जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्। साक्षर घोषणा गर्न तोकिएका सूचकहरू पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको नागरिक दैनिकमा खबर छ ।
कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरेका छन्।
मन्त्री भण्डारीले शुक्रबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेरै कनकासुन्दरीलाई घोषणा गरेका गरे। उनले गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको बताए। यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गर्नुभएको हो। उनले हिमा गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गरेका हुन्।
तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको बताए।
यता पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको उपाध्यायले बताए। उनका अनुसार, एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन्।
प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत हत (१–५) मा ३ हजार ४, आधारभुत हत (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए।
यता चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए। उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए। उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो।
सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ। शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा संकलन गरिएको तथ्यांकले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न संभव भएको बताए।हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउककबस्तीमै पुगेका थिए।
गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय जनाले आइएड तह उत्तीर्ण गरेका छन्। उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन्। बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन्।
जिल्लाका अन्य तीन स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्न वडास्तरमा कर्मचारीहरू परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन्। शिक्षक, अभिभावक, स्थानीय नागरिक र जनप्रतिनिधिहरूसँग घनिभूत छलफल गरिरहेको छन्। तातोपानी,गुठिचौर र तिला गाउँपालिका साक्षर गाउँपालिका घोषणा गर्न लागि परेका छन्।
अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान
मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । उहाँले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गर्नुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउनुभयो । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताउनुभयो ।
सिमकोटमा छ करोडको आलु बिक्री
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष गाउँपालिकाका आठ वटै वडामा गरी छ करोड २५ लाख रुपियाँ बराबरको आलु उत्पादन गरी बिक्री गरिएको बताउनुभयो । गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा १२ हजार पाँच सय क्विन्टल आलु उत्पादन भएको छ । सदरमुकाम सिमकोटमा आलु प्रतिकेजी ५० रुपियाँ पर्छ । उहाँले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन पाँच सय क्विन्टल कम भए पनि आलु किसानका लागि आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो । आलु खेतीबाट आम्दानी हुने भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दा आलु उत्पादन गर्न सकेका हुन् । गाउँपालिकाका अधिकांश घरधुरीमा आलु खेती गर्ने गरिन्छ । उहाँले त्यसैले प्रत्येक घरधुरीको आम्दानीको स्रोत आलु नै भएको बताउनुभयो । यो आलु सिमकोट बजार, ठेहे, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकासम्म जाने गर्छ । आलु खेती आम्दानीको स्रोत भएका कारण गाउँपालिकाले आलु खेतीलाई विस्तार गर्ने कार्यक्रमसमेत ल्याउने जानकारी उहाँले दिनुभयो । गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएका कारण हुम्लाको आलु विषादीरहित हुने गरेको छ ।
भीम रावल धनगढी पुग्दा समर्थकले गरे ओलीविरुद्ध नाराबाजी
धनगढी । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् । उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए । भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।
घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक छः प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताउनुभएको छ । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले घले समुदायलाई सूचिकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, सँस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढी रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाले आदिवासीमा सूचिकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने उहाँको धारणा व्यक्त गर्नुभयो । यो विषयमा एकजुट हुन नसके प्राप्त उपलब्धिहरु गुम्ने र थप अधिकार प्राप्त गर्न असम्भव रहको धारणा राख्नुभयो । घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्धालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरु सूचिकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ । ‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरु नै एकजुट भए ।’ घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरु गुरुङ नभएको अध्यक्ष घलेले बताउनुभयो । घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रुपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरुको माग छ ।