हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
चालु आर्थिक वर्षको हालसम्म २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा
काठमाडौं । विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिए ।
चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
डा. महर्जनका प्रतिबद्धताले किर्तिपुरबासीको मन जित्यो
काठमाडौं ।मंसिर १६ गते हुने उपनिर्वाचनका लागि देशभर राजनीतिक माहोल तातेका बेला कीर्तिपुर नगरपालिकाका मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार डा। शिवशरण महर्जनले सार्वजनिक गरेका प्रतिबद्धताले जनताको मन जितेको छ। त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक, किर्तिपुरमा खानेपानी, शिक्षा, यातायात लगायतका काममा अगुवाई गरेका सामाजिक अभियन्ता र सम्मानित व्यक्तित्वका रूपमा परिचित महर्जनले यसपटक नेकपा (एकीकृत समाजवादी), जसपा, नेसकाको समर्थन पाएका छन्, जसले यो प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। डा.महर्जनको प्रतिबद्धतालाई कीर्तिपुरको समृद्धि, स्वावलम्बन र शुद्ध प्रशासनको खाका मान्न सकिन्छ । उहाँको ३५ बुँदे प्रतिबद्धताले स्थानीय जनताको जीवनस्तर उकास्दै नगरपालिकाको समग्र विकासको परिकल्पना प्रस्तुत गरेको छ। उनी स्ववासी समस्याको तत्काल समाधान गर्न प्रतिबद्ध छन्। निःशुल्क फोहोरमैला व्यवस्थापन, खानेपानी र विद्युत् शुल्कमा सहुलियत र घरघरमा समानुपातिक खानेपानी वितरणजस्ता आधारभूत सेवाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्। महर्जनको योजना केवल आधारभूत सुविधासम्म सीमित छैन। उनले सबै क्षेत्रमा कालोपत्रे सडक विस्तार, चोभारदेखि सतुंगलसम्म सडक निर्माण र सार्वजनिक पूर्वाधारमा लगानीमार्फत नगरवासीको जीवनलाई सहज बनाउने दृष्टिकोण अघि सारेका छन्। यसैगरी, स्वास्थ्य सेवामा आमूल सुधारका लागि २५ शैयाको विष्णुदेवी अस्पताल निर्माण गर्ने योजना उनका मुख्य प्रतिवद्धतामा पर्छ। त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पतालको शाखा स्थापनादेखि स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी व्यवस्थित बजार निर्माण गर्नेसम्मका कार्यक्रमहरू उनको योजनामा समावेश छन्। पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उनको दृष्टि स्पष्ट छ। चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की सडक, सांस्कृतिक तथा जातीय सङ्ग्रहालयको स्थापना र कीर्तिपुरलाई सूचना प्रविधिमैत्री नगर बनाउँदै निःशुल्क इन्टरनेट सेवाको विस्तारले नगरको पहिचानलाई अझ बलियो बनाउने उनको योजना छ। महिला, युवा र खेलकुदको क्षेत्रमा उनले विशेष प्राथमिकता दिएका छन्। महिलाको लागि स्वरोजगार परियोजनाहरू सञ्चालन, युवालाई स्वरोजगारमुखी बनाउने र खेलाडीहरूको सम्मानका लागि मासिक भत्ताको सुनिश्चितता उनका ठूला कदमहरू हुन्। नगर खेलकुद परिषद् गठन गरेर सबैको पहुँच विस्तार गर्ने र चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउने योजना कीर्तिपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोगी हुनेछन्। डा। महर्जनको दृष्टिकोण मात्र विकास र समृद्धिमा सीमित छैन। उनले भ्रष्टाचारमुक्त र पारदर्शी शासन प्रणालीको वकालत गरेका छन्। सहकारी पीडितहरूको बचत फिर्ता गर्न पहल गर्ने, कर प्रणालीलाई सुधार गर्दै जनमैत्री बनाउने र विकास निर्माणका कार्यलाई सर्वपक्षीय ढंगले अघि बढाउने अठोटले उनको नेतृत्व क्षमतालाई उजागर गर्छ। डा.महर्जनको प्रतिबद्धता पत्र केवल वाचा नभई कीर्तिपुरवासीका लागि एउटा स्पष्ट मार्गदर्शन हो, जसले समृद्ध, सुशासनयुक्त, र आत्मनिर्भर नगर निर्माणको आधार तय गर्न सक्छ। कीर्तिपुरको राजनीतिक वातावरण तातेका बेला महर्जनको योजनाले मतदातालाई आकर्षित गर्न सक्ने विश्लेषण गरिएको छ। अब, कीर्तिपुरवासीको मतले उहाँका नगर बनाउने योजनालाई समर्थन गर्छ कि गर्दैन भन्ने विषयले यस निर्वाचनलाई थप रोचक बनाएको छ।
यस्तो रहनेछ आज दिनभरको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।
आज यस्तो रहने छ मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपाल–भारत सैन्य सहकार्य वार्ता हुँदै
काठमाडौं । नेपाल र भारतका सैनिकबिच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।