काठमाडौंमा कुटपिटबाट हत्या, तीन पक्राउ

काठमाडौंमा कुटपिटबाट हत्या, तीन पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर स्थायी घर भएर कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मंगलबार अपराह्न ३:२० बजेतिर नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सुर्खेत घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ४३ वार्षीय होमबहादुर फौजामगर अचेत अवस्थामा फेला परेका थिए ।

लगत्तै प्रहरी वृत्त, बौद्धबाट खटिएको टोलीले उनलाई उद्दार गरेर उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएको थियो । तर, चिकित्सकहरुले उपचारका क्रममा उनलाई मृत घोषित गरेका थिए । अनुसन्धानका क्रममा मगरलाई विभिन्न व्यक्तिहरुले कुटपिट गरेको खुलेको थियो ।

यस वर्षको दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराईले जानकारी दिए । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैंको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ । यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ ।

लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौं । लेबननमा युद्ध चर्किरहेका बेला संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका नेपाली शान्ति सैनिकहरू "हालसम्म सुरक्षित रहेको" नेपाली सेनाले जनाएको छ। हिजबुल्लाहविरुद्ध इजरेलले लेबननको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणका क्रममा केही शान्ति सैनिकहरू घाइते भइसकेका छन्। शान्ति सैनिकहरू घाइते भएको विवरण आएसँगै त्यहाँ रहेको नेपाली फौजबारे पनि सामाजिक सञ्जालमा धेरैले चासो र चिन्ता व्यक्त गरिरहेका छन्। लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज अर्थात् यूनिफिलमा योगदान गर्ने ३४ वटा देशहरूले शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेका छन्। लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले आफ्ना शान्ति सैनिकहरू घाइते हुनुका साथै शान्ति सैनिकहरू रहेका शिविरहरूमा आईडीएफले हस्तक्षेप गर्ने गरेको विवरण सार्वजनिक गरिरहेको छ। इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना 'तत्काल' त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका थिए। तर संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाका प्रमुखले त्यसलाई अवज्ञा गर्ने बताएका छन् र शान्ति सेना सैनिकहरूलाई यथास्थानमा बस्न निर्देशन दिएका छन्।

दसैँ मनाउन घर गएकाहरु उपत्यका फर्कने क्रम तीब्र

काठमाडौं । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेको छ । उपत्यका प्रवेश गर्ने नाकामा यात्रुको चाप बढेको छ । भक्तपुरको जगाती, काठमाडौंको बल्खु, नागढुंगा र माछापोखरीलगायत नाकाबाट यात्रु उपत्यका भित्रिने क्रम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैँको टीकाको दिन शनिबारदेखि मंगलबारसम्म चार लाख यात्रु उपत्यका भित्रिसकेका छन् । यीमध्ये तीन लाख यात्रु बस र मिनीबसबाट भित्रिएका थिए भने अन्य यात्रु हवाईजहाज, भ्यान, कार, ट्रकलगायत सवारीसाधनबाट भित्रिएका हुन् । प्रहरीका अनुसार विजयादशमीको दिनयता हवाईमार्गबाट करिब १० हजार यात्रु उपत्यकामा भित्रिएका छन् । यसपटक दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या करिब १२ लाख थियो । सडकको असहज अवस्थाका कारण विगतमा भन्दा यसपटक उपत्यका छाड्नेको संख्या कम छ ।  

आज यी प्रदेशमा हुने छ हल्का वर्षा

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

लोकप्रिय