रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार


पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ ।

पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो ।


जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो एक रूपैयाँ दान अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्। एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो। सत्तारूढ दलले व्यवसायीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै आलोचना भइरहेका बेला अखिल क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो।

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ ।  नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनुभएको हो । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उहाँको भ्रमण ऐतिहासिक रहेको बताउनुभयो । सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै उहाँले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं । ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’  नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताउनुभयो ।  उहाँले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताउनुभयो।  आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेर नेपाली विशेषतासहितको क्रान्ति अघि बढाएको स्मरण गराउँदै उहाँले अब पनि नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले चिनियाँ स्वाधीनको सम्मान गर्दै नेपालले निरन्तर एक चीन नीतिलाई सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले पनि नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संवेदनशीलताका लागि धन्यवाद दिनुभयो ।  चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनुपर्ने बताउनुभयो । पहिलोपटक नेपाल भ्रमणमा आउनुभएका उहाँले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताउनुभयो ।  चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्व दिने बताउनुभयो । चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीका जुनसुकै नेताले पनि भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गर्ने गरेकाले चिनियाँ जनताको विश्वास बढ्दै गएको बताउनुभयो । भेटवार्तामा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य गंगा दाहालको सहभागिता रहेको थियो । चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपालस्थित राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो ।

लोकप्रिय