नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट लिनेको लाइन
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेल हेर्न टिकट कन्नेहरुको बिहानैदेखि लाइनामा बसेर टिकट किनिरहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरेको हो । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।
एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ।
एन्फाले अनलाइनबाट टिकट बिक्री नगरी प्रत्यक्ष भौतिक रुपबाट मात्रै टिकट किन्न पाइने व्यवस्था गरेकाले टिकट काट्नेहरुको लामो लाइन लागेको हो । यसअघि अनलाइन टिकट लिइसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।जसका कारण खेलप्रेमीहरुले अनावश्यक दुःख पाएका छन ।
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
आज काग तिहार
काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।
सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमानी
काठमाडौं । सुनको मूल्य आज पनि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा २२ सयले बढेर तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि मंगलबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २१२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनकोशी–मरिण डाइभर्सनको काममा ढिलाइ
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको आयोजनाको काममा ढिलाई भैरहेको छ ।गत असोज ११ र १२ गते सुनकोशी नदीमा आएको बाढीका क्षति पुर्याएको बाँधस्थलको काममा ढिलाई भएको हो । सिन्धुली र रामेछाप जिल्लाको सीमा क्षेत्र सुनकोशी नदीमा निर्माण भइरहेको सो आयोजनाको मुख्य बाँधस्थलमा बाढीले पु¥याएको क्षतिको विवरण संकलन गरी बाँध निर्माणको बाँकी कार्यलाई अगाडि बढाउने काम शुरु गरिएको बताईएको छ । राष्ट्रिय गौरवको रुपान्तरणकारी मानिएको सो आयोजनाको बाँध निर्माणको ठेक्का लिएको भारतीय निर्माण कम्पनी पटेल र नेपाली जेभी पार्टनर रमण कन्ट्रक्सन कम्पनीले काम संचालन गरिरहकै अवस्थामा बाढीले क्षति पुर्याएको बताइएको छ । बाढीले विभिन्न उपकरणहरु लगायत निर्माण भएको कफर ड्याममा समेत क्षति पुर्याएको र क्षतिको पुर्ण विवरण संकलन भइरहेको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र वरालले जानकारी दिनुभयो । बरालका अनुसार आयोजनाको बाँध निर्माण कार्य भने सुनकोशी नदीमा पानीको बहाव कम भएपछि शुरु गरिने छ । सो आयोजनाको १३ दशमलव ३ किलोमिटर दुरीको सुरुङ निर्माणको कार्य सम्पन्न भइसकेको छ । सो आयोजनाको आर्थिक वर्ष २०८२÷८३ सम्म सम्पुर्ण निर्माणका कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।