गैरआवासीय नेपाली नागरिकताको फाईदा र चुनौति विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली नागरिकताको फाईदा र चुनौति विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं ।  ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । एनआरएनए स्कटल्याण्ड राज्य परिषदले आइतवार आयोजना गरेको एनआरएन नागरिकताका फाइदा र चुनौति विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विचार व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. हेमराज शर्माले विदेशमा ८ प्रकारका नेपालीहरु रहेको बताउँदै विद्यमान नागरिकता सम्बन्धी संवैधानिक प्रावधानले सबै नेपालीलाई नसमेटेको स्पष्ट पारे ।

उनले गैरआवासीय नेपाली नागरिकता वितरण भए पनि आवश्यक ऐन कानुन संशोधन हुन नसक्दा नागरिकताको बारेमा दुविधा देखिएको जनाए । उनले गैरआवासीय नेपाली ऐन, संशोधन भएपछि मात्र एनआरएन नागरिकताको अधिकार र कर्तव्यका बारेमा कानुनी व्यवस्था हुने जानकारी गराए ।

मुलुकी देवानी संहिता, संविधानको धारा २९१, राहादनी सम्बन्धी ऐन, मतदानको व्यवस्था, राष्ट्रिय परिचयपत्र लगायतका विषयसँग जोडिएका ऐन कानून सांशोधन नभएसम्म गैरआवासीय नेपाली नागरिकता पूर्ण रुपमा लागू नहुने उनको भनाइ थियो । 


उनले गैरआवासीय नेपालीहरुको सम्पतिको सुरक्षाको लागि एनआरएन सम्बन्धी ऐनमा विशेष व्यवस्था गरिएको जानकारी दिए । डा.शर्माले भने, ‘प्रस्तावित संशोधित ऐनमा विदेशी नागरिकता लिएपछि पनि नेपाली नागरिकताको प्रयोग गरेर जोडेको सम्पति दुई वर्षभित्र स्वघोषणा गरेपछि कानुनी हुने गरी व्यवस्था गर्न लागिएको छ ।’


कार्यक्रममा नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनालले नेपालको संविधान अनुरुप एनआरएन नागरिकता वितरण सुरु भएता पूर्णरुपमा कानुनी व्यवस्था नहुँदा कार्यान्वयनमा अप्ठ्यारो रहेको बताए । उनले आवश्यक कार्यविधिहरु बनेर आइनसेकाले नेपाली दुतावासले नागरिकताको लागि सिफारिश दिन नसकेको जानकारी गराए ।  उनले सरकारको तर्फबाट प्रष्ट निर्देशन आएपछि दुतावासमार्फत एनआरएन नागरिकताको आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाए ।  

उनले नेपालका केही ऐन, कार्यविधि, नियमावली संशोधनको प्रकृयामा रहेको बारे जानकारी दिए । उनले सबै कानुनी प्रकृया पुरा भएपछि एनआरएन नागरिकता प्राप्त गरेकाहरुले पनि भिसा लिएर जानुपर्ने बाध्यता स्वतः अन्त्य हुने  बताए ।

एनआरएनए उपाध्यक्ष रामशरण सिमखडाले एनआरएन नागरिकताले आर्थिक, सांस्कृत र सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने बताए। उनले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नको लागि आवश्यक प्रकृयाको बारेमा जानकारी गराए ।


गैरआवासीय नेपाली नागरिकताको लागि संघका सम्पर्क व्यक्ति सरोज दाहालले गैरआवासीय नेपालीको नागरिकताको बारेमा जनचासो बढेको बताए । उनले गैरआवासीय नेपालीहरुको नागरिकता लगायतका मुद्दामा नेपालका राजनीतिक दलहरुको साझा धारणा रहेको बताए । 


कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङ, गैरआवासीय नेपाली संघको भूपूगोर्खा सम्बन्धी कार्यदलका संयोजक चन्द्र गुरुङ, काउन्सलर जीत रानाभाट, एनआरएनए यूकेका निवर्तमान उपाध्यक्ष मोहन कार्की लगायतले गैरआवासीय नेपाली नागरिकताको बारेमा जिज्ञासा राखेका थिए । 


गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष दिवाकर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनिष खत्रीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम रामप्रसाद कंडेलले सञ्चालन गरेका थिए ।

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानवपाइला टेकेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरिएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पूरा भएको छ । नेपालमा सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएको भन्दै रिट दायर गरेका थिए । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् । उक्त रिटमा सर्वोच्चले गत वैशाख २८ गते प्रतिवादीसँग जवाफ माग गरेको थियो भने जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउन आदेश दिएको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० साल असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका एमाले सांसदले समर्थन फिर्ता लिए पछि ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले पदमुक्त गर्दै वैशाख २७ गते हिक्मत कार्कीलाई नियुक्त गरेका थिए ।

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मंगलबार भेट गरेकी छन्। भेटका अवसरमा नेपाल र राष्ट्रसंघको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसंघले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ। भेटका अवसरमा जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ। सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आएकी हुन्।  सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेकी हुन् । रासस

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नवलपुर (नवलपरासी)। दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए ।   दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातिदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।   विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् । रासस

लोकप्रिय