कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बोलाइएको छ।
अहिले केहीबेरमा बस्ने बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ। बोर्डले प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए। ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो।
देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन्। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।
यस्तै कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो। टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ।
एकीकृत समाजवादीले तोक्यो ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा पार्टीको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो । यस्तो छ इन्चार्ज र सहइन्चार्जको पूर्णसूचीः
बाजुरामा पाँच म्याग्नेच्युडको भूकम्प
बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्ने बारेमा यकिनु हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संविधानबाट दलित शब्द नहटाएसम्म भेदभावको अन्त्य हुँदैन : वामदेव गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न संविधान संशोधनमार्फत ऐन तथा कानूनहरुबाट दलित शब्द हटाउनुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले सो कुरा बताउनुभएको हो । उहाँले दलित समूदाय माथि विगत २० वर्षदेखि अन्याय भइरहेको उल्लेख गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो । बैठकमा बोल्ने अधिकांश सांसदहरुले दलित समुदायको अधिकार र विकाससम्बन्धी विधेयक छिटो ल्याउनुपर्ने माग राख्नुभएको छ । समितिले संसद्को आउँदो अधिवेशनमा विधेयक पेस गर्नेगरी गृहकार्यमा लाग्न सरकारलाई निर्देशन समेत दिएको छ ।
एनपिएल उपाधिका लागि सुदूरपश्चिम र जनकपुरको भिडन्त हुने
काठमाडौं। कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनका लागि सुदुरपश्चिमसँग भिड्ने भएको छ । बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्ससँगको भेट तय गरेको हो । सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो। उक्त अवसरलाई जनकपुरले सदुपयोगगरेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले अन्तिम ६ बल अगाडि नै आठ विकेट गुमाउँदै पूरा गरेको हो।