वीर अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न निर्देशन
काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार बसेको बैठकले विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।
त्यस्तै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय पनि समितिले गरेको छ।
बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए। त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए। सभापति थापाका अनुसार समितिले अपरेशन थिएटरहरुलाई २४ सैँ घण्टा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ।
त्यसैगरी समितिले वयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
सभापति थापाले उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय भएको जानकारी दिए। त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको मागको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीसँग छलफल गर्ने पनि निर्णय गरिएको छ ।
माओवादी र भ्रष्टहरू आमनेसामने हुने स्थिति बनेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र भ्रष्ट तत्व आमनेसामने हुने स्थिति बनेको बताउनुभएको छ । शनिबार दाङमाको घोराहीमा माओवादीको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यसविरुद्ध माओवादीले शान्तिपूर्ण संघर्ष गर्ने समेत बताउनुभयो। ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो।’ उहाँले थप्नुभयो, ‘शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ।’ प्रचण्डले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिने समेत बताउनुभयो। ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ। ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु।’उहाँले भन्नुभयो ।
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : अध्यक्ष प्रचण्ड
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताउनुभयो । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उहाँले शिक्षालय परिवारलाई आग्रह गर्नुभयो। सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतिक भएको नेपाली समाजमा स्थापित भइसकेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यर्पण गर्नुभएको थियो।
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन्।बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो, पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो हाजिरी जमानीमा रिहा भएका थिए। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो, जसका कारण उनी बिहिबार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो। प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन। बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका अधिकांश भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । यस्तै कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।