गणेश लामाले अपहरण गरी २० करोड फिरौती मागेको आरोप

अपहरणकारीलाई कारवाही नभएको ज्ञानेन्द्र खड्काको गुनासो

गणेश लामाले अपहरण गरी २० करोड फिरौती मागेको आरोप

काठमाडौं । अपहरणकारीलाई कारवाही नभएको भन्दै युवा व्यवसायी ज्ञानेन्द्र खड्काले गुनासो गरेका छन् ।

पुस २३ गते गणेश लामा र सहदेब कक्षपतिको समूहले आफुलाई अपहरण गरी बन्धक बनाएको भन्दै खड्काले कारवाहीको माग गरेका हुन् ।

लामा र कक्षपतिले आफुलाई ललितपूर धोलाहिटी आदर्श टोलबाट अपहरण गरेको सानेपाको लण्डन हाउस होटलमा लगेर आठ घण्टा भन्दा बढि बन्धक बनाएको उनको दावी छ । 

खड्काले एक विज्ञप्ति जारी गरेर कृप्टो करेन्सीको रकम ट्रान्सफर गर्नका लागि जवर्जस्ती दबाब दिई २० करोड रुपैयाँको कागज गराइएको बताएका छन् । ज्यानको सुरक्षाका कारण करकापमा परेर हस्ताक्षर गरे पनि ज्यानको सुरक्षाको कारण सार्वजनिक गर्न सकेको पनि उनले लेखेका छन । 
 उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस र पुलिसकोमा गइस भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गरेका छन । आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताएका छन । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए ।

‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भने।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए । खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जानकारी दिए ।
‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भने । 
 

आज यस्तो रहने छ मौसम

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

नेपाल–भारत सैन्य सहकार्य वार्ता हुँदै

काठमाडौं । नेपाल र भारतका सैनिकबिच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

लोकप्रिय