चीन भ्रमणबारे संसद्‌मा पराराष्ट्रमन्त्री श्रेष्ठ -'परम्परागत १४ नाका सञ्चालन हुने भएको छ'

चीन भ्रमणबारे संसद्‌मा पराराष्ट्रमन्त्री श्रेष्ठ -'परम्परागत १४ नाका सञ्चालन हुने भएको छ'

काठमाडौँ ।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत रहेको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चैत ११ गतेदेखि १९ गतेसम्म भएको चीन भ्रमण सफल भएको जानकारी गराए । 

उनले चीनसँग दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने आर्थिक विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गरेको र आर्थिक कूटनीतिलाई ध्यानमा राखेर छलफल गरेको उनले बताए । आर्थिक सहयोगात्मक सम्बन्धलाई केन्द्रमा राखेर छलफल गरेको उल्लेख गरे । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरूसँग छलफल गरेको बताउँदै मन्त्री श्रेष्ठले नेपाल चीन विविध आयामबारे चिनियाँ नेताहरूसँग छलफल गरेको बताउँदै द्विपक्षीय हितका विषयमा गहन छलफल भएको उल्लेख गरे । 

रसुवागढी नाका, तातोपानी नाका, कोराला नाका यसअघि नै सञ्चालनमा आएका र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए। यसबाट चीनको सीमानजिक बस्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला पनि क्रमशः सिमानाका क्रमशः खोल्दै जाने सहमति भएको श्रेष्ठले बताए । ती नाका नखुलेको सन्दर्भमा गम्भीर छलफल गरेर खुल्न नसकेका १४ वटा नाका सहमति भएको र तत्काल व्यवहारमा देखिनेमा आफू विश्वस्त रहेको बताए । 

मन्त्री श्रेष्ठले भने– ‘नेपाल चीनबिच विद्यमान मैत्री सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल चीन बीचमा परराष्ट्र मन्त्री स्तरमा एउटा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ । यस्तै मन्त्रीस्तरको यस्तो आयोग भारतसँग पनि रहेको छ । बीआरआई परियोजनालाई अन्तिम रूप दिनेबारे छलफल भएको छ ।’

मन्त्री श्रेष्ठले सन् २०१६ देखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई भिसा निःशुल्क गरेको र चीन भ्रमणमा जान चाहने नेपालीलाई पनि भिसा निःशुल्क गर्न माग गरेको उल्लेख गरे । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । साथै चीनले नेपाललाई आगामी दिनमा गुणात्मक सहयोग गर्न प्रतिबद्धता जनाएको बताए ।

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी,  राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।

शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।  संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।  सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।

गोरखामा विभिन्न पार्टीबाट दजनौं माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्धारा स्वागत

गोरखा । गोरखामा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश प्रवेश गरेका छन् । गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि.र डण्डी डाँडाको नव ज्योति मा.वि.को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा सहभागी हुनुपूर्व गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्डले विश्राम कुवँर,धनबहादुर कुवँर, अब्दुर करिम मियाँ,नासिर मियाँ,रिवल बहादुर सुनुवार लगायत दजनौं सामाजिक व्यक्तित्वलाई खादा,माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

लोकप्रिय