माओवादी केन्द्रले एक लाख लिची र कागतीको बिरुवा रोप्ने

माओवादी केन्द्रले एक लाख लिची र कागतीको बिरुवा रोप्ने

दमक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ । संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए।

उनका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो। जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्र दमक नगर कमिटिले जनाएको छ ।

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड

गोरखा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकको देश हो’– नेपाल प्राकृतिक रुपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर, एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ । यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन संभव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’ आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरें, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए ।’ देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले बैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौं नेपाली श्रमिक आबद्ध भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरुले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको छु, गरे नहुने केही पनि छैन, नेपाल बनाउन संभव छ, हामीले नै बनाउने हो ।’ यति राम्रो संभावना हुँदाहुँदै पनि नेपालका गाउँहरु विस्तारै युवाविहीन हुँदै गरेको र बाझो बढ्दै गएको डरलाग्दो तथ्यप्रति गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले आम जनताले आफ्ना छोराछोरीलाई बिदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधारहरु बढ्दै गएको बताउनुभयो । कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलापमा वृद्धि गर्दै युवाहरुका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न आफ्नो पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि स्थानीय तहबाट समाजवाद निर्माणको ऐतिहासिक पहल अघि बढाउन थालेको जानकारी दिनुभयो । ‘हामी पर्सीदेखि हाम्रो पार्टीले जितेका पालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको राष्ट्रिय भेला गरेर स्थानीय तहबाट समाजवादी अर्थतन्त्रको सुरुवातका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दै छौं’– उहाँले भन्नुभयो– ‘स्थानीय विशेषताअनुसारको आर्थिक विकास नै समाजवाद निर्माणको जग हुनेछ ।’ पार्टीले लगत्तै जनतासँग माओवादी तराई मधेश जागरण अभियान र वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु गर्न थालेको उल्लेख गर्दै यो देश जोड्ने अभियान हुने बताउनुभयो । ‘हामी यी अभियानलाई औपचारिक कार्यक्रम मात्र होइन, पार्टीले अघि बढाएको समाजवाद निर्माणको कार्यक्रमको मुख्य पृष्ठपोषणको रुपमा लैजाने छौं’– उहाँले भन्नुभयो– ‘देशभरिका संभावना र जनताको मनोविज्ञान उनीहरुले चाहेजस्तै आर्थिक विकासका कार्यक्रम जनस्तरबाटै सुरु गर्ने, आफ्नो वर्ग र समुदायमा फर्केर सुशासनका पक्षमा राष्ट्रिय एकता जागृत गर्ने अभियानको उद्देश्य हुनेछ ।’ गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका अध्यक्ष प्रचण्डले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताउनुभयो । छिमेकी देशको भ्रमणका क्रममा समेत आफूले गोरखालाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले चीनसँग गोरखामा एउटा कृषि औद्योगिक पार्क बनाउने समझदारी भएको पनि जानकारी दिनुभयो ।

सहिद साझा सम्पत्ति हुन्, सम्मान गर्नु राज्यको दायित्वः प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन संभव भएको र उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ। गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’ पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचिमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो । सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिनुभयो । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उहाँले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशब्यापीरुपमा अघि बढेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिंदै उहाँले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गर्नुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरुका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका विरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो । 

जनताको अवस्था बदल्न एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकताः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत् बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘७५ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’– उहाँले सन्देशमा भन्नुभएको छ– ‘आजको दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’ नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उल्लेख गर्दै उहाँले आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ । सामाजिक न्याय, सुशासन र समृद्धिको मूल एजेण्डामार्फत् बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो । प्रजातन्त्र दिवसले देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हलेसीमा आगलागीबाट थप क्षति हुन नदिन गम्भीर बन्न प्रचण्डद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट सुरु भएको आगलागी फैलँदै जाँदा क्षति बढ्ने खतरा देखिएको उल्लेख गर्दै उनले यसलाई गम्भीरतापूर्वक लिएर थप क्षति हुन नदिन सरकारी निकायहरूको ध्यानाकर्षण गराएका हुन्। खोटाङको हलेसी बजारस्थित पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो अहिले वरपरका घरमा पनि सल्किएको छ।

लोकप्रिय