प्रधानमन्त्री ओलीले वाचन गरे काँग्रेस-एमालेबीचको सहमति, यस्ता छन् ७ बुँदा
हस्ताक्षर गरेको सहमति पत्र भने अहिलेसम्म सार्वजनिक गरिएको छैन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग भएको सात बुँदे सहमति वाचन गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेससँग भएको सहमतिबारे जानकारी गराएका हुन्।
राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताए।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावना अनुरूप प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषय समेटिएको बताए ।उनले सबै कुरा बाहिर आइरहेकाले लुकाउनुपर्ने कुरा केही नभएको बताए।यद्यपी उनीहरुले हस्ताक्षर गरेको सहमति पत्र भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
यस्ता छन् सहमतिका बुँदा
१.आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।
२.राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।
३.अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने।
४.राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने।
५.राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।
६.राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने।
७.राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीब्रता दिने।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।