नरैनापुर गाँउपालिकाले आज बजेट ल्याउदै

नरैनापुर गाँउपालिकाले  आज बजेट ल्याउदै

बाँके। बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट आज ल्याउने जनाएको छ। गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले बताए।

नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ ।

गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको जनताको लागि लोक प्रिय बजेट ल्याउने तयारी गरेको बताउनु भयो । उहाँले गाँउ सभा आज बेलुका सम्म सम्पन्न हुने गरी तयारीमा जुटेका जानकारी दिए।

स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव ६६ करोड हुने बताइएको छ। गत बर्ष कूल ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम आएको थियो।

वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए। “शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन”, उनले भने, “बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।” 

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द, राजमार्ग अवरुद्ध

दाङ । बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ । २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ । दुवै बालिकासंग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।  

कर्णालीमा पहिलोपटक विषादी प्रयोगशाला स्थापना

सुर्खेत । कर्णालीमा पहिलोपटक तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी जाँच गर्ने प्रयोगशाला स्थापना भएको छ । सुर्खेतको वीरेन्द्रनगर–६, स्थित बुलबुले तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको सहयोगमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालाको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटन गर्दै मन्त्री शाहले विषादीरहित तरकारी उत्पादन तथा बिक्री वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको बताए । कर्णाली प्रदेश आफैँमा अर्ग्यानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएकोमा सचेत रहनुपर्ने शाहले बताए ।  प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अर्ग्यानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाइ थियो । सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशाला यसै वर्ष सञ्चालनमा आउने मन्त्री शाहको दावी छ, जसका लागि बजेटको व्यवस्थापन भइसकेको उनले बताए । यस्तै, प्रदेश सरकारले विषादी व्यवस्थापनसम्बन्धी कानुन बनाउने तयारी भइरहेको मन्त्री शाहले बताए । जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावर, जीव, पशुपक्षी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ, निर्माण कार्यमा हानि पुर्‍याउने, रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्रङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु हुन् । यस्ता विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा क्यान्सरजस्ता घातक रोगको जोखिम हुने केन्द्रीय कृषि प्रयोगशालाको प्रमुख महेशचन्द्र आचार्यले बताए । नेपालमा सरदर विषादीको खपत ३ सय ९६ ग्राम खास बिष प्रतिहेक्टर बालीअनुसार खपत हुने गरेको छ, जसमा तरकारीमा एक दशमलव ६० केजी खास विष प्रतिहेक्टरमा प्रयोग हुने आचार्यले बताए ।

कणालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए।  उनले यहाँका स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताए। ‘हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ। यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ’, अध्यक्ष कँडलेलले भने।  चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिए। नेपालसँग सिमाना जोडिएका भारतीय भागमा समेत कर्णालीकै स्याउले बजार पाएको उनले बताए।  वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताए।  दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए। मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उनले जानकारी दिए।

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

काठमाडौं । जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाको कनकासुन्दरी गाउँपालिका, हिमा, सिंजा, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भएका हुन्। साक्षर घोषणा गर्न तोकिएका सूचकहरू पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको नागरिक दैनिकमा खबर छ । कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरेका छन्। मन्त्री भण्डारीले शुक्रबार प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेरै कनकासुन्दरीलाई घोषणा गरेका गरे। उनले गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको बताए। यस्तै पातारासी गाउँपालिका कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले साक्षर पालिका घोषणा गर्नुभएको हो। उनले हिमा गाउँपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजा गाउँपालिकालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गरेका हुन्। तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन्। कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन रोकायाले कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर रहेको बताए। यता पातारासी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अविराज उपाध्यायले १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर भएको उपाध्यायले बताए। उनका अनुसार, एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन्। प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत हत (१–५) मा ३ हजार ४, आधारभुत हत (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए। यता चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए। उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए। उनीहरूलाई साक्षर बनाएसँगै नगरपालिका साक्षर घोषणायोग्य मानिएको हो। सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ। शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रूपमा संकलन गरिएको तथ्यांकले साक्षर गाउँपालिका घोषणायोग्य देखिएपछि गाउँपालिका नै साक्षर घोषणा गर्न संभव भएको बताए।हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले बताए। यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन्। हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरू साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउककबस्तीमै पुगेका थिए।   गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय  जनाले आइएड तह उत्तीर्ण गरेका छन्। उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन्। बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन्। जिल्लाका अन्य तीन स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्न वडास्तरमा कर्मचारीहरू परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन्। शिक्षक, अभिभावक, स्थानीय नागरिक र जनप्रतिनिधिहरूसँग घनिभूत छलफल गरिरहेको छन्। तातोपानी,गुठिचौर र तिला गाउँपालिका साक्षर गाउँपालिका घोषणा गर्न लागि परेका छन्।

लोकप्रिय