स्थानीय तहको तदारुकतामा आँबुखैरेनीका महिला फूल उत्पादनमा सक्रिय
तनहुँ । स्थानीय सरकारले प्रोत्साहन गर्न थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा सक्रिय भएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् ।
नेकपा माओवादी केन्द्रका युवा नेता शुक्र चुमानले नेतृत्व गरेको यो गाउँपालिका नेपालमै नमुना काम गर्दै अघि बढेको छ। पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।
यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकोमा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दशैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ ।
तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताए । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उनको भनाइ छ ।
लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताइन् । उनका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् ।
गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ ।
गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ ।
सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
बाग्लुङ । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन्। हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन्। सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए। जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्। यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन्। तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन्। काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताए। सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन्। दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताए। ‘विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामीसँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पु¥याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पुर्याउन पनि गाह्रो। त्यसैले सहकारीमार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ’, उनले भने, ‘अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ। त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ।’ चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ। सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु सात करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताए। यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उनले बताए। त्यस्तै निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ। ‘किसानहरूले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो। दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन्। हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ’, उनले भने, ‘किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट सङ्कलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।’ वि.सं. २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिए। सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको उनले बताए। ‘यो एक अभियान पनि हो। यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ। केहीले गाउँमै रोजगारी पाएका छन्। गत आर्थिक वर्षमा सङ्घले रु ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको थियो। सो रकमबाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ’, सचिव सापकोटाले भने।
भरतपुरमा १ करोड अनुदानको कृषि उपकरण वितरण
चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेका हुन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालको भनाई छ । यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उनले बताइन् । नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिइन् । महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको छ । यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप–सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको जानकारी दिए। उनले भने “गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ ।” डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा रु १० करोड, जनकपुर क्षेत्रमा रु एक करोड, हेटौँडा क्षेत्रमा रु आठ करोड, लुम्बिनी क्षेत्रमा रु चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा रु दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा रु एक करोड ५० लाख र काठमाडौँ क्षेत्रमा रु १३ करोड किसानको रकम भुक्तानी गरेको हो । डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रु छ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए। डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।
खडेरीले खेतबारीमै बाली सुक्न थाल्यो
म्याग्दी । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित् छन् । लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र मकै सुक्न थालेको छ भने जंगलमा लागेको डढेलोले वन जंगल उजाडिएको छ । पानीका मुहान सुकेका छन् । गाउँमा खानेपानीको समस्या उत्पन्न हुनुका साथै वायु प्रदूषणका कारण बिरामी बढेको स्थानीयले बताएका छन् । हिउँदयाममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका–२ का किसान टेकबहादुर विकले बताए । “हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको छ,” विकले भने । “वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायतका हिउँदेबाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा मकै छर्न पाएका छैनौँ । यस्तै भयो भने त भोकमरीले मरिने भयो,” मंगला गाउँपालिका– ५ का किसान टीका पौडेलले गुनासो गरे । लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले आलसतालस बनाइरहेको छ । किसान बारीमा मकै छर्न नपाएर छट्पटाइरहेको राष्ट्रिय जनमोर्चा म्याग्दीका पूर्वअध्यक्ष समेत रहेका मालिका गाउँपालिका–६ का कृषक छवि विश्वकर्माले बताए । “विपत्ति सुरू भएको छ । पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन । खेतमा छरेका मकै खेतमा नै सुकेको छ । बारीमा मकै छर्न नपाएर किसान चिन्तित छन् । तरकारी र फलफूलका बिरुवा मर्न थाले । वनजंगल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहान सुकिराखेका छन् । स्थिति हामीले सोचेभन्दा जटिल हुँदै गएको छ,” उनले भने । हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नांगिन थालेका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालमा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा परेको स्थानीयवासीको भनाइ छ । पर्याप्तमात्रामा हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेलगायत हिमाल रंग उडेझैँ फिक्का देखिन थालेका छन् । हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै गएर हिमाल काला पहाडजस्ता देखिन थालेको र जंगली फूलमा समेत त्यसको प्रभाव देखिएको किसानले बताएका छन् । आकाश खुल्न सकेको छैन । जताततै डढेलो लागेपछि तुवाँलोले वातावरण विषाक्त बनेको छ । घाम नलागे पनि गर्मी बढेको छ । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जंगली फूलमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । “मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्,” स्थानीय जनप्रतिनिधिको भनाइ छ । मकैबाली लगाउने याम घर्किसकेको छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताए । उनका अनुसार गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा राम्रोसँग वर्षा भएको छैन । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पुर्याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले बताए । म्याग्दीमा आकाशे वर्षाका भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन् । त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् । बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोत समेत खडेरीका कारण सुकेपछि धानका लागि बीउ राख्न समेत नपाएको किसानले गुनासो गरेका छन् ।