वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख

वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख

काठमाडौँ। वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ ।  

विभागका अनुसार गएको जेठमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ५८४ जना (०.८० प्रतिशत) अर्धदक्ष भएर जाने सात हजार २६ जना (आठ प्रतिशत) र अदक्ष १४ हजार ६३१ जना (२० प्रतिशत) रहेका छन् । गत वर्षको जेठमा श्रम स्वीकृति लिएर गएका ५९ हजार ४९९ गएकोमा उच्च दक्ष र व्यावसायिक १६४ जना (०.२७ प्रतिशत), अर्धदक्ष चार हजार ९७१ (१० प्रतिशत) अदक्ष १२ हजार ४९७ (२७ प्रतिशत) रहेको थियो । 

चालु आव २०८०/८१ को ११ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले लिएका छन् । चालु आवको ११ महिनामध्ये सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । 

पहिलो श्रम गन्तव्य युएई

जेठ महिनामा पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेटस् (युएई)बनेको छ । यस अवधिमा युएईमा २० हजार ४२४ जनाले श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । चालु आवको ११ महिनामा एक लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएर युएई पुगेका छन् । यस अवधिमा दोस्रो श्रम गन्तव्य साउदी अरब १३ हजार ३६६ जना, तेस्रो गन्तव्य कतार ११ हजार ९७३ जना गएका छन् । यस अवधिमा मलेसिया चौथो श्रम गन्तव्य आठ हजार ७५२ जनाले श्रम स्वीकृति लिएर गएका छन् । 

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई चालु आवको वैशाख महिनाबाहेक सबै महिनामा पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा साउदी दोस्रो र कतार तेस्रो श्रम गन्तव्य बनेको छ । यस्तै यस अवधिमा चौथो श्रम गन्तव्य मलेसिया, दक्षिण कोरिया नेपालीको पाँचौँ श्रम गन्तव्य बनेको छ । 

विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको ११ महिनासम्म युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गतका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य बन्न सफल भएको उहाँको भनाइ छ । 

विप्रेषण करिब बाह्र खर्ब 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले जेठ महिना सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको १० महिना (वैशाख) सम्म १२ खर्ब विप्रेषण (रेमिट्यान्स)भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आवको १० महिना (२०८० साउनदेखि २०८१ वैशाखसम्म) को देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रकम नेपाल भित्रिएको छ । अघिल्लो वर्ष सो अवधिमा तुलनामा १९.८ प्रतिशतले धेरै हो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्रमा सीता शर्माले समाचार लेख्नुभएको छ ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

लोकप्रिय