दार्चुलामा दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात
दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।
एनपीएलको उपाधि भिड्न्तमा सुदूरपश्चिम र जनकपुर
काठमाडौं । नेपाली खेलकुदकै सबैभन्दा चर्चित प्रतियोगिताको रुपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) आज समापन हुँदै छ । समापन खेल अथात् फाइनल आज हुँदै छ। उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । १२ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा रहेको छ भने जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको छ। सो खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।
दुर्गा प्रसाइलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।