इजरायलद्वारा इरानमा हवाई आक्रमण
काठमाडौं । इजरायलले शनिबार बिहान इरानका सैन्य स्थलहरूमा लक्षित गर्दै हवाई आक्रमण गरेको छ। यो आक्रमण तेहरानले तेल अविवमा गरेको धेरै आक्रमणहरूको प्रतिक्रियामा गरिएको हो, जसले मध्यपूर्वलाई अझ गहिरो संकटमा धकेलेको छ।
इरानले इजरायलमा ब्यालेस्टिक मिसाइलहरूको धेरै लहर प्रहार गरेको २६ दिनपछि इजरायलले इरानमा यी आक्रमणहरू गरेको हो। इरानको आक्रमणका कारण लाखौं इजरायलीहरू बम आश्रयस्थलमा बस्न बाध्य भए, जसले गर्दा धेरै घरहरू र हवाई अखडाहरूमा क्षति पुगेको थियो।
इजरायली सेनाले यो अपरेसनलाई “इरानका सैन्य लक्षित स्थलहरूमा सटीक आक्रमण” को रूपमा वर्णन गरेको छ, यद्यपि क्षतिको थप विवरण तत्काल उपलब्ध छैन।
एक विज्ञप्तिमा इजरायली सेनाले इरान र त्यसका क्षेत्रीय सहयोगीहरूले अक्टोबर ७ देखि इजरायलमाथि सातवटा मोर्चाबाट निरन्तर आक्रमण गरिरहेको दाबी गरेको छ, जसमा इरानी भूमिबाट गरिएको सीधा आक्रमण पनि समावेश छ। “संसारका हरेक स्वाधीन राष्ट्रको जस्तै इजरायल राज्यको पनि जवाफ दिने अधिकार र कर्तव्य छ,” विज्ञप्तिमा थपिएको छ।
तेहरानका प्रत्यक्षदर्शीहरूले धेरै विस्फोटहरू सुनेको बताएका छन्। इरानको सरकारी सञ्चारमाध्यमले सुरुमा ती विस्फोटहरूको पुष्टि गर्दै केही आवाज सहरको हवाई सुरक्षा प्रणालीका कारण आएको बतायो। समाचार संस्था एसोसिएटेड प्रेसलाई एक बासिन्दाले कम्तीमा सातवटा विस्फोटको आवाज सुनेको बताए, जसले वरपरको क्षेत्र हल्लाएको थियो; ती व्यक्तिले प्रतिशोधको डरका कारण आफ्नो नाम खुलाउन चाहेनन्।
इरानी अधिकारीहरूले शनिबार बिहान देशभर सुनेका विस्फोटहरू "तेहरान र देशका विभिन्न क्षेत्रहरूमा तैनाथ हवाई रक्षा प्रणालीसँग सम्बन्धित" भएको बताएका छन्, राज्य समाचार संस्था आइआरएनएले रिपोर्ट गरेको छ।
अर्ध-सरकारी तस्नीम समाचार एजेन्सीले यसअघि इरानी राजधानीको पश्चिममा धेरै विस्फोटहरू सुनिएको जानकारी दिएको थियो।
स्थानीय समय अनुसार शनिबार बिहान तेहरानमा पनि धेरै विस्फोटहरू सुनेको अर्ध-सरकारी फार्स समाचार एजेन्सीले जनाएको छ।
यो आक्रमण अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिंकनको संयुक्त राज्य फर्कने समयमा भएको हो। ब्लिंकनले आफ्नो मध्यपूर्व भ्रमणका क्रममा इजरायललाई आफ्नो प्रतिक्रिया सीमित राख्न आग्रह गरेका थिए, तनावलाई अझ नबढाउन र इरानका कुनै पनि आणविक स्थललाई लक्षित नगर्न चेतावनी दिएका थिए।
इजरायलको आक्रमणले १९८० को दशकमा इरानको इराकसँगको युद्धपछि पहिलो पटक कुनै विदेशी वायुसेनाले इरानमाथि आक्रमण गरेको घटना हुनेछ। आठ वर्ष लामो उक्त संघर्षको क्रममा लडाइँ प्रायः इरानको इराकसँगको सिमानामा केन्द्रित थियो।
सिरियामा सत्ता हस्तान्तरण गर्ने सहमतिः राज्यको सेना विद्रोही पक्षमा समायोजन हुने
सिरिया । सिरियाका पूर्व प्रधानमन्त्रीले विद्रोही शक्तिलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सहमति जनाएका छन्। राजधानी दमासकसमा भएको बैठकपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणमा प्रधानमन्त्री मोहम्मद अल बासिर सहमत भएका हुन्। यो निर्णयपछि ५० वर्ष भन्दा लामो समयको असाद परिवारको बर्बरतापूर्ण शासनको अन्त्य भएको जनाइएको छ। यसैगरी विद्रोही सेनाले सिरियाको राज्य पक्षीय सेनालाई आफ्नै सेनामा आबद्ध गर्ने निर्णय गरेको छ। हायात ताहिर अल साम (एचटिएस)का सैन्य अपरेसन कमान्डले सो निर्णय गरेको हो। एचटिएसले पुरानो सत्ताका सबैले डकुमेन्ट र सामग्री बुझाउन आवश्यक रहेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले असाद सरकार ढलेपछि मध्यपूर्वमा शान्ति स्थापनाका बारे जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता गरेका छन्। सन् २०१५ मै सिरियामा शान्ति स्थापनाका बारे रोडम्याप नै तयार भएको थियो। त्यसै रोडम्यापका बारे पनि चर्चा गर्ने सोच अहिले छ। सन् २०१२ मा गृह युद्ध सुरु भएपछि आफ्नो दूतावास हटाएको अमेरिकाले फेरि सिरियामा दूतावास राख्ने भएको छ। आसाद सरकार ढलेपछि कूटनीतिक सम्बन्ध राख्नका लागि भने अमेरिका तयार रहेको छ। पछिल्लो समय सिरियाका बारे संयुक्त राष्ट्र संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। बफर क्षेत्रमा इजरायलको उपस्थितिमा राष्ट्र संघले असहमत जनाएको हो। सन् १९७४ मा असंलग्न क्षेत्रका बारे गरिएको सम्झौता विपरीत अहिले इजरायलको उपस्थित भएको आरोप राष्ट्र सङ्घको छ। इजरायलले पनि नेतान्याहुको सरकार ढलेपछि मध्यपूर्व नयाँ मोडमा प्रवेश गरेको बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको हिजबुल्लाहसँगको लडाइँका कारण सिरियामा परिवर्तन भएको जनाएका छन्। हिजबुल्लाह र असादका अर्को सहयोगी इरान कमजोर भएकै कारण सिरियामा परिवर्तन सम्भव भएको उनको दाबी छ।
सिरियाका राष्ट्रपति भागेर मस्को पुगे, बिद्रोहीले गरे पूर्ण स्वतन्त्रताको घोषणा
सिरिया । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसार अल-असद मस्को पुगेका छन्। रुसको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई रुसले नै शरण दिनेछ। हायात ताहिर अल साम (एचटिएस)ले राजधानी दमासकस कब्जामा लिएपछि असद भागेर रुस गएका हुन्। आइतबार नै विद्रोही शक्ति एचटिएसका नेता अबु मोहम्मद अल जलवानी सार्वजनिक भए। उनले पुरानो दमासकसको उमायाद मस्जिदमा उपस्थित हुँदै कार्यक्रमलाई सम्बोधन गरे। सो सम्बोधनमा उनले सिङ्गो इस्लाम राज्यको जित भएको बताए। उनले सन् २०११ यता सहिद भएकाहरू प्रति सम्मान व्यक्त गर्दै देशलाई भ्रस्टाचार मुक्त बनाउन आफ्नो ध्यान केन्द्रित रहने बताए। सिरियाका वर्तमान राष्ट्रपति असद । त्यही मस्जिदमा बसार अल असद र उनका बाबु हफिज अल असदले प्रार्थना गर्थे। त्यो सम्बोधन भन्दा अघि नै उनी राजधानी दमासकस पुगेर मुख्य स्थान भ्रमण गरेका थिए। भागेर छिमेकमा पुगेका धेरैजना अहिले सिरियामा फर्कने क्रम जारी छ। अहिले संसार भरी रहेका सिरियाली समुदायका व्यक्तिहरू खुसी मनाइरहेका छन्। असद शासन अन्त्यको यो शृङ्खला एकदमै छोटो समयको विकासक्रम हो। २७ नोभेम्बरमा एचटिएसले आक्रमणलाई तीव्र बनाउने घोषणा गरेको थियो। उत्तर पश्चिममा सरकारले आम मानिसलाई यातना दिइरहेको बताउँदै सो घोषणा भएको हो। ३० नोभेम्बरको दिन एचटिएसका सेनाले एलेप्पोमा प्रवेश गरेको घोषणा गरेको थियो। ५ डिसेम्बरका दिन हामा नियन्त्रणमा लिइएको थियो। ६ डिसेम्बरका दिन राष्ट्रपतिको विरुद्धमा विद्रोहको सुरुवात भएको डेरा प्रान्तमा एचटिएसका सेनाको उपस्थिति भएको थियो। डिसेम्बर ७ देशको तेस्रो ठुलो सहर होम्स नियन्त्रणमा लिएको एचटिएसले जनाएको थियो। डिसेम्बर ८ को दिन विद्रोही सेनाले राजधानी दमासकस प्रवेश गरेको घोषणा गरेको थियो। दुई घण्टाको अन्तरालमा राजधानी कब्जाको घोषणा गर्दै एचटिएसले विजयोत्सव मनाइसकेको थियो। तस्विरः बिबिसी
सिरियाली विद्रोहीद्वारा दमास्कस कब्जाको घोषणा, राष्ट्रपति असद देश छाडेर भागे
सिरिया । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया "मुक्त" भएको घोषणा गरेका छन्। विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्। । विवरणहरूमा असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन। सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ। सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ। विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई "पूर्ण रूपबाट स्वतन्त्र पारेको" बताएको केही समयमा उनीहरू राजधानी प्रवेश गरेका हुन्। विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो। राजधानी कब्जापछि सिरियामा कसले के भने? तस्बिरको क्याप्शन,राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन् । सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र "सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको" बताएका छन्। सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्। "हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू - जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ," उनले एक्समा लेखेका छन्। "त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।" एचटिएसका नेताले टेलिग्राममा लेख्दै सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्। राष्ट्रलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने काम "गर्न सघाउन तयार" रहेको बताएका छन्। नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्। मोहम्मद अल जोलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले "सिरियाका अभूतपूर्व घटनाक्रम"को निगरानी गरिरहेको ह्वाइटहाउसले जनाएको छ। बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने बताएका थिए। उनको भनाइ थियो: "त्यो हुन दिनुस्। यो हाम्रो लडाइँ होइन।"
विद्रोहीले अधिकांश सहर कब्जा गरेपछि सिरियाको सत्ता संकटमा
सिरिया । सिरियाली विद्रोही सेनाले तेस्रो ठुलो सहर होम्स कब्जामा लिएको छ। सिरियाली सेनाले त्यो स्थान छाडी सकेका छन्। अहिले राजधानी दमासकस सबै दिशाबाट घेरामा परेको छ। अलावाइट समुदायका लागि होम्स अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यसै कारण पनि होम्स गुमाउनु राष्ट्रपति बसार अल आसादका लागि ठुलो धक्काको विषय बनेको छ। सबै तीर बाट घेरिएपछि सरकारले राजधानी दमासकस पनि जोगाउन कठिन हुने जनाइएको छ। केही दिन अघि दमासकसमा रहेको राष्ट्रपतिका बाबु हफिजको सालिक भत्काइएको छ। सन् २०११ मा गृह युद्ध सुरु भएको समयमा पनि होम्स विद्रोहीकै कब्जामा थियो। सो समयमा आसादले शान्तिपूर्ण विद्रोहलाई दमन गरेका थिए। सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घको प्रयासमा शान्ति स्थापना भएपछि सो स्थानमा सरकारको पकड जमेको हो। सूचना श्रोतका अनुसार अमेरिकाले दमासकसको सत्ता ढल्ने ठहर गरिसकेको छ। सन् १९७१ देखि सिरियामा आसादको परिवारको सत्ता थियो। यस युद्धमा रुस र अमेरिका सरिक भएको एक अर्कामा आरोप लाग्दै आएको छ। यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सिरियाको गृहयुद्ध अमेरिकाका लागि कुनै चासोको विषयको नभएको बताएका छन्। सिरियाका लागि राष्ट्रसङ्घका विशेष दूत जीयर पिडरसनले शान्तिको प्रयास सफल नहुने बताएका छन्। उनले यस बिचमा कतारको राजधानी दोहामा रहेर अरबका विदेश मन्त्रीमार्फत वार्ताका लागि गरेको प्रयास असफल भएको छ। यस युद्धमा सम्बन्धित रहेका टर्की, अमेरिका र रुसका प्रतिनिधि मार्फत उनले वार्ताको प्रयास गरेका थिए। राजनीतिक बन्दीका लागि कठोर मानिने होम्सको सैन्य जेलबाट ३५ सय जना छाडिएका छन्। यस कुरालाई विद्रोही कमान्डर हसन अब्दुल घानीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनीहरूले छाडी सकेपछि होम्सको सडकमा हजारौँ जना उपस्थित भएर खुसीयाली मनाइरहेका छन्। उनीहरूले आसाद सरकार ढल्ने दिन आएको भन्दै नारा जुलुस समेत गर्न थालेका छन्। होम्सको जेल भन्दा पनि कठोर तथा मानव अधिकारको आँखाबाट संसारै नरक झैँ मानिएका सायडनाय बन्दी गृहमा रहेका आफन्त छुट्ने आस समेत धेरै सिरियालीमा पलाउन थालेका छ। सो बन्दी गृह, यातना अमानवीय व्यवहार र सामूहिक मृत्युका लागि बदनाम छ।