आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालमा ल्याएर राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा २७ नम्बर गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । सो क्रममा बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि १३ परिवार बासबिहीन

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिए । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भनिन्, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उनले बिलौना गरिन् । घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन”, गङ्गाबहादुर विकले सुनाए । आगलागीले उनको पनि घर नष्ट भएको छ । उनले घरमा भएको केही पनि  बचाउन नसकिएको बताए । “ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरु सबै नष्ट भयो”, उनले भने । मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन् । आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए । बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्णरुपमा आगो निभेको छैन ।  प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन् । आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए । चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको छ ।  भीषण आगलागीले गाउँ नै सखाप भएको  छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन् । हिजो भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको  डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी जलेर नष्ट भएका हुन् । सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री प्रयाप्त नहुँदा आगोलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए । उनले सुरक्षाकर्मी संग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन् ।  जिल्लाका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ । अन्य पालिकाहरुमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्याङ्कर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ । 

सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना

नेपालगन्ज । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए ।   उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए ।  जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो ।  सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको थियो ।  यसैगरी, लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ ।  गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गरेका थिए । 

लोकप्रिय