नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो। 

भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए। फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए।

संघमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई नै समर्थन यथावत् राखेको छ। अल्पमतको प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन्।

केही दिनअघि रञ्जिताको निर्देशनविपरीत नाउपा सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो। 

नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए।

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।

लोकप्रिय