएकाले यस पटक ती दुई जिल्लाबाहेक कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो खोप लगाइने छ ।

लक्षित समूहले अधिक खोप लगाउनका लागि विभिन्न गतिविधि गरिने जनाइएको छ । अभिभावकलाई खोप लगाउन निमन्त्रणा कार्ड पठाइने, खोप लगाएपछि खोप कार्ड वितरण गरिने, ब्यानरलगायतका प्रचार गर्ने, माइकिङ गर्ने, धामीझाँक्रीसँग पत्राचार गर्ने, धेरै प्रश्न सोधेर जानकारी गराउने योजना छ । दादुरा–रुबेला निकै जोखिमपूर्ण रोग भएकाले एक जनाबाट १८ जनामा सङ्क्रमण सर्न सक्ने उनको भनाइ छ । यस खोपको कुनै असर नहुने, पहिले लगाएकाले पनि पुनः लगाउन मिल्ने जनाइएको छ । बढी कुपोषित भएका, उच्च ज्वरो आएको बालबालिकालाई भने यो खोप लगाउन हुँदैन ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ‘खोज र खोप’ रणनीतिबमोजिम सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ । 

उनले कर्णालीमा पूर्ण खोपको कभरेज ८५ प्रतिशत रहेको र अन्य जिल्लामा खोप लगाउन छोड्ने दर पनि कायमै रहेको बताए । भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, कहिल्यै खोप नलगाउने राउटे समुदायका कारण पूर्ण खोपको चुनौती खेप्नु परेको उनको भनाइ छ । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत देवीराम पौडेलले कर्णालीका आठ जिल्लामा १३ हजार ४५३ भाइल 

दादुरा–रुबेलाको खोप सम्बन्धित जिल्लामा आपूर्ति गरिसकिएको बताए । एक भाइलमा १० डोज हुन्छ । यस्तै एक लाख ३४ हजार पाँच सय सिरिन्ज र १४ हजार ९३६ घोलक पनि पठाइसकिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका डा.तारा बानियाँले नयाँ आप्रवास बस्ती, सुकुमवासी बस्ती, राउटे, कुसुन्डालगायतका बालबालिका खोपबाट छुटेका हुँदा तिनलाई पनि खोपको दायराभित्र ल्याउन आह्वान गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले खोप अभियान सफल बनाएपछि मात्रै नेपालको खोपको प्रतिशत दर वृद्धि हुने बताए । 

हिउँ छिचोल्दै खोप 

हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई नियमित खोप लगाउन हिमपातका कारण कठिन भएको छ । हिउँको जोखिमसँगै स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । एक वर्ष तीन महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने खोप लगाउन हिमपातका कारण समस्या परेको छ ।

अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही

काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्।  यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता जेठ २४ गते काठमाडौंको नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा हुने भएको छ। प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शनिबार आयोजित पत्रकार सम्मेलनमा यसअघि तीन संस्करण साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेपछि पहिलोपटक शारीरिक सुगठन प्रतियोगिता गर्न लागिएको जानकारी दिइन्। राष्ट्रिय तथा प्रदेश खेलकुद परिषद्को सहयोगमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ वटा तौल समूह (६०, ६५, ७०, ७५, ७५ केजीभन्दा माथि) र महिलातर्फ खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। देशभरका जिल्लाबाट करिब १०० जना खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्न पाउने छन्। पुरुष ओभरअल विजेताले “प्रथम मिस्टर प्रज्ञा स्मृति” उपाधिसहित रू। २।५ लाख प्राप्त गर्नेछ भने महिलातर्फ प्रथम हुनेले रू.१ लाख पाउनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार र अनुमानित खर्च ३५ लाख ३५ हजार रहेको आयोजकले जनाएको छ। स्व. प्रकाश र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकुद र युवानेतृत्व विकासजस्ता क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।

लोकप्रिय