सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

धनगढी।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गरेकी छिन्।
चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्।
‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका कयौं जिल्लाहरुमा अझै पनि छाउपडीजस्ता अमानवीय प्रथाहरु बाँकी छन्’, मन्त्री शर्माले भनिन्, ‘हामीले संविधान र कानुबाट जातीय छुवाछुत, लैंगिक विभेदजस्ता थुप्रै असमानताको अन्त्य गर्यौं तर व्यवहारमा अहिले पनि पूर्ण रुपमा हटिसकेको छैन । यस्ता विकृति र विसंगतिको अन्त्य गर्ने महत्वपूर्ण माध्यमको रुपमा कला संस्कृतिलाई अघि बढाइनुपर्छ, त्यसमा पनि चलचित्र क्षेत्र सशक्त माध्यम हुनसक्छ।’ विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त अधिकारलाई जनताको जीवनसँग अब सामाजिक रुपान्तरण आवश्यक भएकाले यसलाई सबैले साझा अभियान बनाउनुपर्नेमा उनले जोड दिइन्
बालबालिकाहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउन र बालबालिकाहरूमा चलचित्र निर्माणको चासो बढाउन सफल यो महोत्सव उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले यस्ता महोत्सवबाट अन्तराष्ट्रियस्तरमा हुने महोत्सवहरुमा नेपालको सहभागी बढाउन सहयोग पुग्ने पनि बताइन्। नेपालबाट नेपाली बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रयस्तरमा प्रतिष्पर्धा गर्न लायक बनाउनुपर्ने उनले स्पष्ट गरिन् ।
बालबालिकाको हकहितका सवालमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालका बालबालिकाको हकहितमा के कस्ता नियम कानुन रहेका छन् र यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने सन्दर्भ पनि बाल चलचित्र निर्माणका कथावस्तु बनाउनुपर्ने धारणा राखेकी छन्। नेपालले बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाजको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारको हिंसा, दुव्र्यवहार र शोषणबाट मुक्त गर्नुपर्ने बताइन्।
मन्त्री शर्माले सरकारले नेपाली चलचित्रको प्रवर्धनलाई जोड दिएको उल्लेख गर्दै समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रोत्साहन र प्रवर्द्धन गर्न बजेट व्यवस्था गरिएको बताइन्। चलचित्र क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी मौलिक, गुणस्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणको लागि चलचित्र विकास बोर्डमा पोस्ट प्रोडक्सन ल्याब स्थापनाको कार्य प्रारम्भ भएको र बक्स अफिस प्रणालीलाई स्तरोन्नति गर्दै लगिएको जानकारी दिंदै उनले चलचित्र क्षेत्रबाट राष्ट्रका लागि योगदान गर्ने चलचित्रकर्मीहरुको सम्मानका लागि परिचयपत्र प्रदानदेखि चलचित्र क्षेत्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने चलचित्रकर्मीहरुलाई सम्मान र पुरस्कार लगायतका व्यवस्थाले पनि नेपाली चलचित्र क्षेत्रको प्रवर्धनमा टेवा पुग्ने विश्वास रहेको बताइन्।
बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुपा चौधरीलगायतले शुभकामना दिएका थिए । महोत्सव असार ९ गतेसम्म चल्नेछ ।
अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही
काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्। यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।
यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने
काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता जेठ २४ गते काठमाडौंको नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा हुने भएको छ। प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शनिबार आयोजित पत्रकार सम्मेलनमा यसअघि तीन संस्करण साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेपछि पहिलोपटक शारीरिक सुगठन प्रतियोगिता गर्न लागिएको जानकारी दिइन्। राष्ट्रिय तथा प्रदेश खेलकुद परिषद्को सहयोगमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ वटा तौल समूह (६०, ६५, ७०, ७५, ७५ केजीभन्दा माथि) र महिलातर्फ खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। देशभरका जिल्लाबाट करिब १०० जना खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्न पाउने छन्। पुरुष ओभरअल विजेताले “प्रथम मिस्टर प्रज्ञा स्मृति” उपाधिसहित रू। २।५ लाख प्राप्त गर्नेछ भने महिलातर्फ प्रथम हुनेले रू.१ लाख पाउनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार र अनुमानित खर्च ३५ लाख ३५ हजार रहेको आयोजकले जनाएको छ। स्व. प्रकाश र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकुद र युवानेतृत्व विकासजस्ता क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।