काठमाडौँतराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँतराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निजगढ, फागुन ५ गते । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । 

मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए।

“ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ । केही खरिद प्रक्रिया टुङ्गिन बाँकी छन् । मुद्दा मामिलामा पनि गएका छन् । तर हामीले तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ”, उनले भने । खरिद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरूपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानुनी, प्रशासनिक तथा अरू कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुङ्ग्याउन सक्नुपर्ने पोखरेल बताउँछन् ।

करिब ७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा चार दशमलव छ, ललितपुरमा ९, मकवानपुरमा ४९ दशमलव ७० र बारामा सात दशमलव छ किलोमिटर पर्दछ । आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को  खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ । प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ । पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुङ्गिन सकेको छैन । अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ । 

त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ । यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया सुरु हुन सकेको छैन । अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङ बताए । 

खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये चार दशमलव ३२५ किलोमिटर अर्थात् ६७ दशमलव ४३ प्रतिशत खन्ने काम सकिएको छ ।

लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ ।

महादेवटार सुरुङमार्गको लम्बाइ तीन दशमलव ३५५ किलोमिटरमध्ये हालसम्म एक दशमलव ९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ एक दशमलव ६३ किलोमिटरमध्ये हालसम्म एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको छ । लेनडाँडा सुरुङमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म एक दशमलव २०४ किलोमिटर सुरुङ खनिएको छ ।

आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन् । सबै सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ । यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ ।

त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन् । यसको कुल लम्बाइ १२ दशमलव ८८५ किलोमिटर हुनेछ । बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेञ्ज बन्नेछन् । त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन् । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुलअन्तर्गत रहेका कुल दुई दशमलव ८०२ पाउन्डेसन फाइलमध्ये एक दशमलव ६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार चार सय १६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार दुई ४४ र व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनी रहेको छ । अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार एक सय ७२ रोपनीमध्ये हालसम्म चार हजार सात सय ७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । तीन सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । खोकना–बुङ्गमती क्षेत्रमा दुई सय १४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने एक सय ६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन । यो क्षेत्रमा कुल तीन सय ७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।

आयोजनाका लागि हालसम्म कटान गरिएका रुखको बदलामा एक अनुपात २५ का दरले वृक्षारोपण गरिएको  सेनाले जनाएको छ । आयोजनाका लागि कूल सात लाख चार हजार चार सय ४० बिरुवा रोप्नुपर्नेमा हालसम्म जम्मा सात लाख पाँच हजार पाँच सय ५२ बिरुवा रोप्ने कार्य सकिएको छ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्व बोकेको यो आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । आयोजनाको २०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । विसं २०७४ साउन २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको थियो । सोही वर्ष मङ्सिरदेखि नेपाली सेनाको जनशक्ति तथा राष्ट्रियस्तरका निर्माण व्यवसायीमार्फत द्रुतमार्गको ट्र्याक निर्माणको काम थालिएको थियो । गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्‍याइएको थियो । त्यस्तै, गत साउनमा आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन स्वीकृत भएको थियो । यसबाट लागत घट्ने अनुमान गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ । यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो । विसं २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण सुरु भएको हो ।गोरखापत्रबाट । 
 

रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ ।  पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।  आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो । पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो ।  सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ । 

मीनबहादुरको एमालेलाई जग्गा र भवन दानविरुद्धको मुद्दा दर्ता नै नगरी दरपीठ

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेलाई भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा र त्यसमा भवन निर्माण गरेर दान दिने निर्णयविरुद्धको मुद्दा सर्वोच्च अदालतले दर्ता नै नगरी हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइका लागि पेसी चढेको उक्त मुद्दा हेर्न नमिल्ने सर्वोच्च अदालतको अनलाइनमा उल्लेख छ।  प्रतिवादीमध्येका मीनबहादुर गुरुङका सम्बन्धमा न्यायाधीश सुवेदीले यसअघि मुद्दा फैसला गरेकाले यो मुद्दा हेर्न नमिल्नेमा राखिएको बताइएको रिट निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतको भनाई छ । निवेदक अधिवक्ताहरू बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिट निवेदनलाई कार्तिक १ मा सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेका थिए । निवेदकहरूको हकदैया स्थापित हुन नसक्ने भन्दै रजिष्ट्रारले उक्त रिट निवेदन दर्ता नगरी दरपीठ गरेका हुन् ।

राप्तीमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

लमही । दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका-२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने १२  वर्षीया  कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन् । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

बालिका बलात्कार अभियोगमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ

दाङ । भालुवाङमा दुई बालिका बलात्कार गरेको आरोपमा २९ न. ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् । सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुईजना पक्राउ परेको बताइएको छ । गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको बताइएको छ । दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए ।

लोकप्रिय