पार्टी बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव सभापतिले मानेन् : रास्वपा महामन्त्री

पार्टी बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव सभापतिले मानेन् : रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न आफुले गरेको प्रस्ताव सभापति लामिछानेले अस्वीकार गरेको बताएका छन्। 

महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको भए पनि सभापति लामिछानेले भने स्वीकृत/अस्वीकृत नगरेको महामन्त्री ढकालले जानकारी दिएका हुन् । 

महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।

पार्टी सभापतिले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको विषय सभापति निकट सहप्रवक्ता प्रतिभा रावलले सार्वजनिक गरेकी थिइन् । तर, महामन्त्री ढकालले भने आफूमाथि कुनै पनि स्पष्टीकरण नसोधिएको जानकारी दिएका छन्। 

रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी बुधबार केन्द्रीय समितिकोे बैठक बोलाएको छ ।

राष्ट्रपतिसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिरहेका छन् ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिनेबारे विश्वासको मत फिर्ता भएको अवस्थामा निर्णय गर्ने मंगलबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ।

विश्वासको मत कायमै छ, तत्काल केही निर्णय लिन परेन : माओवादी केन्द्र

काठमाडौं ।नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक सम्पन्न भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चापछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटरमा पदाधिकारी बैठक बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सरकारलाई दिएको विश्वासको मत कायम रहेकाले तत्काललाई केही निर्णय नगर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई विश्वासको मत दिएका पार्टीले विश्वासको मत फिर्ता नलिएको अवस्थामा केही निर्णय गर्न नपर्ने राय पदाधिकारीले राखेका छन्  । सरकारप्रति विश्वासको मत रहेका कारण माओवादी तत्काललाई केही निर्णय नगरेको ती नेताले बताए । यद्यपी संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चा चलेसँगै सरकारमा सहभागी अन्य दलसँग नयाँ परिस्थितिमा एकमत कायम गर्न  माओवादी केन्द्र र प्रधानमन्त्रीले छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे। पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पूरक परीक्षा असार २३ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।

लोकप्रिय