स्थानीय तह उपनिर्वाचन : बढ्यो माओवादी केन्द्रको जनमत र सिट

काठमाडौं ।मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । देशभरको अवस्थामा तीन दलको मुख्य प्रतिस्पर्धा देखिएको छ । जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक नजिताबाट माओवादी हौसिएको छ, एमाले खुम्चिएको छ भने कांग्रेस निराश बनेको छ । किनभने माओवादीको जनमत र सिट दुवै बढेको छ । पहिले आठ वटा स्थानमा जितेको माओवादी केन्द्रले ११ स्थानमा विजय हासिल गरेको छ । यससँगै १२२ स्थानीय सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अब १२३ स्थानीय सरकारको नेतृत्व गर्ने भएको छ । पराजित बनेका अधिकांश स्थानमा दोस्रो स्थान हासिल गरेको छ । निर्वाचनको मत परिणाम अनुसार माआवादी केन्द्र कांग्रेस एमालेको विकल्पका रुपमा उभिएको छ । जसका कारण पनि माओवादी केन्द्र उत्साहित बनेको हो।
त्यस्तैगरी, कांग्रेस र एमालेले सिट र जनमत दुवै गुमाएका छन् । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए। तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो। मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए। त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो। ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै चुनिएका छन्। ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले ८ स्थानमा जित निकालेको छ। यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक-एक ठाउँ जितेका छन्। यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ।
माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ। कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका उल्लेख्य सिट गुमाएको छ। एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ। ४१ सिटको मत परिणाम यस्तो छ सोमबार साँझ आएको नतिजाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। उनले ५ हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाए।
उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा माओवादीको जित भएको छ। त्यहाँ माओवादीका भरत घिमिरेले ५५९ मत ल्याए। एमालेका मोहन खड्का ५२५ मत पाएर पराजित भए। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन्। माओवादीकी तिमिल्सिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढालाई पराजति गरेकी हुन्। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्। उनले २ हजार ८०५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत ल्याएर पराजित हुन पुगिन्। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाए।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भएका छन्। उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मतमा चित्त बुझाउनुपरेको छ। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने ४ हजार २७२ मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द ९सिंह० ले ३ हजार १४७ मत पाए। रुकुम (पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा ३ हजार ६२७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्रै पाइन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। उनी १ हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन्। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरिन्। झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत पाएका छन्। तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४ सय ४० मत प्राप्त गरी विजयी भएका छन्। उनीसँग एमालेका बुद्धबहादुर लिम्बु ३६० मत प्राप्त गरी पराजित भए। सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भएका छन्। ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए। उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई विजयी भए। उनले ९ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन्। उनीसँग कांग्रेसका भुलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भइन्। डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका जोगीन्द्रराय अमातले २७७ मत पाए।
धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे। महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिबुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरेका छन्। रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी भएका छन्। एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए। रौतहटकै गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६३१ मत पाइन्। रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी भएका छन्। माओवादीका जिकरलाह ४६३ मत पाएर पराजित भए। नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरी पराजित भए। काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए। कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान १ हजार ५६० मतसहित पराजित भए। गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत पाए। गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले १ हजार १८४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले १ हजार १५० मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत पाए। रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका बेगम पुनले ५३५ मत पाए। बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए।
कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा चित्त बुझाउन पुगिन्। जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाएर पराजित हुनुपरेको छ। दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाएका छन्। रुकुम ९पश्चिम भाग० को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भएका छन्।
उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए। बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मत पाएर पराजित भए। डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मतमा सीमित हुनुपरेको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मत पाएर पराजित भए।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मतमै चित्त बुझाउनुपरेको छ।
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” उहाँले भन्नुभयो, “यसपटक जित्न विशेष प्रयास गर्यौं, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौं।” अध्यक्ष प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो।” उहाँले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमिक्षा गर्दै देशव्यापी जनता सङ्ग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। ती अभियान अन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले देशव्यापी अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद भइरहेको बताउँदै भन्नुभयो, “हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद तथा बेपत्ता परिवारसँग आत्मीय सम्बन्ध बनायौं। हामी जनतासँग एकाकार भएर अगाडि बढेका छौं। जनतामा माओवादीप्रति विश्वास र भरोसा जाग्दै गएको छ।” उहाँले तराईमा झन्डै करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद भएको छ र जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारीको बोध गराएको बताउनुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो। उहाँले नेवार समुदायलाई प्राथमिकता दिनका लागि पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियानलाई जेठ २१ पछि सारिएको समेत बताउनुभयो। नेवार संस्कृतिमा समाजवादको भ्रूण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजवादी संस्कृतिको भ्रूण नेवार समुदायमा रहेको छ। समाजवादको खोजी नेपाली संस्कृति, जाति, र परम्परामै गर्नुपर्छ।” अध्यक्ष प्रचण्डले हुलाकी अभियानमा तराईमा ८–९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिनुभयो। उहाँले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीन वटा पार्टीसँग निषर्त एकता गरिने जानकारी समेत दिनुभयो। “अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारमा जाँदा पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं। हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं।” अध्यक्ष प्रचण्डले पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्नुभयो। उहाँले जनतामाझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा माओवादीलाई अगाडि बढाउने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।
मध्यपहाडी अभियानको पहिलो चरण सम्पन्न, प्रचण्डसहित माओवादी नेताहरू राजधानी फर्किए
काठमाडौं, नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको "जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनअभियान"को पहिलो चरण सम्पन्न भएको छ। अध्यक्ष प्रचण्डसहितको पदाधिकारी टोली हिजो शनिवार काठमाडौं फिर्ता भएको हो। यो अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरू भई कास्कीमा सम्पन्न भएको थियो। पहिलो चरणको क्रममा हजारौं जनतासँग प्रत्यक्ष संवाद, सहिद परिवारहरूसँग भेटघाट तथा छलफल, ज्ञापनपत्र संकलन, र विभिन्न जनसमूहसँग जनसंवाद कार्यक्रमहरू सञ्चालन गरिएको थियो। अभियानका क्रममा अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको ऐतिहासिक पहलबाट निर्माण भएको स्मरण गराउँदै, यो अभियान माओवादी मात्र नभई राष्ट्रिय अभियान भएको घोषणा गरे। उनले भने, “यो अभियान जनतासँगको आत्मीय संवाद मात्र होइन, राष्ट्रिय रुपान्तरणको महत्वपूर्ण अभियान हो।” पहिलो चरणमा देखिएको उत्साहपूर्ण जनसहभागिताले अभियानको प्रभावकारिता पुष्टि गरेको छ। विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रममा युवादेखि वृद्धसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानलाई विभिन्न राजनीतिक दल तथा स्थानीय तहले समेत स्वागत गरेका थिए। अब अभियानको दोस्रो चरण जेठ १५ पछि सञ्चालन गरिने भएको छ। दोस्रो चरणमा मध्यपहाडी लोकमार्गसँग प्रत्यक्ष रुपमा जोडिएका बाँकी जिल्लाहरू समेटिनेछन्। यस चरणमा पनि माओवादी केन्द्रका शीर्ष नेताहरूको सहभागिता रहनेछ। माओवादी केन्द्रले यो अभियानलाई जनभावना बुझ्ने, संगठन सुदृढ गर्ने र राजनीतिक जागरण फैलाउने उद्देश्यसहित सञ्चालन गरेको हो। सहिद परिवारहरूसँगको संवाद, जनताका मुद्दाहरूको पहिचान र स्थानीयस्तरका समस्याहरूको समाधानमा केन्द्रित अभियानलाई दोस्रो चरणमा झनै प्रभावकारी बनाउने तयारी भइरहेको छ। दोस्रो चरणको विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने जनाइएको छ।
गठबन्धन सरकारको विधेयकमा कांग्रेसकै संशोधन प्रस्ताव
काठमाडौँ, नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धन सरकारद्वारा प्रस्तुत भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलकै सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका छन्। आफ्नै सरकारको विधेयकप्रति असहमति जनाउँदै सरकार सञ्चालन संयन्त्रका सदस्य समेत रहेका कांग्रेस सांसद गगन थापाको नेतृत्वमा ७ बुँदे संशोधन प्रस्ताव संसद सचिवालयमा शुक्रबार दर्ता गरिएको हो। यो कदमले सत्तारुढ दलभित्रै विधेयकको विषयमा नीतिगत स्पष्टता र समन्वयको अभाव रहेको संकेत गरेको छ। यसअघि अध्यादेशका रूपमा आउन खोजेको विधेयक सरकारलाई समर्थन गरिरहेका दलहरूको असहमतिका कारण आउन सकेको थिएन। शुक्रबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस सांसदहरू र कानुनी विज्ञहरूसँगको छलफलपछि संशोधन प्रस्ताव तयार पारिएको हो। गगन थापासँगै महामन्त्री विश्वप्रकाश शर्मा, नेता दीलेन्द्रप्रसाद बडू लगायतका नेताहरू प्रस्तावकका रूपमा रहेका छन्। संशोधन प्रस्तावमा घरजग्गा व्यवसायको नाममा कृषि वा औद्योगिक प्रयोजनका लागि छुट लिएको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था स्पष्ट पारिएको छ। यसरी प्राप्त छुटको दुरुपयोग गरी घरजग्गा व्यवसाय गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कांग्रेसले विशेष ध्यान दिएको देखिन्छ। संशोधनको अर्को मुख्य अंशमा अव्यवस्थित वसोवासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको परिभाषालाई भूमिसम्बन्धी ऐनमै स्पष्ट रूपमा समेट्नुपर्ने माग गरिएको छ। साथै, उनीहरूलाई जग्गा उपलब्ध गराउँदा निष्पक्ष र पारदर्शी आधार तय गर्नुपर्ने पनि प्रस्तावमा उल्लेख गरिएको छ। त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रसँग सम्बन्धित भूमिहरूको नक्सांकन गर्दा तथ्यमा आधारित पुनः मूल्याङ्कन आवश्यक भएको बताइएको छ। अभिलेखमा वन भनिएको जग्गा वास्तवमा वन नभएमा पनि त्यसलाई पूर्ववत् वन क्षेत्रकै रूपमा कायम राख्ने प्रावधानप्रति कांग्रेस सांसदहरूले आपत्ति जनाएका छन्। कांग्रेस नेतृत्वको सरकारले ल्याएको विधेयकमा आफ्नै सांसदहरूबाट संशोधन दर्ता हुनु नेपाली राजनीति र नीति निर्माण प्रक्रियामा गम्भीर सन्देश हो। यो भूमि विधेयक भूमाफियाहरूको पक्षमा ल्याउन खोजेको भन्दै प्रतिपक्ष नेकपा माओवादीले आलोचना गर्दै आएको छ।
कास्कीका पाँच वामपन्थी दलले अध्यक्ष प्रचण्डलाई बुझाए ज्ञापनपत्र
कास्की ‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाउनुभएको छ। उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी हुनुहुन्थ्यो । उहाँहरूले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष प्रस्तुत गर्नुभएको थियो।