साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स
काठमाडौं । साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो ।
उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् । छाला रोग विशेषज्ञ डा. सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको हो ।’ ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अबरकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए ।
उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो ।
गत पुस ५ मा साउदी अरबबाटै फर्केका तनहुँका ३६ वर्षीय पुरुषलाई पनि मंकीपक्स पुष्टि भएको थियो । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकको घाउ लगभग सुकिसकेको बताए । ‘नयाँ घाउ पनि देखापरेको छैन,’ उनले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’
चिकित्सकका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, शरीरबाट निस्किएको थुक, र्याल, घाउ, खटिरा, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । तर, सिन्धुलीका युवामा संक्रमण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित निकायले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमित व्यक्तिको परिवारलाई मंकीपक्सबारे जानकारी रहेको र सतर्कता अपनाउन भनिसकेको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी पठाउने तयारी छ,’ उनले भने, ‘साउदी अरबमा मंकीपक्स संक्रमित अन्य नेपालीको अवस्थाबारे जानकारी दिन त्यहाँको सरकारी संयन्त्रलाई आग्रह गरेका छौं ।’
साउदी अरब नेपालीको रोजगारीको प्रमुख गन्तव्यमध्येमा पर्छ । त्यहाँ मात्र ४ लाख नेपाली श्रमिक कार्यरत छन् । निर्देशक घिमिरेका अनुसार साउदी अरबको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय इन्टरनेसनल हेल्थ रिप्रेजेन्टेटिभ (आईएचआर) सँग त्यहाँ कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिने प्रयास जारी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । गत जनवरी यतामात्र उक्त भाइरसका कारण विश्वभरि पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मंकीपक्स संक्रमण बढिरहेको भन्दै सबै मुलुकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सन् २०२२–०२३ मा पनि मंकीपक्स विश्वव्यापी प्रकोपका रूपमा फैलिएको थियो ।
मंकीपक्स बिफर रोग लाग्ने प्रजातिको भाइरसबाट संक्रमण हुने गर्छ । एमपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि पनि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । छाला रोग विशेषज्ञहरूका अनुसार यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने गर्छ । टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ ।
स्वास्थ्य मन्त्रालयले छिमेकी देशमा मंकीपक्स भाइरसको संक्रमण बढिरहेकाले नेपालीलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ । हवाई तथा सीमा नाकाका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सातवटै प्रदेशमा मंकीपक्स रोकथाम तथा व्यवस्थापनका लागि अस्पताल र फोकल पर्सन तोकेका छौं,’ उनले भने, ‘कसैलाई शंकास्पद देखिए परीक्षण गर्न आग्रह गर्छु ।’
कान्तिपुर दैनिकबाट
आज तीन प्रदेशमा मौसम बदली, तराई र उपत्यकामा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका धेरै स्थानसहित उपत्यका क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तीन प्रदेशको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
जनमत पार्टीले मनायो राष्ट्रिय धोती दिवस
काठमाडौं । काठमाडौं- जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त(सिके) राउतले लामो संघर्षपछि मुलुकमा गणतन्त्र आइसक्दा पनि पश्चगामी मानसिकता अझै कायम रहेकाले धोती दिवस मनाउन बाध्य भएको बताएका छन्। बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पती हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ,’ उनले भने,’नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो। लामै संघर्ष गर्यौँ। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ। आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो।’ उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो-आफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए। राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
स्याङ्जामा एक अर्ब २५ करोडको सुन्तला बिक्री
स्याङ्जा । स्याङ्जामा यसवर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालका अनुसार गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा १५ प्रतिशत समेत वृद्धि भएको हो। अघिल्लो वर्षमा पनि अत्याधिक सुन्तला उत्पादन भएको थियो। यसवर्ष २० देखि २१ हजार मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाले जनाएको छ। अघिल्लो वर्ष २२ हजार मेट्रिक टन र गतवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लाभर २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ। ती मध्ये १ हजार ३ सय ७० हेक्टरमा सुन्तलाले उत्पादन दिएका छन् भने बाँकी ८ सय ८० हेक्टरमा हुर्कदो अवस्थाका सुन्तला छन्। जिल्लाभर ४ हजार भन्दा बढी सुन्तला व्यवसायी किसान छन्। यहाँका ११ पालिकाका ९७ वडामध्ये ७/८ वडा बाहेक सबै वडामा सुन्तलाको उत्पादन राम्रो छ। कालीगण्डकी गाउँपालिका र चापाकोटका केही वडा बाहेक अन्य सबै पालिकामा सुन्तलाका खेती विस्तार भएका छन्। विसं. २०७३ सालमा सुन्तला जोन सञ्चालनको स्वीकृत पाएपछि सुरुमा १७ वडामा परियोजना लागू भएको थियो। पछिल्ला केही वर्षयता भने जिल्लाभर सुन्तला सुपरजोन परियोजना समेटिएको छ। सबै ठाउँमा सुन्तलाको उत्पादन हुने भएकाले ब्लक, पकेट कार्यक्रममार्फत् जिल्लाभर समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना इकाई कार्यालयले जनाएको छ। स्थानीय पालिका,प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना र कृषि ज्ञान केन्द्रमार्फत् पनि किसानलाई आवश्यक सहयोग हुँदै आएको छ। तर, सुपरजोन परियोजनाको भने सहयोग उल्लेख्य छ। सुन्तला रोपण र उत्पादनमा जोड दिँदै यसका लागि वनजंगल फडानीदेखि स्याहार सम्भार,खाद्य पोषणलगायतसम्मका गतिविधि र उपकरण खरिदलगायतमा केही प्रतिशत छुटदेखि अनुदानसम्मका सुविधा उपलब्ध गराउँदै आएको बरिष्ट कृषि अधिकृत अजय अधिकारीले जानकारी दिए। सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ। सुन्तलाबाटै बर्सेनि करोडौं रुपैयाँ भित्रयाइन्छ यहाँ। यहाँका पाखा, पखेरा र खेत बारीका गहगह्रामा सुन्तला झुलेका छन्। हिजोआज सुन्तला पाकेर पहेंलपुर बनेका छन्। सुन्तलाको बिरुवा रोपेको ५ देखि ६ वर्षभित्रमा फल दिने हुँदा किसानको विशेष रुची सुन्तला खेतीमा गएको हो। अझ कलमी बिरुवाले त रोपेको दुई/तीन वर्षमै फल दिन थाल्छ। वर्षको दुई/चार पटक मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन हुन्छ। बर्सेनि ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने दर्जनौं किसान छन् यहाँ। यहाँका प्रायजसो सबैका घर घर सुन्तलाका बिरुवा छन्। स्थानीय पालिकाले पनि सुन्तलालाई विशेष प्राथमिकतामा राखेको छ। सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुन्छ। कूल उत्पादनको ३० प्रतिशत भन्दा बढी पुतलीबजारमा सुन्तला उत्पादन हुने गर्दछ। पुतलीबजार, वालिङ्, अर्जुनचौपारी, भीरकोट, बिरुवा, आँधीखोला, गल्याङमा अत्याधिक सुन्तला खेती हुन्छ। यसैगरी, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। कालीगण्डकी, चापाकोट र हरिनासका केही बडा बाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ। स्याङ्जामा आन्तरिक रुपमा कार्त्तिकको अन्तिम सातादेखि नै सुन्तला खरिद बिक्री सुरु हुन्छ। सुन्तला व्यापारी पनि मंसिर पहिलो सातादेखि नै किसानका घर बगैचामै पुगेर किन्ने गर्छन्। अहिले सुन्तला व्यापारी बगैचामा पुगिसकेका छन्। यहाँका सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, चितवन, नारायणघाट,काठमाडौं हो।
बाँके कुष्ठरोगको उच्च जोखिममा
बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिए । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो । बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए । अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत गत आर्थिक वर्षमा १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको थियो । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारुले बताए । अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारुले जानकारी दिए । गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच आठ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार तीन सय १८ रहेको थियो । सन् १९९६ मा नेपालगञ्ज टिवी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले सुविधा सम्पन्न भवनबाट पश्चिम नेपाल र आसपासको क्षेत्रका कुष्ठरोगीको उपचार सेवा प्रदान गर्दै आएको आएको अस्पताल प्रमुख थारुको भनाइ छ । जानकी–१ का सेवाग्राही गुलाम हसमत साईले कुष्ठरोग प्रभावित बिरामीलाई आइएनएफको साइनिङ अस्पताल भगवान् जस्तै बनेको बताए । आफूले साइनिङ अस्पतालको माध्यमबाट उपचार पाइरहेको उल्लेख गर्दै धेरैको ज्यान जोगाउन अस्पतालले उल्लेखनीय भूमिका खेलेको उनको भनाइ छ । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा आइएनएफले कुष्ठरोग निवारण काक्र्रक्रममा सहयोग पुग्ने गरी सेवा प्रवाह गरेको जानकारी दिँदै अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । कुष्ठरोग अहिले पनि जनस्वास्थ्यको समस्याका रूपमा रहेको बताउँदै रानाले समाजमा रोगीहरू लुकेर बसेको हुनसक्ने भएकाले शिविरअन्तर्गत खोजी अभियान सञ्चालनको आवश्यकता रहेको औँल्याए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।