थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित

मनवानपुर । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए ।

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए । 

जुम्लामा स्याउबाट भित्रियो ६१ करोड रुपैयाँ

काठमाडौं । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।  तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक,बस,जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैंचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए । बसबाट एक हजार ६ सय ६० मेट्रिकटन,जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको कृषि प्राविधिक लछिराम महतले जानकारी दिए । उनका अनुसार जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । प्राविधिक महतका अनुसार निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो । जुम्लामा रेड,रोयल,गोल्डेनसँगै उच्च घनत्वको स्याउ समेत उत्पादन भइरहेको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । स्याउ निर्यात हुने समयमा बर्खा लाग्ने भएकोले बजारसम्म लैजान कठिन हुने गरेको किसानहरूले दुःखेसो पोखेका छन् । जुम्लाको स्याउ सुर्खेत,नेपालगन्ज,कोहलपुर,बुटवल,चितवन र काठमाडौंको बजारमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले एक किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मको स्याउ बेचेको बताए । उनले भने,‘जुम्ली स्याउ स्वादिलो र पोषिलो हुने भएकोले सबैको रोजाइ बनिरहेको छ ।’ व्यापारीहरूले जुम्ली स्याउ तिज,दसैं र तिहारलाई केन्द्रमा राखेर बजारमा लैजाने गरेका छन् । कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै जुम्ली स्याउको निर्यात सहज बनेको हो । तर कच्ची सडक भएकोले गाडीमा हल्लिएर ५ प्रतिशत स्याउ कुहिने गरेका छन् । स्याउको बजारीकरणका लागि जिल्लामा बृहत् कोल्डस्टोर निर्माण गर्न किसानहरूले माग गरेका छन् । उनीहरूले बाहैं महिना स्याउ बेच्ने वातावरण बनाइदिन सरकारसँग पटक-पटक आग्रह समेत गरिरहेका छन् ।

आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन बिहीबार उद्घाटन भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको ३० करोड १० लाख सहयोगमा भवन निर्माण भएको हो । भारतीय राजदूतावाका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।  कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सहभागी थिए ।  क्याम्पस भवन आयोजना नेपाल र भारत सरकारबिच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । जिल्ला समन्वय समिति तनहुँमार्फत उक्त भवन निर्माण आयोजना कार्यान्वयन भएको थियो ।  आँबुखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त समुदायमा आधारित क्याम्पस हो । क्याम्पसले ब्याचलर अफ बिजनेस स्टडिज  र ब्याचलर अफ एजुकेसनमा स्नातक कक्षा सञ्चालन गर्दै आएको छ

हत्याको बिरोधमा प्रदर्शन, दोषीलाई एमालेले संरक्षण गरेको आरोप

विराटनगर  । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन । मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय  निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि कन्चटमा ढुंगा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यलय दमकले घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्यको खोजी भइरहेको जानकारी दिएको छ । मृतकका आफन्तले हत्यामा नाम जोडिएकामध्ये केही सत्तारूढ नेकपा एमालेका कार्यकर्ता र नेताहरूका नाताभित्रका परेकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन् । मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्यामा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेपछि विवाद चर्किएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरूको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्न सकिने प्रहरीले बताएपछि परिवारसहित स्थानीय थप आक्रोशित बनेका छन् । सीसी टीभी फुटेजबाट पहिचान भएको भनिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जी छन्  । यसैगरी, कोसी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाइ र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नामसमेत जाहेरीमा उल्लेख छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ नगरेको निरौलाकी पत्नी कृष्णमायाको दाबी छ ।

साम्पाङले कार्यवाहक मेयर दिएका वडाध्यक्ष जान छोडे उपमहानगर

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी दिएका वडाध्यक्ष लोकेन्द्र फागो उपमहानगर कार्यालय जान छोडेका छन् । उनी मंगलवारबाट कार्यालय जान छोडेका हुन् । कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिए पनि वडाध्यक्ष फागो अटेर गरेरै कार्यालय गइरहेका थिए । उच्च अदालतले पत्र नै बुझाएपछि भने उनी उपमहानगर कार्यालय जान छाडेका हुन् । धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईका अनुसार अदालतले पठाएको पत्र बुझेपछि उनी कार्यालय जान छाडेका छन् । आइतवार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयर साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । उच्च अदालतले छलफलका लागि मङ्गलवार दुवै पक्षलाई बोलाएको थियो । छलफलमा मेयर राईको तर्फबाट कोही पनि सहभागी भएका थिएनन् । अब यसको पेशी कात्तिक १३ गतेलाई तोकिएको छ । सो अवधिसम्मका लागि भने अन्तरिम आदेशलाई नै अदालतले निरन्तरता दिएको छ । यता वडाध्यक्ष फागोले भने अदालतको अन्तरिम आदेश आएपछि जनतालाई हँसाउनु हुँदैन भनेर उपमहानगर नगएको बताएका छन् । दुई साताका लागि बेलायत गएका मेयर साम्पाङले कार्यवाहकको जिम्मेवारी उपमेयर अइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको भन्दै उपप्रमुख बेघाले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए । कार्यवहाक दिएका फागो हर्कका नातामा मामा ससुरा समेत हुन् । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको भनेर मेयर साम्पाङको आलोचना भएको थियो । धरानका राजनीतिक दलहरूले पनि मेयरको विरोध गरेका थिए । अदालतको आदेशपछि पनि मेयर साम्पाङले भने अदालतले आफूलाई नचुनेको टिप्पणी गरेका थिए ।

लोकप्रिय